मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १३:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवामा थारू क्लस्टर माग गरिएका मुद्दा न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १३:२१:oo

सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापनमा थारू समुदायलाई आरक्षण माग गरिएको रिटमा सुनुवाइ तोकेको छ। बागमती प्रदेशको लोकसेवाले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएकोलगायतका विषयमा प्रेमीलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकिएको हो।

रिटमा प्रदेश लोकसेवा आयोगले गत ४ माघमा र १० माघमा गरेको विभिन्न पदको विज्ञापनको सूचना निकाल्दा आरक्षण कोटामा थारू समुदायलाई सिट नछुट्याएको उल्लेख गरिएको छ। आयोगले विज्ञापनमा समावेशी समूहतर्फ थारू क्लस्टरलाई छुटाउँदा संविधानप्रदत्त रोजगारको हक अवरुद्ध हुन पुगेको र विज्ञापन गैरसंवैधानिक भएको रिटमा जिकिर गरिएको छ।

फागुन १६ मा दायर भएको रिटमा विज्ञापन बदर गरी थारू क्लस्टरलाई समेटेर नयाँ विज्ञापन आह्वानको माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, लोकसेवा आयोग बागमती प्रदेशलगायतलाई विपक्षी बनाइएको छ।

निजामती सेवासँगै सुरक्षा निकाय र संगठित संस्थामा थारू समुदायलाई छुट्टै समावेशी कोटा कायम गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा धमाधम मुद्दा परेपछि लोकसेवाका दुई हजार आठ सय ९१ पदका परीक्षा अनिश्चित बनेका छन्। यी पदमा दरखास्त दिएका तीन लाख ६८ हजार परीक्षार्थी अन्योलमा परेका छन्।