चारजना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। 'नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्यांकन गरिरहेको छ,' अमेरिकी मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन्।
यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो। 'अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ,' प्रवक्ताले भने। अमेरिकी मरिन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको बताएका छन्। रासस/एएनआई