मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ चैत ३ बिहीबार o९:o४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रोक्का रहेको ज्वाला सिंहको जग्गा सुटुक्क बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार o९:o४:oo

राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) ले आफ्नो नामको जग्गा बिक्री गरेका छन् । जिल्लाको मुख्य प्रशासनिक केन्द्रमा रहेको मालपोत कार्यालयमा आएर उनी जग्गा बेचेर फर्किएको तीन वर्षपछि खुलेको छ । सिरहा नगरपालिका–७ ठेगाना भएका सिंहले आफ्नो नाममा रहेको पाँच कित्तामध्ये दुई कित्ता जग्गा सुटुक्क बेचेर रजिस्ट्रेसन पास गरिदिएको खुलेको छ ।

पासवानले १४ जेठ ०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका–६) को तीनकट्ठा आठ धुर जग्गा र ८ भदौ ०७५ मा कित्ता नं. १२५२ को चार कट्ठा तीन धुर जग्गा २०/२० लाख थैली राखेर ४० लाख रुपैयाँमा रामनगर–६ का राजेश्वरप्रसाद साहलाई बिक्री गरेको मालपोतको स्रेस्तामा उल्लेख छ ।

भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख उपसचिव विष्णुप्रसाद सिटौलाले आफू अन्यत्र कार्यालय प्रमुख रहेका वेला सिरहा मालपोतबाट भएको रजिस्ट्रेसनबारे थाहा नभएको बताए । मालपोत कार्यालयका सूचना अधिकारी तथा नायव सुब्बा सुधीरकुमार यादवले पासवानले बेचेको जग्गा रोक्का रहे–नरहेको बारेमा थाहा नभएको उल्लेख गरे । उनले पासवान प्रहरीले खोजी गरिरहेका व्यक्ति हुन् भन्ने पनि आफूलाई थाहा नभएको दाबी गरे ।

‘जग्गाधनी दर्ता प्रमाणपुर्जा, सक्कल नागरिकता, जग्गा बिक्री भएको सालको तिरो तिरेको रसिद, घरबाटो प्रमाणित सिफारिस, बेच्ने र किन्ने दुवैको सहीछापसहित भौतिक उपस्थितिमा जग्गा रजिस्ट्रेसन हुन्छ,’ यादवले भने, ‘सयौँजनाको भिडमा काम गर्नुपर्ने भएकाले पासवान को हुन् चिन्ने कुरा भएन ।’ प्रहरीले सर्वाधिक खोजी गरिरहेका व्यक्तिको नाममा रहेको जग्गा रजिस्ट्रेसनसम्बन्धी स्रेस्तामा पासवानले भूमिगत रूपले आएर सहीछाप गरेको वा बिचौलिया र मालपोतका कर्मचारीको सेटिङमा कागजात बाहिर लगी सहीछाप गराई फिर्ता ल्याएको हुन सक्ने आशंका गरिएको छ ।

अनुसन्धान गर्दै प्रहरी
पासवानले १४ जेठ ०७६ र ८ भदौ ०७५ मा दुईवटा कित्ता नम्बरको जग्गा बिक्री गरेको खुलेपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले भूमिगत रहेका व्यक्तिको रोक्का रहेको जग्गा बिक्री भएको सूचना पाएपछि अनुसन्धान गरिरहेको बताए ।

‘प्रहरीले भूमिगत रहेर आपराधिक गतिविधिमा संलग्न पासवानको नाममा रहेको घरजग्गा रोक्का राख्न पहिले नै पत्राचार गरेको हो, कसरी जग्गा रजिस्ट्रेसन भयो, अनुसन्धान गर्दैछौं,’ बुढाथोकीले भने, ‘दुई कित्ता जग्गा बिक्री गरेको र अझै उनको नाममा विभिन्न क्षेत्रफलको तीन कित्ता जमिन रहेको बुझिएको छ । पहिले नै पत्राचार गरी रोक्का गर्न पत्र काटिएको हो, पुनः रोक्का गर्न पत्र काट्दै छौँ ।’ 

कुनै पनि फौजदारी मुद्दा दर्ता भएपछि प्रतिवादीको जग्गा जमिन तथा बैंक खाता तथा सम्पत्ति रोक्का गर्न प्रहरीले मालपोत कार्यालय र राष्ट्र बैंकलाई पत्राचार गर्ने र पासवानको हकमा पनि त्यही गरिएको उनले बताए । ‘पत्राचार गर्दा पनि किन रोक्का भएन ? कसरी, कसले जग्गा बिक्री गरे ? को–को संलग्न छन् भन्ने पनि खोज्दैछौँ,’ उनले भने । 

को हुन् पासवान ?
जयकृष्ण गोइतले तत्काली माआवादी पार्टीमा तराईको बारेमा बिमती राख्दै ०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि पासवान गोइतसँगै सो पार्टीमा लागेका थिए । त्यसको दुई वर्षपछि ०६३ मा पासवानले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) गठन गरी सशस्त्र गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहारमा बस्दै आएको बताइन्छ ।