१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सवारी लाइसेन्स परीक्षामा भाडाका परीक्षार्थीमार्फत सेटिङ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o४:oo

पक्राउ परेकालाई कारबाही नगरी छाडियो 

सवारीचालक अनुमतिपत्र (लाइन्सेस)को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा सेटिङ हुने गरेको खुलेको छ । एउटै व्यक्तिले सयौँ व्यक्तिको परीक्षासमेत दिने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय, ठूलो भर्‍याङले आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले झन्डै एक सय व्यक्तिको परीक्षा दिइसकेको बताए । तर, ती व्यक्तिलाई कारबाही नगरी छाडिएको छ ।  

यातायात कार्यालयले नक्कली र सक्कली परीक्षार्थी दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाएको थियो । थानकोटले घटनाको अनुसन्धान नै नगरी आइतबार बेलुका नै दुवैजनालाई छाडिदिएको हो । कारबाहीका लागि यातायात कार्यालयबाट पत्र नआउँदा छाड्नुपरेको थानकोट वृत्तका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । ‘हामीले पत्राचार गर्न यातायात कार्यालयलाई भनेका थियौँ,’ उनले भने, ‘तर, उताबाट पत्र आउँछ मात्र भन्नुभयो, तर पत्र नआएपछि मुद्दा चलाउने आधार नभएकाले छाडिएको हो ।’ 

यातायात व्यवस्था कार्यालय, ठूलो भ¥याङका प्रमुख सञ्जय थापाले नक्कली परीक्षार्थीलाई त्यसरी विनाकारबाही छाड्नु गलत भएको बताए । ‘विगतमा यसरी नक्कली परीक्षार्थी पक्राउ पर्दा पत्र लेख्न भनेर प्रहरीले खबर गर्थे,’ उनले भने, ‘तर, यसपटक प्रहरीबाट खबर नै आएन, यदि त्यत्तिकै छाडेको हो भने त्यो गलत भयो, यसले यस्ता गतिविधि गर्नेलाई प्रोत्साहन हुन्छ ।’ यातायात र प्रहरीबीच समन्वय नहुँदा यस्तो धन्दामा संलग्न गिरोह जोगिएको छ । 

ट्रायलको क्रममा नागरिकताको फोटो शंकास्पद लागेर सोध्दा ती व्यक्ति नक्कली भएको थाहा भएको थियो । ट्राफिक प्रहरी स्रोतका अनुसार परीक्षा दिने व्यक्ति मंगोलियन थिए । तर, परीक्षा दिने व्यक्ति र नागरिकताको फोटो नमिलेपछि शंका लागेर सोध्दा अवैध धन्दा खुलेको हो । पक्राउ परेका नक्कली परीक्षार्थी सरकारी कर्मचारी नै भएको बताइएको छ । पक्राउ परेका व्यक्तिले एउटा ट्रायल दिएबापत पाँच हजार लिने गरेको सोधपुछमा खुलेको थियो । 

यसरी नक्कली परीक्षार्थीमार्फत हुने सेटिङमा यातायात कर्मचारी र ट्राफिकको समेत मिलेमतोको आशंका गरिएको छ । यातायातमा वास्तविक परीक्षार्थी हो कि होइन भनेर ‘क्रसचेक’ गर्ने प्रणाली नै छैन । जब कि परीक्षार्थीको सुरुमै यातायातले बायोमेट्रिक लिइसकेको हुन्छ । लिखित तथा ट्रायल परीक्षामा त्यही बायोमेट्रिकबाट हाजिरी गराउन सकिए पनि यस्तो विकृति सहजै रोक्न सक्ने भए पनि यातायात कार्यालयले यसतर्फ ध्यान दिन सकेको छैन ।

जसकारण सवारी चलाउनै नजान्नेले अन्य व्यक्तिलाई परीक्षा दिन लगाएर सहजै लाइसेन्स बनाउने प्रवृत्ति देखिएको छ । विगतमा पनि पटक–पटक नक्कली परीक्षार्थी पक्राउ परे पनि त्यस्तो गिरोहमाथि भने अनुसन्धान हुने गरेको छैन । हाल मोटरसाइकलको लाइसेन्सको परीक्षा दिन दुई वर्ष कुनुपर्ने अवस्था छ । अत्यधिक आवेदन आएको भन्दै मंगलबारदेखि आवेदन नै बन्द गरिएको छ । 

ad
ad