१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Wednesday, 02 July, 2025
फाइल फाेटाे ।
२o७८ फाल्गुण ३० सोमबार १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँ : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार १३:४१:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरूले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। निर्वाचनका समयमा दलहरूले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताएका हुन्।

निर्वाचनको समयमा मात्रै दलहरू सक्रिय हुने गरेको भन्दै उनले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचनकेन्द्रित कार्यक्रम आवश्यक नरहेको बताए। ‘विकास गरौँ, जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन्।’

बाग्लुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिए। ‘आज जितेको दलले राम्रो काम गरे भोलि पनि चुनाव जित्छ भनेर खुट्टा तान्ने प्रवृत्ति छ,’ उनले भने, ‘यो गलत प्रवृत्तिका विरुद्धमा लागौँ, नराम्रोमध्येको राम्रो दल छान्ने होइन, राम्रोमध्येको राम्रो दल छान्ने वातावरण बनाऔँ ।’

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताए। ‘कोरोनाले हाम्रो स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न ठूलो सहयोग गर्‍याे, आवश्यकताको पहिचान भयो, अहिले यो क्षेत्र सुध्रिएको छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकको तलबमानमा समस्या छ, सहर र गाउँ छुट्याएर काम गर्नेलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ।’ उनले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्न सके अस्पतालको खाँचो नहुने धारणा राखे। रासस