रुरुक्षेत्र गाउँपालिका–५ बम्घा टाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनीमा आलु लगाएकी छिन्। उनको बारी र खेतमा गरेर २० क्विन्टल आलु फल्छ। खेतमा धान, मकै र आलुसंगै दुईपटक सिमी, काउली पनि उनले राम्रोसँग उत्पादन गर्दै आएकी छिन्।
फागुन र चैतभर टाटिमका किसानहरू आलु खन्न व्यस्त हुन्छन्। आलु राम्रो उत्पादन हुन्छ र बजारको पनि खासै समस्या छैन। तर, आलुको उत्पादनले मूल्य नपाउँदा किसानहरू चिन्तित छन्। किसानको सबै उत्पादन रुरुक्षेत्र–४ बलेटक्सारस्थित पैँचो पसलले प्रतिकिलो २८ रुपैयाँमा खरिद गर्ने गरेको छ। त्यसबाहेक आलु आक्कल–झुक्कल बुटवल पुग्छ।
‘आलु २८ रुपैयाँमा खरिद गरेर आफ्नै आँखाअगाडि नै ४० देखि ४५ रुपैयाँमा पैँचोले उपभोक्तालाई बिक्री गर्छ। बिउ, मलमा अनुदान नपाए आलुबाट केही फाइदा छैन,’ राधिका गिरीले भनिन्, ‘आखिर मर्ने किसान हो।’ पैँचोले सकेसम्म छिटो उत्पादनको पैसा दिँदैन। अहिले सामान पनि दिइरहेको छैन। बाहिरको व्यापारी आए पैँचोले अरू उत्पादनसमेत खरिद गर्दैन। जसका कारण किसानको उत्पादनले प्रतिस्पर्धी मूल्य पाउन सकेको छैन।
सोही गाउँका मेघराज गिरीले १० रोपनीमा आलु रोपेका छन्। गत वर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे। अहिले पनि ४५/४६ क्विन्टल आलु हुने अनुमान गिरीको छ। उनले आफ्नै पसल, पैँचो र बुटवलसम्म आलु बिक्री गर्ने गरेका छन्।
बम्घामा ८९ मेट्रिकटन आलु उत्पादन
स्मार्ट कृषि गाउँ कार्यक्रममा बम्घाका ६० घर परिवार समूहमा आबद्ध छन्। सबै घरपरिवारले आलु उत्पादन गर्छन्। गत वर्ष ८९ मेट्रिकटन आलु उत्पादन भएको थियो। अहिले पनि सोही हाराहारीमा आलु उत्पादन हुने अनुमान छ। लुम्बिनी प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र गुल्मीले स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन गरिरहेको छ। यो कार्यक्रम दुई वर्षदेखि बम्घामा कार्यान्वयन भएको स्मार्ट गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए।
कार्यक्रमअन्तर्गत समूह बनाउने, बाली छनाेट, दर्ता र सम्झौता गरिन्छ। बिउ, मल, विषादी, मेसिन, सिँचाइ र संकलन केन्द्रमा समूहले अनुदान पाउने श्रेष्ठले बताए। बम्घा टाटिमका नागरिकले पुर्खादेखि आलुखेती गर्दै आएका छन्। स्मार्ट कृषि कार्यक्रमले आलु उत्पादनमा उत्साह भरे पनि मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका छन्।
१२ वटै स्थानीय तहमा स्मार्ट कृषि
लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रमार्फत १२ वटै स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन गरिरहेका छन्। कृषि ज्ञान केन्द्रले जिल्लाको चन्द्रकोट र धुर्कोट गाउँपालिकामा बाख्रा तथा तरकारीको क्षेत्रमा काम गरेको छ। त्यस्तै रुरु क्षेत्र गाउँपालिकामा आलु र तरकारी, छत्रकोटमा तरकारी, मुसिकोट नगरपालिकामा माहुरी तथा गुल्मी दरबार गाउँपालिकामा खाद्यान्न बालीलाई प्राथमिकता दिएर काम गरिरहेको केन्द्रका वरिष्ठ कृषि विकास अधिकारी नवराज भण्डारीले जानकारी दिए।
त्यस्तै भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र गुल्मीले मदानेमा गाईभैँसी, मालिकामा बाख्रा, कालिगण्डकीमा बाख्रा, रेसुंगामा कुखुरा र बाख्रा, इस्मामा माछा र बाख्रा तथा सत्यवतीमा बाख्राको क्षेत्रमा काम गरिरहेको भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए।