वन तथा वातावरणमन्त्री रामसहाय यादवले धनुषाधाममा रहेको वनस्पति उद्यानलाई जडीबुटीको अध्ययनको केन्द्रको रूपमा विस्तार गर्ने बताएका छन् । शुक्रबार धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रूपमा विकास गरिने बताए ।
धनुषाधाममा प्राणी उद्यानको प्रबल सम्भावना रहेकोले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए । वनस्पति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेस प्रदेशको आर्थिकका साथसाथै पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने बताए ।
अहिले रहेको वनस्पति अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्दै अध्यक्षमा वनस्पतिसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रूपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको मन्त्री यादवले बताए । वनस्पति उद्यान केन्द्रमा लोपाेन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिमा वनस्पति, विरुवाहरूलाई संरक्षण गर्दै आएको छ, मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेका खण्डमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छन् ।’ वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रूपमा विकास गर्न सकिने मन्त्री यादवले बताए ।
वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वनस्पति केन्द्रको अवस्थाकाबारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए । जग्गा प्रर्याप्त भए पनि बजेटको अभावमा वनस्पतिले लक्ष्यअनुसारको काम गर्न सकेको निमित्त प्रमुख हुसेनको भनाइ थियो ।