मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा एमाले नेता तथा संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई प्रहरीले राज्यशक्तिको आडमा उन्मुक्ति दिएको छ । उनलाई जोगाएर बाँकी १० जना सञ्चालकविरुद्ध मात्रै पक्राउ पुर्जी जारी गरेको छ । जब कि अञ्जला ६ वर्ष सहकारीको सञ्चालक सदस्य थिइन् । त्यस अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् । सहकारीले बुटवलस्थित आरएसडिसी लघुवित्तीय संस्था लिमिटेडबाट सर्वसाधारणका नाममा ऋण लिन गरेको तीनवटै बैठकमा पनि उनको प्रत्यक्ष सहभागिता थियो ।
धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित यो सहकारीको ठगीविरुद्ध पीडितहरूको लामो संघर्षपछि प्रहरीले सञ्चालकहरूका नाममा बुधबार पक्राउ पुर्जी जारी गरेको हो । तर, निर्णायक भूमिकामै रहेकी पोखरेलपत्नी अञ्जलालाई भने उन्मुक्ति दिइएको छ । सहकारीका अध्यक्षसहितका अन्य पदाधिकारीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ । शुक्रबारसम्म कोही पनि पक्राउ नपरेको प्रहरीको भनाइ छ ।
लेखा समिति सभापति पोखरेलकै अग्रसरतामा ०६८ मा स्थापना गरिएको यो सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार हुन् । उनी पनि एमालेनिकट मानिन्छन् । १८ करोड ५१ लाख कुल पुँजी रहेकोे सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेरसमेत विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख ऋण निकालिएको छ । सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे गराइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ ।
जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएकामा सहकारीका अध्यक्ष धनपालथान– ४ का रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका– २ का लक्ष्मण साह, सचिव धनपालथान– ४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान– ४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा गाउँपालिका– ४ का आमोद मण्डल, धनपालथान– ४ का रोशन राजवंशी तथा धनपालथान– २ का जितमान ठाकुर छन् । त्यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पीडितहरूले पोखरेलपत्नी अञ्जलाको नामसमेत किटेर सञ्चालकहरूविरुद्ध डेढ वर्षअघि नै प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । लामो समय कुनै सुनवाइ नै भएन । पीडितहरूको दबाब बढ्दै गएपछि र घटना बाहिरिएपछि गत २४ भदौमा रजिस्ट्रार कार्यालयले फाइल अघि बढायो, तर राजनीतिक शक्तिको दबाबमा अञ्जलाको नाम काटेर मात्रै इलाका प्रहरी कार्यालय रंगेलीलाई अनुसन्धान प्रक्रिया अघि बढाउन सिफारिस गर्यो ।
यसैलाई आधार बनाएर प्रहरीले पनि अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी नगरिएको बताएको छ । ‘कोशी प्रदेश रजिस्ट्रारको कार्यालयले पठाएको प्रतिवेदनपत्रका आधारमा उमागौरी सहकारीका १० जना सञ्चालक, सदस्यविरुद्ध २१ कात्तिकमा इलाका प्रहरी कार्यालय रंगेलीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । घटनाको गहन अनुसन्धान भइरहेको छ । अनुसन्धानमै भएकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन,’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमोरियाले भने, ‘पक्राउ पुर्जी लिएकाहरू पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अरूलाई पक्राउ गर्नुपर्ने भए पक्राउ गरिन्छ । फरार भएकाले अहिलेसम्म भने कोही पनि पक्राउ परेका छैनन् ।’
तर, सहकारीमा रकम हिनामिना हुँदाको बखत ०७२ देखि ०७८ सम्म अञ्जला सञ्चालक सदस्य थिइन् । जुन, सहकारीका कागजातबाट पनि देखिन्छ । यद्यपि, ०६८ देखि ०७८ सम्म ऋण लिए/दिएका सहकारीका कागजपत्र सबै गायब पारिएका छन् । योजनाबद्ध रूपमै यस्तो गरिएको स्रोतको दाबी छ । सहकारीले विभिन्न बैंकबाट लिएको ऋण समयमा नतिरेकाले अध्यक्ष रौनियार र अञ्जलासहितका तत्कालीन सञ्चालक समिति सदस्यहरूलाई बैंकले कालोसूचीमै राखेको छ ।
पोखरेलपत्नी अञ्जलाले ०७५ मा जारी भएको सहकारी नियमावलीले सञ्चालक बस्न निषेध गरेपछि आफूले राजीनामा दिएको दाबी गरेकी छिन् । उनी विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् ।
प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख हरिकुमार खत्रीले सहकारीको रकम हिनामिनाको अनुसन्धानमा अहिलेको समितिबाहेक अरू पनि तानिन सक्ने दाबी गरे । ‘को संलग्न छ, को छैन भन्ने कुरा प्रहरीको अनुसन्धानले देखाउने हो । हामीले अहिलेसम्म २२/२३ वटा सहकारीका समिति सदस्यहरूको नाम पठाएका छौँ । छानबिन गर्दै जाँदा को–को संलग्न छन् भन्नेचाहिँ प्रहरीको अनुसन्धानबाट आउँछ,’ उनले भने, ‘अहिले माछापुच्छ्रे सहकारीको पनि मुद्दा चल्दै छ । त्यसमा पनि हामीले अहिलेको समितिका नौजनाको नाम पठाएका हौँ । तर, एक सयभन्दा बढीको संलग्नता अनुसन्धानले देखाएको छ । तसर्थ हामीले कतिजनाको पठायौँ भन्नेले अर्थ राख्दैन । हिसाब छानबिन गर्दा को–को संलग्न छन् भन्ने देखिन्छ । हामीले पठाएको रिपोर्टले अनुसन्धान पूरा हुँदैन ।’ सहकारीका कागजात नै गायब पारिएकाले कति हिनामिना भएको छ र को–को हिनामिनामा छन् भन्ने नदेखिएको खत्रीको भनाइ छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले सहकारीका १० जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी आएको, तर पक्राउ पर्न बाँकी रहेको बताए । ‘पक्राउ नपरेका कारण हामीले औपचारिक रूपमा नाम सार्वजनिक गरेका छैनौँ,’ उनले भने, ‘कसको नाममा पक्राउ पुर्जी छ–छैन हामीले भन्न मिल्दैन ।’
महिला उद्यमका नाममा यसरी पासोमा पारिन्थ्यो सर्वसाधारण महिलालाई
उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र एमाले नेता ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासहितका सञ्चालकहरू स्थानीयलाई विनाधितो १० लाखसम्म महिला उद्यम ऋण दिने भन्दै सेयर सदस्य बनाउँथे । र, सदस्यका नाममा बैंकबाट १० लाखका दरले ऋण लिएर आधा वा त्यसभन्दा कम मात्रै उपलब्ध गराएर बाँकी अन्यत्रै लगानी/खर्च गर्थे । कतिपय ऋणीलाई त बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चेसमेत गराइएको थियो ।
सञ्चालकहरूले ठगी गरेपछि कतिपयले आफ्नो व्यवसायबाट गाँस काटेर बचत गरेको रकम पाएका छैनन् भने केहीले किस्ताबापत तिरेको रकम पनि गुमाउँदै लिँदै नलिएको बैंकको १० लाखको ऋणी बन्नुपरेको छ । सहकारीका कोषाध्यक्ष शम्भुप्रसाद सिंहले ०७७ अन्तिमदेखि ०७९ सम्म महिला उद्यम शीर्षकमा ८५ जनाको नाममा १० लाखका दरले कर्जा निकासा भएको दाबी गरेका थिए । सर्वसाधारणका नाममा १० लाखका दरले ऋण निकाले पनि उनीहरूलाई पूरै रकम भने दिइएको थिएन । कसैलाई पाँच लाख, कसैलाई चार लाख मात्रै दिइएको थियो । बाँकी रकम सहकारीका पदाधिकारीले घरजग्गा र अन्य व्यक्तिका नाममा लगानी गरेका थिए ।
सर्वसाधारणका नाममा लघुवित्तबाट ऋण लिँदा तीनपटक मुख्य निर्णयकर्ता नै थिइन् अञ्जला
प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय र प्रहरीले एमाले नेता ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालाको नाम काटे पनि सहकारीले वित्तीय संस्थाबाट ऋण लिँदा उनी तीनपटकसम्म निर्णयकर्ता थिइन् । ०६८ मा स्थापना भएको उमागौरी कृषि सहकारीको उनी दुई कार्यकाल सञ्चालक समिति सदस्य थिइन् । ५ माघ ०७८ मा मात्रै उनले सहकारीबाट राजीनामा दिएकी थिइन् । बुटवलस्थित आरएसडिसी लघुवित्तीय संस्था लिमिटेडबाट सहकारीले ऋण लिनका लागि गरेको तीनवटै बैठकमा उनको प्रत्यक्ष सहभागिता थियो । उनीसहित सहकारीका सञ्चालकले लघुवित्तबाट ऋण लिन सञ्चालक समितिको बैठक नै गरेका छन् । जसको तीनवटै बैठकमा कोइरालाको हस्ताक्षर रहेको आरएसडिसी लघुवित्तीय संस्था लिमिटेडले अदालतमै बयान दिएको छ ।
लघुवित्तमा दुई करोड ऋण माग्न सहकारीले २३ असोज ०७७ मा राखेको सञ्चालक समितिको बैठकमा सञ्चालकको हैसियतले अञ्जलाले हस्ताक्षर गरेकी छिन् । उक्त दुई करोड ऋण २८ असोजमा सहकारीले लिएको आरएसडिसीले जनाएको छ । त्यस्तै, सञ्चालक समितिले २९ पुस ०७७ मा सोही लघुवित्तबाट ऋण लिनका लागि गरेको बैठकमा पनि सञ्चालक समिति सदस्यकै हैसियतमा उनले हस्ताक्षर गरेकी छिन् । बैठकले तीन करोड ऋण माग्ने निर्णय गरे पनि लघुवित्तले ११ फागुन ०७७ मा दुई करोड मात्र ऋण दिएको जनाएको छ । त्यस्तै, लघुवित्तसँग १६ असार ०७८ मा ७५ लाख रुपैयाँ ऋण माग गर्ने निर्णय सहकारीले गरेको थियो । त्यसमा पनि अञ्जलाले सदस्यको हैसियतले निर्णयमा हस्ताक्षर गरेकी छिन् । उक्त ऋण २४ असार ०७८ मा प्रवाह भएको लघुवित्तले जनाएको छ । समयमा ऋण नतिरेपछि अञ्जलासहितका सञ्चालकलाई बैंकले कालोसूचीमा राखेको छ ।
सूर्यदर्शन सहकारीपीडित संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठ भन्छन्–जिबी राईलाई कांग्रेस–एमालेले नै संरक्षण गरेजस्तो देखिन्छ
सहकारी ठगी गरेर फरार रहेका जिबी राईलाई सत्तारूढ कांग्रेस–एमालेले नै संरक्षण गरिरहेको हुन सक्ने आशंका पीडितहरूले गरेका छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले गठन गरेको सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकारले चाहेको खण्डमा एक दिनमै जिबीलाई नेपाल ल्याउन सक्ने जिकिर गर्योे । ‘सरकारले चाहने हो भने पैसा फिर्ता मात्रै होइन, जिबी राईलाई भोलि नै नेपाल ल्याउन सक्छ जस्तो लाग्छ,’ संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले भने, ‘राज्यले चाहने हो भने नसक्ने भन्ने विषय हो जस्तो लाग्दैन । जिबी राईकै सम्पत्तिबाट बचत फिर्ता दिने भए किन ढिलाइ गर्ने ?’
१५ करोड अपचलनमा मुछिएका धनराजलाई उन्मुक्ति, पूर्वपत्नीविरुद्ध इन्टरपोलको रेड नोटिस
ललितपुरस्थित मितेरी सहकारीको १४ करोड ८५ लाख अपचलनमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि सरकारले अनुसन्धान नै गरेको छैन । तर, उनकी पूर्वपत्नी ज्योति गुरुङ र ठगीमा सघाउने ज्योतिबहादुर भण्डारीविरुद्ध भने रेड नोटिस जारी गरिएको छ । अनुसन्धानका क्रममा दुवैजना विदेशमा रहेको खुलेपछि पक्राउ गरी नेपाल ल्याउन रेड नोटिस जारी गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । ज्योतिसँग धनराजले कागजी सम्बन्धविच्छेद गरेको सार्वजनिक भएको थियो ।