गुल्मीका पदम खत्री १० वर्षदेखि बेपत्ता

श्रीमती भन्छिन्- यादहरुले पिरोली रहेकाे छ, जीवनभर आशा मात्र रहिरह्यो

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण
गुल्मीका पदम खत्री १० वर्षदेखि बेपत्ता

बिगत १० वर्षदेखि बेपत्ता भएका पदम बहादुर खत्री (बायाँ), श्रीमानको पर्खाइमा बसेकी उनकी श्रीमती श्याम कुमारी र साथमा सानो छोरा

सानाे छोरा सुजन ६ बर्षकाे हुँदा बाबु पदम बेपत्ता भएका हुन् । उनी अहिले १६ बर्षका भए । अर्को जेठाे छोरा सुशिल खत्री र छोरी सुशिलाको बिहे पनि भइसक्यो । पदमले आफ्ना सन्तान र परिवारको खुसीको लागि जीवनको उर्जा र उमेर परदेशमा बिताए । तर, परिवारमा खुसी देख्ने बेलामा अहिले उनी बेपत्ता छन् ।

कान्छो छोरा सुजनले बुबाको अनुहारको अनुमान मात्रै गर्छन् । तर, धेरै माया र स्पर्शको अनुभूति नै गर्न पाएनन् । ‘मेलापर्व र अप्ठ्यारो अवस्थामा बाबाको सम्झना धेरै आउँछ । मैले अनुहारको मात्रै याद गर्छु,' उनले भने, ‘बाबाकाे प्रतिक्षामै एक दशक बिते ।’

मुसिकोट नगरपालिका–८ वामी मैदानका पदम बहादुर खत्री ०७१ सालदेखि बेपत्ता छन् । पुसको १६ गते बिहान परदेश हिंडेका खत्री अहिलेसम्म घर फर्किएका छैनन् । उनलाई घर र परिवारले कुरिरहेका छन् ।

श्रीमती श्याम कुमारी खत्रीका अनुसार श्रीमान् पदमले घर छोड्नुपर्ने कुनै कारण थिएन । घर छोडेका तीन दिनपछि तनहुँ पुगेको खबरसम्म परिवारलाई आयो । तर, पदम तनहुँबाट कता पुगे कसैले देखे जानेनन् । सबै ठाउँ र आफन्तकोमा खोजी गरेपनि पत्ता नलागेको श्याम कुमारीले बताइन् ।

आफ्नो श्रीमान् वेपत्ता हुँदा श्रीमती श्याम कुमारीलाई यादहरुले पिरोलि रहेकाे छ । उनी भन्छिन्, 'घरको मुली मान्छे हुनुहुन्न । ठुलो छोरा र छोरीको विवाह पनि भइसक्यो । ६ बर्षको सानो छोरा १६ मा लाग्योे । छोराछोरीले बिहे गरिसके तर, श्रीमान अझै फर्किनु भएन । जीवनभर आशा मात्र रहिरह्यो ।’

परिवारका अनुसार पदमले भारतमा मजदुरी गर्थे । उनी एकपटक हल्याण्ड र जापान पनि गएका थिए । तर, उमेर छिप्पिदै गएपछि उनी स्वदेशमै उद्यमको खोजीमा थिए ।

See More On

सुझावित समाचार