१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २६ बिहीबार o६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुन, चाँदी र डलर हालसम्मकै महँगो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार o६:२९:oo

युक्रेन र रसियाबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुन, चाँदी र अमेरिकी डलर महँगिँदै गएको छ । नेपाली बजारमा यी वस्तुको मूल्यमा ऐतिहासिक रेकर्ड बनेको छ । बुधबार एकै दिन सुन (छापावाल)को मूल्य प्रतितोला दुई हजार पाँच सयको दरमा वृद्धि भएर तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको छ । यसअघि २३ साउन ०७७ मा कायम सुनको हालसम्मकै उच्च मूल्य एक लाख तीन हजार पाँच सयको रेकर्ड तोडिएको हो । चाँदीको मूल्य पनि पहिलोपटक प्रतितोला एक हजार चार सय ५० रुपैयाँ पुगेको छ । यसअघिको उच्च मूल्य २७ साउन ०७७ मा कायम १ हजार चार सय ३५ रुपैयाँ रहेको थियो । 

सन् २०२२ लागेयता मात्रै सुनको मूल्य प्रतिऔंस (३१ दशमलव १० ग्राम) १८ प्रतिशतले बढेर दुई हजार ५० डलर पुगेको छ । यसअघि नै अमेरिकन मल्टिनेसनल इन्भेस्टमेन्ट कम्पनी गोल्डम्यान स्याक्सले प्रतिऔंस सुनको मूल्य २५ सय डलर पुग्ने प्रक्षेपण यसअघि नै गरेको थियो । भारतीय कमोडिटी बजारमा १० ग्राम सुनको फ्युचर कारोबार ५५ हजार ९५ मा कारोबार भइरहेको छ । तत्काल भुक्तानी हुने सुनको मूल्य भने प्रति १० ग्राम ५३ हजार ५ सय ४८ मा कारोबार भइरहेको छ । रसियाबाट आउने कच्चा तेल, ग्यास र कोइलामा अमेरिकाले प्रतिबन्ध लगाएसँगै मूल्य वृद्धि हुने अनुमानका आधारमा त्यहाँ सुनको मूल्यमा वृद्धि भइरहेको छ । अमेरिकी केन्द्रीय बैंकले करिब आठ हजार टन सुन रिजर्भ राखेको छ । सुन भण्डारणका आधारमा अमेरिका पहिलो राष्ट्र हो । 

त्यस्तै, डलरको विनिमयदर पनि हालसम्मकै उच्च भएको छ । बुधबारका लागि बैंकहरूले प्रतिडलर बिक्री गर्दा एक सय २३ रुपैयाँ ३६ पैसा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । गत पुसमा यसअघि डलरको मूल्य एक सय २२ रुपैयाँ २८ पैसासम्म पुगेर घटेको थियो । बैंकहरूले बुधबार एक सय २३ रुपैयाँ २५ पैसासम्म लिएर डलर बिक्री गरिरहेका छन् । 

अमेरिकी केन्द्रीय बैंकले नीतिगत ब्याजदर बढाउने अपेक्षा गरिएसँगै त्यहाँ मूल्य वृद्धि १० प्रतिशत हाराहारी पुग्ने प्रक्षेपण गरिएको छ । यसले डलर केही सस्तिन सक्ने अनुमान पनि गरिएको छ । बुधबार बिहानी सत्रमा भारतीय बजारमा भने डलर केही सस्तिएको छ । भारु २२ पैसाले बलियो भएर ७६ दशमलव ७८ पुगेको छ । भारतीय मुद्रासँग पेग्ड गरिएका कारण भारुको मूल्यमा हुने उतारचढावले नेपाली मुद्रा डलरको तुलनमा अवमूल्यन वा अधिमूल्यन हुने गर्छ । सोमबार भने एक डलरबराबर ७७ भारुमा कारोबार भइरहेको थियो । डलरको भाउ बढ्दा विदेशबाट डलरको भुक्तानी गरेर हाम्रो मुलुकमा आयात गर्ने वस्तुको भाउमा वृद्धि हुनेछ । विदेशबाट रेमिट्यान्स पठाउने नेपालीलाई भने डलर भाउमा हुने बढोत्तरीले फाइदा पुग्नेछ । 

ad
ad
ad
ad