१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार १६:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘जयनगर-कुर्था रेल सरकारले चाहे तत्काल सञ्चालन गर्न सक्छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार १६:२८:oo

जयनगर-कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको  छ। जयनगर-कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ।  यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन।  

तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताए । बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाप्रबन्धक झाले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए। 

महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनका लागि भाडा निर्धारण तथा कानुनसमेत बनाइसकिएको बताए। रेल्वे सेवा अहिले सञ्चालनमा आउँछ भनेर उत्साहित रहेको भन्दै उनले रेल्वे चल्न सुरु भएसँगै यात्रुलाई यातायातमा सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।

महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउन सरकारले सहयोग गर्नुपर्ने बताए। ‘रेल परीक्षण गरेर सम्पूर्ण तयारी पूरा गरेका छौँ ।  सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौँ।  सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ।  मन्त्रालय पनि यो विषयमा सकारात्मक छ।  रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ।  रेल सञ्चालनका लागि नेपाल सरकारले विगतदेखि निरन्तर रूपमा सहयोग गर्दै आएको छ,’ उनले भने, ‘पछिल्लो समय केही प्राविधिक समस्याहरू भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौँ।  रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरू उत्साहित छन् । रेल सञ्चालनमा आउँदा घाटामा बिल्कुल जाँदैनौँ ।  कम्पनी सुरुमा स्थापित हुन सरकारको लगानी चाहिन्छ।’

दुई वर्षअघि भारतीय रेल्वे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो। रेल खरिद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ।  

अहिले पनि रेल जनकपुरमै त्रिपालमुनि थन्किएर बसेको छ।  रेलसेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन।   

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ।  रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो रहेको छ।  वर्षौँदेखि बहुप्रतीक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आमनागरिक प्रतीक्षामा छन्।