प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको संकल्प गर्नुपर्ने उल्लेख गरे । देउवाले महिलालाई समानवंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजनन्सम्बन्धी हक प्रदान गरेको स्मरण गरे ।
‘नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारको भेदभाव अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलाहरूलाई भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व, प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक, अधिकारको प्रत्याभूति गरेको छ,’ ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित आयोजित महिला दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले भने । महिला सशक्तीकरणको विषय सबैको साझा विषय भएको उल्लेख गर्दै उनले यसमा तीनै तहको सरकारले पहलकदमी लिन आवश्यक रहेको औँल्याए ।
५० प्रतिशत अधिकारका लागि आन्दोलित हुनुपर्नेमा जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताइन् । महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने उनको भनाइ छ । उनले महिलाहरूले राजनीतिक, संवैधानिक र कानुनी रूपमा अधिकार पाए पनि व्यावहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताइन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानुनको सुधार गर्नुपर्नेमा जोड दिइन् । उनले कसैले अधिकारको प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानुनको सुधार गर्नुपर्ने बताइन् ।
महिलाका अधिकार कार्यान्वयन गर्न महिला शिक्षक समाजको माग
नेपाल महिला शिक्षक समाजले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नेतृत्व तहमा महिलाको सन्तोषजनक उपस्थिति नरहेको बताइन् । उनले स्थानीय सरकारको नेतृत्वमा समेत महिलाहरूको उपस्थिति कम रहेको बताउँदै १८ जना महिलाले स्थानीय तहको नेतृत्व गरेको जानकारी दिइन् । ‘महिलालाई अझै पनि नेतृत्व तहमा पुग्न नदिने विभिन्न बाधाहरू छन्, त्यसलाई हटाउनुपर्छ,’ उनले भनिन् ।
समाजकी अध्यक्ष जानुका नेपालले महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने बताइन् । समाजकी उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले महिलाको क्षमता, स्वभाव, दायित्वबोधका आधारमा उनीहरूलाई जिम्मेवारी दिनुपर्ने बताइन् । नेतृत्व गर्न सक्षम महिला चाहिने भएकाले महिलाहरूले पनि सक्षम बन्नेतर्फ ध्यान दिनुपर्ने उनले औँल्याइन् । सामुदायिक विद्यालय सुधार समाजका अक्ष्यक्ष भीम पोखरेल, महिला समाज काभ्रेकी अध्यक्ष सरस्वती कँडेल, भक्तपुर अध्यक्ष, उर्मिला श्रेष्ठ, काठमाडौं अध्यक्ष नीता पोखरेललगायतले महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
श्रमिक महिलालाई सम्मान
नेविसंघले श्रमिक महिलालाई सम्मान गरेर ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । नेविसंघ सम्बद्ध विद्यार्थी नेतृहरूको अगुवाइमा न्युरोड गेट, रत्नपार्क र बागबजारलगायतका क्षेत्रमा रहेका श्रमिक महिलालाई सम्मान गरिएको हो ।
नेविसंघ नेतृ सगुन कँडेलले श्रमिक महिला दिवसमा श्रमिक महिलाहरू समेटिन नसकेकाले आफूहरूले टेम्पोचालक, ठेला व्यापारी, निर्माण क्षेत्रमा काम गर्नेलगायत महिला मजदुरलाई सम्मान गरेको बताइन् । ‘महिला दिवस श्रमिक महिलाको हक हितका निम्ति स्थापना भए पनि अहिले उनीहरू समेटिन नसकेका कारण हामीले सम्मान गरेका हौँ,’ कँडेलले भनिन् ।