१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Saturday, 28 September, 2024
विजयराज खनाल काठमाडाैं
२o७८ फाल्गुण २५ बुधबार o९:५२:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारको ११ प्रतिशत नाफा २० ठूला लगानीकर्ताको भागमा

Read Time : > 3 मिनेट
विजयराज खनाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार o९:५२:oo

माघमा लगानीकर्ताले सेयर बजारबाट ११ अर्ब ४८ करोड कमाए, एक अर्ब ३० करोड नाफा २० ठूला लगानीकर्ताको भागमा, माघमा ७९ करोड रुपैयाँ पुँजीगत लाभकर उठेकोमा १० ठूला संस्थागत लगानीकर्ताले पाँच करोड ५२ लाख र १० ठूला व्यक्तिगत लगानीकर्ताले पाँच करोड १४ लाख तिरे

सेयर बजारका २० ठूला लगानीकर्ताले सम्पूर्ण लगानीकर्ताले कमाएको रकमको ११ प्रतिशत नाफा हासिल गर्ने देखिएको छ । गत माघ महिनामा सेयर बजारबाट दुई लाख ५९ हजार व्यक्ति तथा संस्थाले ११ अर्ब ४८ करोड रुपैयाँ कमाइ गरेका थिए । त्यसमध्ये ठूला २० ले मात्रै एक अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका हुन् । लगानीकर्ताले तिरेको पुँजीगत लाभकरका आधारमा यो हिसाब निकालिएको हो । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकअनुसार माघ महिनामा सेयर बजारबाट ७९ करोड रुपैयाँ पुँजीगत लाभकर उठेकोमा १० ठूला संस्थागत लगानीकर्ताले पाँच करोड ५२ लाख रुपैयाँ तिरेका छन् । हाल संस्थागत लगानीकर्तालाई १० प्रतिशत पुँजीगत कर लाग्ने गर्छ । यस आधारमा यी १० संस्थाले माघ महिनामा ५५ करोड रुपैयाँ कमाएका हुन् । 

त्यस्तै, १० ठूला व्यक्तिगत लगानीकर्ताले कुल पाँच करोड १४ लाख रुपैयाँ तिरेका छन् । व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा कम समयमा सेयर बेच्दा नाफामा ७ दशमलव ५ प्रतिशत लाभकर तिर्नुपर्छ भने सोभन्दा बढी अवधि राखेर बिक्री गर्दा ५ प्रतिशत लाभकर तिनुपर्छ । सिडिएससीका अनुसार हाल ७३ प्रतिशत कारोबार अल्पकालीन प्रकृतिका छन् ।

यस आधारमा १० ठूला व्यक्तिगत लगानीकर्ताले अल्पकालीन कारोबारबाट ५० करोड र दीर्घकालीन कारोबारबाट २५ करोड रुपैयाँ कमाएका छन् । यस आधारमा व्यक्ति र संस्थासमेत गरेर २० लगानीकर्ताले माघ महिनामा एक अर्ब ३० करोड रुपैयाँ कमाइ गरेको देखिएको छ । पछिल्लो समय केही सीमित व्यक्तिले बजारबाट अधिक लाभ लिइरहेको यही तथ्यांकबाट देखिएको हो । 

‘ठूला लगानीकर्ताले गर्ने नाफा रकम बढी देखिनु स्वाभाविक हो,’ पूर्वबैंकर तथा लगानीकर्ता अनलराज भट्टराईले भने, ‘बजारले कहिल्यै पनि ठूलालाई यति नाफा वा सानालाई यति नोक्सान भनेर किटान गरेको हुँदैन, गुमाउँदा वा कमाउँदा बजारमा सबैले समान अवसर पाएका हुन्छन् ।’

हुन पनि सेयर बजारमा एउटा मान्यता प्रचलित छ, ‘तपाईं जत्रो भाँडो लिएर समुद्रमा पस्नुहुन्छ, तपाईंले पाउने भनेको त्यही भाँडोबराबरको पानी मात्रै हो ।’ त्यसबाहेक कम्पनीहरूले आम्दानीपछि लाभांश वितरण गर्दा पनि लगानीअनुसार समान दरमा प्रतिफल दिन्छ । ‘हो, लगानीकर्ताले कम्पनीबाट प्रतिफल पाउँदा समान रूपमा पाउँछन्,’ पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले भने, ‘तर, अहिले बजारलाई प्रभाव पार्ने र लाभ लिने प्रवृत्तिहरू छन् ।’ 

पछिल्लो समय वित्तीय क्षेत्रको विस्तारसँगै धनीहरूको पहुँच स्रोतमा पुगेका कारणले पनि सबैतिर केही सीमित व्यक्तिले मात्रै लाभ लिन सक्ने स्थिति अहिले बनेको एक पूर्वअर्थसचिव बताउँछन् । ‘जसको नाममा जग्गा वा सेयर अधिक छ, उसैले वित्तीय संस्थाहरूबाट अधिक कर्जा पाउँछ,’ उनले भने, ‘स्रोतमाथिको पहँुचले पनि बढी प्रतिफल पाउने अवस्था बनेको छ ।’ 

पछिल्लो समय केही सीमित व्यक्तिहरू लगानी गर्न सक्ने संस्थाहरूको सञ्चालकमा बस्ने र त्यस्ता संस्थाहरूले सेयर खरिद गर्नुअघि बजारबाट सेयर उठाएर सोही संस्थालाई बिक्री गरेर लाभ लिने प्रवृत्ति पनि बढेको उनको भनाइ छ ।  ‘यस्ता संस्थाहरूमा सञ्चालक बन्न प्रोक्सी उठाएर मिलेमतोमा एक–अर्काे संस्थामा यस्ता समूहका व्यक्तिहरू सञ्चालक बन्न जान्छन्,’ ती पूर्वअर्थसचिवले भने, ‘अनि संस्थाबाट हुने लगानीसम्बन्धी जानकारीसमेत एक–अर्कालाई दिएर लाभ लिने प्रवृत्ति रहेको छ ।’ 

बजारलाई प्रभाव पार्ने र लाभ लिने प्रवृत्ति छ :  दीपेन्द्रबहादुर क्षत्री पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

हाम्रो बजार नीति–नियमअनुसार चलेको छैन । सहकारीकै उदाहरण सेयर बजारमा पनि लागू हुन्छ । जसरी सहकारीहरू साना–साना रकमको निक्षेप परिचालन गर्ने संस्थाका रूपमा परिकल्पना गरिएको थियो, त्यसको विपरीत संस्थाहरू विकास भएका छन् । वाणिज्य बैंकहरूलाई नै चुनौती दिने भएका छन् । 

सेयर बजार पनि त्यस्तै भएको छ । अहिले बजारबाट साना लगानीकर्ताले समान दरमा प्रतिफल किन पाउँदैनन् भने साना लगानीकर्तालाई झुक्याएर केही सीमित समूहले बजारबाट बढी लाभ लिइरहेका छन् । केही समयअघिको उदाहरण हेरौँ, नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जरमा जान लागे भन्ने खबरहरू आउनुअघि नै यी संस्थाहरूको मूल्य निकै बढाइयो ।

तर, जब नबिलका सञ्चालकलाई बंगलादेशी संस्थाले सेयर बेचेको प्रमाण नै सामाजिक सञ्जालमा आयो, त्यतिखेरदेखि मूल्य घट्यो । ठूलाले त्यसअघि नै लाभ लिइहाले । यस्ता विभिन्न उदाहरण छन् । सेयर बजारले कम्पनीहरूलाई पुँजी जुटाएर उत्पादनमा लगाउन सहयोग गर्छ भन्ने अपेक्षाविपरीत बजारमा गतिविधि भइरहेका छन् । मैले यो प्रवृत्तिको कुरा उठाउँदा मेरो आलोचना हुने गरेको छ ।

बजारमा अवसर र चुनौती दुवै समान हुन्छ  : अनलराज भट्टराई, पूर्वबैंकर तथा लगानीकर्ता
सेयर बजारमा नाफा–नोक्सान ठूलालाई यति, सानालाई यति भनेर तोकिएको हुँदैन । बजार घट्दा उही लगानी गरेका ठूलाले र सानाले गुमाउने रकम प्रतिशतका आधारमा उही हुन्छ । रकममा बढी हुन्छ नै । ठूलोसँग हुने लाभ भनेको उनीहरूको पहुँचमा स्रोत–साधन हुन्छ । बजार घट्दा केही समय धान्न सक्ने अवस्था भने हुन्छ । 

यस्ता व्यक्तिहरूले अध्ययन गराउने मान्छेसमेत राखेर लगानी गरिरहेका हुन्छन् । ठूलाले आफ्नो प्रतिफल सीमा तोकेरसमेत लगानी गरिरहेका हुन्छन् । हाम्रोमा यसरी लगानी परामर्श दिन र सेवा दिन पाइने व्यवस्था छैन । यद्यपि, साना लगानीकर्ताले समेत लगानी व्यवस्थापक सेवा दिने मर्चेन्ट बैंकरहरूमार्फत भने लगानी गर्न सक्छन् । लगानीकर्ताले भिडलाई पछ्याएर मात्रै लगानी गर्नुहुँदैन ।

बजारमा मर्चेन्ट बैंकरहरूमा रहेर आफ्नो सेयर बढाएर ती संस्थालाई नै बेचाउने प्रवृत्ति रहेको भन्ने कुरामा भने कुनै सत्यता छैन । बजारमा सबैले जित्ने अवस्था बनेन भने लगानीकर्ताको मनोविज्ञान खस्किन्छ र यसले घाटा दुवै थरीका लगानीकर्तालाई हुने हो । 

 दुई लाख ६० हजारले तिरे पुँजीगत लाभकर
गत माघ महिनामा दुई लाख ५९ हजार सात सय ९६ व्यक्ति तथा संस्थाले ७९ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले देखाउँछ । चार सय ६९ संस्थाले आठ करोड ५७ लाख लाभकर तिर्दा प्रमुख १० ले मात्रै पाँच करोड ५२ लाख लाभकर तिरेका हुन् । प्रमुख १० संस्थाले कुल ६४ प्रतिशतबराबर लाभकर तिरेका हुन् ।

 त्यस्तै, दुई लाख ५९ हजार तीन सय सातजना व्यक्तिले ६५ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्दा १० ठूला व्यक्तिले भने पाँच करोड १४ लाख रुपैयाँ कर तिरेका हुन् । यो भनेको कुल तिरिएको व्यक्तिगत करको ७ दशमलव २३ प्रतिशत हो । पुँजीगत लाभकर बढी तिर्ने ठूला १० व्यक्तिगत लगानीकर्तामा बजारमा चिनिएका समूहका प्रतिनिधिहरू छन् भने संस्थातर्फ केही वाणिज्य बैंक, एक समूह र एक निजी कम्पनी छ । लघुवित्त कम्पनीहरूमा रहेको क्रसहोल्डिङ हटाउने उद्देश्यले पनि वाणिज्य बैंकहरूले सेयर बिक्री गरेको देखिन्छ ।