एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्न संसारभरका ‘स्याल’हरू एक भएको भन्दै कटाक्ष गरेका छन् । सोमबार पोखरामा मानवअधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।
उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरू मिलेर सरकार ढलाएको दुखेसो पोखे । ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरिका स्यालहरू हाम्रा विरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । हामीले असाधारण काम गर्दागर्दै प्रतिक्रियावादीहरू मिलेर सरकार ढलाए । त्यसको वैचारिक र व्यावहारिक ढंगले जवाफ दिनुपर्छ,’ उनले भने ।
उनले गत निर्वाचनबाट नेपालको विकास अभियान र गणतान्त्रिक अभियानमा धेरै नयाँपन ल्याएको दाबी गरे । तर, विभिन्न खालका प्रतिक्रियावादीहरूले त्यसलाई सहन नसकेर एमालेको सरकार विस्थापित गराइएको उनको दाबी छ ।
सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको उनको भनाइ छ । संसदबाट सरकार बनाउनुपर्नेमा अदालतको परमादेशले सरकार बनेकाले सरकारमा बस्नेलाई लोकतन्त्र नचाहिएको उनको धारणा थियो ।