
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको र पटक–पटक ध्यानाकर्षण गराए पनि अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताएका हुन्।
उनले छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए। छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने उनले स्पष्ट पारे। उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरे पनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प सिट नदिने वा सम्बन्धन खारेजी भएको बताए। उनले कलेजलाई कारबाहीको लागि आयोगमा छलफल गरिने बताए।
‘आजको दिनमा आउँदा उसले के गरेको छ भने होस्टेल अनिवार्य गरेर बढी पैसा लिने काम भइरहेको छ, जुन होस्टेलको शुल्क निर्धारण गर्ने काम आयोगको पनि छैन। आयोगले स्पष्ट भनेको छ कि यो अनिवार्य गरेर जबर्जस्ती पैसा असुल्न पाइँदैन। छात्रावास हुनु राम्रो कुरा हो तर छात्रावासमा बस्नको लागि विद्यार्थी कलेजमा भर्ना भएको होइन। कलेजमा पढ्नको लागि हो। छात्रावासमा नबसेको कारणले विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गर्न पाइँदैन। हामीले भनेका कुराहरूको अपहेलना भएको छ, अब हामीसँग बाँकी भएका कुराहरू भनेको त्यो कलेजलाई कारबाही गर्ने हो। सिट संख्या घटाउने वा नदिने अथवा सम्बन्धन खारेज गर्ने। यी कुरा गर्नको लागि हामी आयोगमा कुरा उठाउँछौँ,’ उपाध्यक्ष गिरीले भने।