![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Siraha-district-_-Pardesh-No-2-_-enayapatrika-_-gajen2019-12-13-08-09-06.png)
सिरहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रमा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन जग्गा नापजाँच थालेको छ ।राष्ट्रिय भूमि आयोग र नगरबाट खटिएका १२ जना सर्वेक्षक तथा अमिनको टोलीले धनगढीमाई–१३ को भालुटार गाउँबाट गत मंगलबारदेखि जग्गा नापजाँच थालेको स्थानीय तहस्तरीय भूमिहीन तथा अव्यवस्थित बसोवासी व्यवस्थापन सहजीकरण समितिका फोकल पर्सन सञ्जय चौधरीले बताए । उनका अनुसार पछिल्लो चार दिनको अवधिमा वडा नम्बर १३ को असारी बजार, दूरबिन डाँडा, सखुवाचौरीमा जोतभोगमा रहेको ऐलानी र अव्यवस्थित जग्गा नापजाँच गरिएको हो ।
‘स्थानीय तहको निर्वाचनको आचारसंहिता लागू हुनुुअगावै वडामा पर्ने सिमले, भोटेटार, कालिकास्थान, जाँतेचौरी, कुमराहा, जोगीडाँडा, भुल्के, काफ्लेडाँडा, डाबरलगायतका बस्तीमा बसोवास गरिरहेका भूमिहीनहरूले दिएको निवेदनका आधारमा जोतभोगमा रहेको ऐलानी र अव्यवस्थित जग्गा नापी गरिसक्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यसपछि नगर कार्यपालिकाले रुजु गरेर राष्ट्रिय भूमि आयोगमा पठाउने र जिल्लास्थित नापी कार्यालयले नक्सा, कित्ता नम्बर छुट्याएर मालपोतले स्रेस्ता कायम गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा दिइनेछ ।’
सर्वेक्षक तथा अमिनसहितको प्राविधिक टोलीले बिहीबारसम्म टिएस प्रविधिबाट जग्गा नापिरहेको जानकारी दिँदै उनले शुक्रबारदेखि सेटलाइट प्रविधिबाट जग्गा नापिने उल्लेख गरे । धनगढीमाई नगरको १ देखि १३ नं. वडामा बसोवास गरिरहेका करिब दुई हजार सात सयजनाले जग्गा प्राप्तिका लागि आवेदन दिएकाले सोहीअनुसार जग्गा नापी गरिने समितिले जनाएको छ ।