चितवन, नवलपुर र महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका खनालले पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका थिए । खनाललाई संस्थापन पक्षका उम्मेदवार मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै दोस्रो चरणमा सभापतिमा निर्विरोध भएका हुन् ।
यस्तै, कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला सभापतिको उम्मेदवार दाबी गरेका बालकृष्ण घिमिरेले उपसभापतिमा मनोनयन दर्ता गरेपछि जिसी सर्वसम्मत जिल्ला सभापति बनेका हुन् । यसैगरी, महोत्तरी कांग्रेसको सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् ।
शुक्रबार राति भएको मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा यादव सहमतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका नागेश्वरलाई दोस्रो बढी मत ल्याएका सुशील यादवले समर्थन गरेका थिए ।