युक्रेनमाथि रुसी आक्रमणपछि स्लोभेनिया सरकारले तुरुन्तै हजारौँ युक्रेनीलाई शरण दिन तयार रहेको जनायो । स्लोभेनियाको नागरिकका रूपमा शरण दिन तयार रहेको सरकारी निर्णयले मलाई गौरवान्वित मात्रै नभई लज्जित पनि बनायो । किनभने ६ महिनाअघि अफगानिस्तान तालिबान कब्जामा पर्दा यही सरकारले अफगान शरणार्थीलाई स्विकारेको थिएन । र, करिब दुई महिनाअघि जब हजारौँ शरणार्थी विशेषतः इराकी कुर्द बेलारुसबाट पोल्यान्ड जान खोज्दा स्लोभेनिया सरकारले युरोप आक्रमणमा पर्यो भन्ने दाबी गर्दै पोल्यान्डको शरणार्थी रोक्ने घिनलाग्दो प्रयासलाई सघाउन सैन्य सहयोगसमेत गर्ने बताएको थियो ।
युरोपेली क्षेत्रमा दुई किसिमका शरणार्थी देखा परेका छन् । स्लोभेनिया सरकारको २५ फेबु्रअरीको ट्विटले यी शरणार्थीबीचको भिन्नता छुट्याएको थियो । ट्विटमा ‘युक्रेनबाट आउने शरणार्थी यस्तो वातावरणबाट आएका छन्, जहाँको सांस्कृतिक, धार्मिक र ऐतिहासिक चेतना अफगान शरणार्थीको भन्दा निकै भिन्न रहेको छ’ लेखिएको थियो । चर्को विरोधपछि ट्विट तुरुन्तै मेटाइयो, तर यसले एक अश्लील सत्यलाई उजागर गर्यो, अर्थात् युरोपले आफूलाई गैरयुरोपबाट जोगाउनुपर्छ ।
हालको वैश्विक भूराजनीतिक प्रभावको संघर्षका क्रममा यो रबैया युरोपका लागि विध्वंसात्मक हुनेछ । हाम्रा मिडिया र कुलीन वर्ग यस संघर्षलाई पश्चिमा ‘उदार’ र रुसी ‘युरेसियाली’ वृत्तको द्वन्द्वका रूपमा प्रस्तुत गरिरहेका छन्, जहाँ ल्याटिन अमेरिका, मध्यपूर्व, अफ्रिका र दक्षिणपूर्वी एसियाका हामीलाई नजिकबाट नियालिरहेका मुलुक उपेक्षित छन् ।
यस द्वन्द्वमा चीनले आफ्ना केही स्वार्थ पूरा गर्ने योजना बनाए पनि रुसलाई खुलेरै समर्थन गर्न सकिरहेको छैन । रुसले युक्रेनमा अतिक्रमण गरेको दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनलाई चिनियाँ समकक्षी सी जिनपिङले चीन र कोरियाबीचको मैत्री एवं सहकार्यको सम्बन्धलाई ‘नयाँ परिस्थितिमा’ विकास गर्न चीन तयार रहेको बताएका थिए । अहिले यो ‘नयाँ परिस्थिति’लाई प्रयोग गरेर चीनले ताइवानलाई ‘मुक्त’ गर्ने भय देखिएको छ ।
हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अहिलेको उग्रवादीकरणबाट चिन्तित हुन आवश्यक छ । थुप्रै उदार–वामपन्थी दुवै पक्ष युद्ध झेल्न सक्दैनन् भन्नेमा ढुक्क थिए र युक्रेन सीमामा सेना तैनाथ गरेर पुटिनले घुर्की लगाइरहेको ठानेका थिए । र, अहिले आफूलाई वामपन्थी भन्नेहरू पुटिनको गतिविधिका लागि पश्चिमको रुस घेराइलाई जिम्मेवार ठहर्याइरहेका छन् । यस तर्कमा मेरो भने सहमति छैन ।
निःसन्देह यस तर्कमा केही मात्रामा सत्यता छ । तर, यो सत्यतालाई जायज ठहर्याउनु अन्यायपूर्ण बर्साई सन्धिलाई देखाएर हिटलरलाई जायज ठहर्याउनु जस्तै हो । त्योभन्दा पनि खराब, ठूला शक्तिराष्ट्रलाई विभिन्न वृत्तलाई प्रभावित पार्ने छुट हुन्छ, जहाँ अन्यले वैश्विक स्थायित्वका लागि आफू अधीनस्थ हुन अभिशप्त हुनुपर्छ । के युक्रेनी फासीवाद साँच्चै समस्या हो ? यो प्रश्न पुटिनको रुसतर्फ सोझ्याउँदा उचित होला । पुटिनका बौद्धिक गुरु इभान इलिइन हुन्, उनका कामलाई पुनः प्रकाशित गरेर सरकारी अधिकारी एवं सेनाका जवानलाई बाँडिएको छ । सन् १९२० मा सोभियत संघबाट निकालिएपछि इलिइनले फासीवादको रुसी संस्करणको पैरवी गरेका थिए, अर्थात् राज्य एक संगठनात्मक समुदाय हो, जसलाई पुरुष सम्राट्ले नेतृत्व गर्छ र स्वतन्त्रता व्यक्तिगत हैसियतअनुसार निर्धारण हुन्छ । इलिइन (वा भनौँ पुटिन) का लागि मतदान भनेको वैधानिक नेता छान्नु नभई नेतालाई सामुदायिक ऐक्यबद्धता टक्य्राउनु हो ।
पुटिनका भारदारी दार्शनिक एलेक्जेन्द्र दुगिन इलिइनको पदचापलाई ऐतिहासिक सापेक्षतावादको उत्तरआधुनिकतावादी लेपन लगाएर नजिकबाट पछ्याउँछन् । ‘हरेक तथाकथित सत्यको आधार विश्वास मात्रै हो । त्यसकारण हामी जे गर्छौं, त्यसमा विश्वास गर्छौं । र, यो मात्र सत्यलाई परिभाषित गर्ने उपाय हो । त्यसैकारण हाम्रो आफ्नै रुसी सत्य छ, जसलाई तपाईंले स्विकार्नुपर्छ । यदि अमेरिका युद्ध चाहँदैन भने तपाईंले अमेरिका अब अद्वितीय मालिक रहेन भनेर बुझ्नुपर्छ । र, सिरिया एवं युक्रेनको अवस्थालाई मध्यनजर गर्ने हो भने रुस अमेरिकालाई ‘तिमी अब मालिक रहेनौ भन्छ’ । को मालिक रह्यो–रहेन भन्नेले संसारमा हालीमुहाली गर्ने निर्धारण गर्छ । र, युद्धले यसको छिनोफानो गर्नेछ,’ दुगिन लेख्छन् ।
तर, सिरिया र युक्रेनका जनताको भविष्य के हुने ? यी मुलुकले पनि आफ्ना लागि सत्य छान्ने मौका पाउँछन् कि यी मुलुक विश्व शासकका रणभूमि मात्रै हुन् ? हरेकको आ–आफ्नै सत्य हुन्छ भन्ने यही दक्षिणपन्थी विचारका कारण दक्षिणपन्थी लोकरिझ्याइँवादी पूर्व–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनले युक्रेनमा हमला गर्ने कामलाई ‘विशिष्टता’को संज्ञा दिएका छन् । र, पुटिनका तर्फबाट पनि पारस्परिक भावना देख्न सकिन्छ, अर्थात् पुटिनले फ्रान्स, इटली र अन्य क्षेत्रका वास्तविक नव–फासीवादी आन्दोलनलाई समर्थन गरेका थिए ।
‘रुसी सत्य’ पुटिनको साम्राज्यवादी महत्वाकांक्षालाई जायज ठहर्याउने एक सजिलो किंवदन्ती हो । युरोपले यो महत्वाकांक्षालाई प्रतिकार गर्ने उत्तम उपाय भनेको विकासशील र उदीयमान राष्ट्रसँग मित्रताको सम्बन्ध गाँस्नु हो । यी राष्ट्रमध्ये धेरैका पश्चिमा उपनिवेशवाद र शोषणका गुनासा छन् । अर्थात् ‘युरोपको प्रतिरक्षा’ अपूरो छ । वास्तविक दायित्व भनेको रुस वा चीनभन्दा पश्चिमले यी विकासशील मुलुकले हित गर्छन् भन्ने पार्नु हो । र, यसो गर्नका लागि एक मात्रै उपाय छ, हामीले आफूलाई निर्मम ढंगबाट नव–उपनिवेशवादी सोचबाट मुक्त गराउनुपर्छ, चाहे त्यो मानवीय सहयोगका क्रममा नै किन नहोस् । यसका लागि हामीले युरोपको प्रतिरक्षा गर्दा विश्वभरिको स्वतन्त्रताका लागि लडिरहेका छौँ भन्ने प्रत्याभूत गर्नुपर्छ । तर, शरणार्थीलाई बराबरी व्यवहार नगर्ने हाम्रो घिनलाग्दो अस्वीकार्यताले भिन्नै सन्देश दिइरहेको छ । प्रोजेक्ट सिन्डिकेटबाट