मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Thursday, 19 December, 2024
गाजामा इजरायली बमबारीले भत्काएको भग्नावशेष हेर्दै एक बालिका । तस्बिर : मोहमद जानुन/एएफपी
स्लाभोज जिजेक
२o८o कार्तिक १ बुधबार o८:o६:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

प्यालेस्टिनी अधिकारको माग गर्दा यहुदीहरूलाई घृणा गर्नुपर्दैन

Read Time : > 3 मिनेट
स्लाभोज जिजेक
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार o८:o६:oo

हमासले इजरायलमा मच्चाएको बर्बरताको विना कुनै आनाकानी निःसर्त निन्दा गरिनुपर्छ । पछिल्लो आक्रमणका क्रममा हमासले गरेको नरसंहार, बलात्कार र आमनागरिकको अपहरण र एक संगीत उत्सवमा मच्चाएको नरसंहारले सो संगठनको वास्तविक लक्ष्यमा पुनः प्रकाश हालेको छ । जुन, इजरायली राज्य र त्यहाँ बसोवास गर्ने सबै इजरायलीको समूल नष्ट गर्नु देखिन्छ । यसका बाबजुद इजरायल–प्यालेस्टाइन द्वन्द्वको पछिल्लो घटनालाई ऐतिहासिक सन्दर्भमा हेरिनुपर्छ । यस्तो कार्य हिंसाको औचित्य पुष्टि गर्न नभई आगामी मार्गबारे स्पष्टताको खातिर पनि आवश्यक छ । 

विचारणीय पहिलो तथ्य अधिकांश प्यालेस्टाइनीले भोगिरहेको पूर्ण निराशा हो । एक दशकअघितिर जेरुसेलमका सडकमा एकल प्रयासमा हुने आत्मघाती हमलाका शृंखलालाई स्मरण गर्नुहोस् त । प्रायः कुनै एक आमप्यालेस्टाइनी कुनै यहुदीको नजिक जान्थे । आफूसँग लगेको चक्कु निकाल्थे र पीडितमाथि प्रहार गथ्र्याे । आक्रमणकारी तुरुन्तै मारिनेछु भनेर थाहा हुँदाहुँदै पनि ती हिंसा घटाउँथे । ती ‘आतंकवादी’ कदमका कुनै सन्देश थिएनन् । आक्रमणपछि ‘फ्री प्यालेस्टाइन ! (प्यालेस्टाइनलाई मुक्त गर !)’को नारा लाग्दैनथ्यो । न नै तिनका पछाडि कुनै ठूलो संगठन हुन्थ्यो । ती आक्रमण हिंसात्मक निराशाको व्यक्तिगत अभिव्यक्ति थिए । 

बेन्जामिन नेतान्याहुले पश्चिम किनाराका प्यालेस्टिनी क्षेत्रहरूलाई इजरायलभित्र गाभ्ने खुला वकालत गर्ने उग्र–दक्षिणपन्थी पार्टीहरूसँग गठबन्धन गरेर नयाँ सरकार गठन गरेपछि परिस्थितिले थप खराब मोड लियो । राष्ट्रिय सुरक्षा हेर्ने नयाँ मन्त्री इटामार बेन–गभिरले एक टेलिजिभन अन्तर्वार्तामा ‘पश्चिम किनारामा खुला विचरण गर्ने म र मेरो परिवारको अधिकार अरबहरूको त्यस्तो अधिकारभन्दा बढी महत्वपूर्ण भएको’ बताए । गम्भीर कुनै समय राष्ट्रिय सेनामा सेवा गर्न प्रतिबन्ध लगाइएका व्यक्ति हुन् । अरब जातिप्रति उग्र उनको पार्टी सन् १९९४ मा हेब्रोन क्षेत्रका अरबीहरूको नरसंहारमा जोडिएपछि आतंकवादी संगठन घोषित गरिएको थियो । 

एक समय मध्यपूर्वको एक मात्र प्रजातान्त्रिक मुलुकको रूपमा गर्व गर्ने इजरायल नेतन्याहुको वर्तमान शासनकालमा धार्मिक राज्यतर्फ उन्मुख भइरहेको छ । वर्तमान सरकारको ‘मुख्य नीति’को सूचीमै उल्लेख छ : ‘इजरायली भूमिको सबै हिस्सामा यहुदी जनताको विशेष र अपरिहार्य अधिकार छ । यस सरकारले इजरायली भूमिका सबै भाग– ग्यालिल, नेगेभ, गोलान र जुडिया–सामरियामा बसोवासको प्रवद्र्धन र विकास गर्नेछ ।’ यहाँ उल्लेख जुडिया–सामरियामा पश्चिम किनाराका सबै प्यालेस्टाइनी भूमि पर्छ । यस्तो प्रतिबद्धता गर्ने सरकारसँग प्यालेस्टाइनीहरूले वार्ता गर्न अस्वीकार गरे भनेर तिनैकै निन्दा गर्नु बेतुकको कुरा हो । वर्तमान सरकारको आधिकारिक कार्यक्रमले नै दुई युद्धरत पक्षलाई वार्ताका लागि टेबुलमा बस्न रोक्छ । 

सबै इजरायली कट्टर राष्ट्रवादी छैनन् र सबै प्यालेस्टाइनी कट्टर यहुदीविरोधी छैनन् भन्ने कुरामा सहमति जनाउन सक्यौँ भने हिंसा निम्त्याउने निराशा र भ्रमको स्थितिलाई स्विकार्न सक्छौँ । त्यसपछि मात्र हामीले आफ्नै जन्मभूमि खोसिएका प्यालेस्टिनी र त्यस्तै इतिहास भोगेका यहुदीबीच अनौठो समानता देख्न सक्छौँ । 

भविष्यमा ‘कन्स्पिरेसी थिओरिस्ट(षड्यन्त्र सिद्धान्तकार)’हरूले गाजामा इजरायलको निगरानी र खुफिया जम्मा गर्ने क्षमतालाई औँल्याउँदै नेतन्याहुको सरकारलाई आक्रमणबारे पहिले थाहा भएको दाबी गर्नेछन् । हमासको आक्रमणले हालका सत्तासीत इजरायली कट्टरपन्थीलाई सघाए पनि यसले नेतन्याहुको ‘मिस्टर सेकुरिटी’को पहिचानमा धब्बा लगाउनेछ । तथापि थोरै गहिरिएर हेरे हमास र इजरायलको उग्र राष्ट्रवादी सरकार दुवै शान्तिका कुनै पनि विकल्पविरुद्धमा छन् भनेर बुझ्न गाह्रो छैन । दुवै मृत्युपर्यन्त संघर्षका लागि प्रतिबद्ध जनाउँछन् ।

हमासले त्यो समयमा आक्रमण गरेको छ, जब इजरायल आफैँ एक द्वन्द्वमा फसेको छ । न्यायपालिकालाई निस्तेज बनाउने नेतान्याहु सरकारको प्रयासपछि इजरायली समाज ध्रुवीकृत छ । देश प्रजातान्त्रिक संस्थालाई समाप्त गर्न चाहने राष्ट्रवादी–कट्टरपन्थी र यस खतराबारे सचेत तर उदार प्यालेस्टिनीहरूसँग गठबन्धन गर्न अनिच्छुक नागरिक–समाजबीच विभाजित भएको छ । आक्रमणपछि देशभर चर्किएको संवैधानिक संकटलाई स्थगन गरी राष्ट्रिय एकताको सरकारको घोषणा भएको छ । यो इतिहासमा दोहोरिँदै आएको दृश्य हो, साझा बाह्य शत्रुका कारण गहिरोभन्दा गहिरो आन्तरिक विभाजनसमेत अचानक निस्तेज हुने गर्छ । त्यसो भए के घरमा शान्ति र एकता प्राप्त गर्न बाहिरी शत्रु हुनुपर्छ ? यस दुश्चक्रलाई कसरी तोड्ने ?

पूर्वइजरायली प्रधानमन्त्री एहुद ओल्मर्टले आगाडिको बाटो हमाससँग लड्नु र सँगसँगै यहुदीविरोधी नभएका र वार्ताका लागि तयार प्यालेस्टाइनीसँग सम्पर्कमा रहनु भएको बताएका छन् । इजरायलका उग्र राष्ट्रवादीहरूको दाबीविपरीत यस्तो वर्ग अझै अस्तित्वमा छ । सेप्टेम्बर १० मा सयभन्दा बढी प्यालेस्टिनी शिक्षाविद् र बुद्धिजीवीहरूले एउटा खुलापत्रमा हस्ताक्षर गरेका थिए, जसमा ‘यहुदी विरोध, मानवताविरुद्ध नाजीले गरेका जघन्य अपराध वा होलोकास्ट (नाजी शासनमा भएको यहुदी नरसंहार)लाई नकार्ने, गलत व्याख्या गर्ने वा सही ठहर्‍याउने कुनै पनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्ने’ प्रतिवद्धता छ । सबै इजरायलीहरू कट्टर राष्ट्रवादी छैनन् र सबै प्यालेस्टाइनीहरू कट्टर यहुदीविरोधी छैनन् भन्ने कुरामा सहमति जनाउन सक्यौँ भने हिंसा निम्त्याउने निराशा र भ्रमको स्थितिलाई स्विकार्न सक्छौँ । त्यसपछि मात्र हामीले आफ्नै जन्मभूमि खोसिएका प्यालेस्टिनी र त्यस्तै इतिहास भोगेका यहुदीबीच अनौठो समानता देख्न सक्छौँ । 

हमास र इजरायली कट्टरपन्थीहरू एउटै सिक्काका दुई पाटा हुन् । हाम्रो छनोट यी दुईमध्ये एउटा कट्टरपन्थी गुटबीचमा हुनुहुँदैन । हामीले यी कट्टरपन्थीको साटो शान्तिपूर्ण सह–अस्तित्वको सम्भावनामा विश्वास गर्नेहरूलाई रोज्नुपर्छ । 
 

यस्तै समानता ‘आतंकवाद’ शब्दमा पनि लागू हुन्छ । प्यालेस्टाइनमा ब्रिटिस शासन रहदाँको समयमा यहुदीहरूले औपनिवेशिक शक्तिविरुद्ध गरेको संघर्षको अवधिमा ‘आतंकवादी’ले सकारात्मक अर्थ बोक्थ्यो । सन् १९४० को दशकको उत्तरार्धमा, अमेरिकी अखबारहरूले ‘प्यालेस्टाइनका आतंकवादीहरूलाई पत्र’ शीर्षकको साथ एउटा स्तम्भ नै चलाएको थियो । जसमा हलिउडका पटकथा लेखक बेन हेचले लेखेका थिए, ‘मेरा बहादुर साथीहरू ! मैले लेखेको कुरा तपाईंलाई विश्वास नलाग्न सक्छ, आखिर परिस्थिति नै त्यस्तै छ । अमेरिकाका यहुदीहरू तपाईंको साथमा छन् ।’ 

कसलाई आतंकवादी भन्ने भनेर बहस चलिरहँदा प्यालेस्टिनी अरबहरूको ठूलो समूह दशकौँदेखि अनिश्चिततामा बाँचिरहेका छन् । तिनीहरू को हुन् ? तिनको भूमि कुन हो ? तिनको वासस्थान कुन हो –‘अतिक्रमित क्षेत्र’ ‘पश्चिम किनारा’ ‘जुडिया र सामरिया’ वा ... प्यालेस्टाइन राज्य (जसलाई विश्वका १३९ देशले मान्यता दिएका छन् र जो सन् २०१२ देखि संयुक्त राष्ट्रसंघको गैरसदस्य पर्यवेक्षक मुलुक हो ।) ? बाहिर जे नाम भनिएपछि प्यालेस्टिनी बासोवास गर्ने भूमिमाथिको वास्तविक नियन्त्रण इजरायलको हातमा छ । र, इजरायलले प्यालेस्टिनीहरूलाई ‘मूलवासी’ युहदीलाई राज्य बनाउन अवरोध पु¥याइरहेका अल्पकालीन बासिन्दाजस्तो व्यवहार गर्छ । उसको नजरमा प्यालेस्टिनीहरूलाई मूलतः समस्या हुन् । यो सोचका कारण इजरायली राज्यले उनीहरूलाई कहिल्यै पनि उनीहरूतर्फ मित्रताको हात बढाएन ।

हमास र इजरायली कट्टरपन्थीहरू एउटै सिक्काका दुई पाटा हुन् । हाम्रो छनोट यी दुईमध्ये एउटा कट्टरपन्थी गुटबीचमा हुनुहुँदैन । हामीले यी कट्टरपन्थीको साटो शान्तिपूर्ण सह–अस्तित्वको सम्भावनामा विश्वास गर्नेहरूलाई रोज्नुपर्छ । प्यालेस्टिनी र इजरायली चरमपन्थीबीच सम्झौताको कुनै सम्भावना छैन । त्यसैले तिनको विरोध गर्दै प्यालेस्टिनी अधिकारको पूर्ण रक्षा र यहुदीविरोधी भावनाविरुद्ध लड्ने प्रतिबद्धता जनाउनुपर्छ । काल्पनिकजस्तो लाग्न सक्छ, तर यो दोहोरो संघर्ष साथसाथै अघि बढ्न सक्छ ।

हामीले आतंकवादी हमलाविरुद्ध इजरायलको आत्मरक्षाको अधिकारलाई विनासर्त समर्थन गर्न सक्छौँ र गर्नुपर्छ । तर, हामीले गाजा र इजरायलबाट नियन्त्रित भूमिका प्यालेस्टिनीहरूले सामना गर्नुपरेको साँच्चै निराश र निराशाजनक अवस्थाप्रति विनासर्त सहानुभूति देखाउनुपर्छ । यसमा ‘विरोधाभास’ देख्नेहरूले नै यो द्वन्द्वको प्रभावकारी समाधानलाई अवरुद्ध गरिरहेका छन् ।

– प्रोजेक्ट सिन्डिकेटबाट