युरोप ‘युरोपिस्तान’ हुन मात्रै बाँकी रहेको दाबी गर्ने युरोपेली र अमेरिकी दक्षिणपन्थी लोकप्रियतावादीहरू अफगानिस्तानबाट हात झिक्नु अमेरिकाको अपमानजनक पराजय हो भन्ने ठान्छन् । यसो भन्दै गर्दा यिनै श्वेत सर्वोच्चतावादी एवं नव–नाजीवादीहरू तालिबानको सत्ताकब्जालाई राष्ट्र, स्वतन्त्रता तथा धर्मप्रतिको लगाव एवं प्रेम भनेर अथ्र्याइरहेका छन् । युरोप एवं अमेरिकाका चरम दक्षिणपन्थीहरू तालिबानको यहुदीविरोधी, समलिंगीद्वेष र महिला स्वतन्त्रतामाथिको बन्देज गर्ने रबैयाको खुलेर प्रशंसा गरिरहेका छन् । यदि मुसलमान मात्र नभई यहुदी पनि क्षेत्रगत हिसाबले पश्चिमा दक्षिणपन्थी लोकप्रियतावादीभन्दा टाढा बस्छन् भने विभिन्न क्षेत्रमा यी समूहलाई एकअर्कासँग कुनै समस्या छैन । त्यही भएर नव–दक्षिणपन्थी यहुदीविरोधीसँगसँगै इजरायली सर्वोच्चतावादी पनि छन् अर्थात् यहुदी हामीसँग बस्न सक्दैनन् तर आफ्नो तथाकथित ठाउँ इजरायल (प्यालेस्टाइनको ठूलो हिस्सा) मा यहुदी राष्ट्र बनाएर बस्न सक्ने मान्यता राख्छन् ।
अस्वाभाविक लागे पनि केही वामपन्थी थोरबहुत दक्षिणपन्थीको विचार नजिक पुगिरहेका छन् । यी वामपन्थी तालिबानी व्यवस्थामा महिलामाथि हुने कहालीलाग्दो व्यवहारको विरोध त गरिरहेका छन् । यद्यपि अमेरिका पछि हट्नुलाई वैश्विक पुँजीवादी नव–उपनिवेशवादी शक्ति र अमेरिकाले लोकतन्त्र एवं स्वतन्त्रता लाद्ने प्रयास असफल भएको ठान्छन् । वामपन्थीको यो बुझाइ तालिबान समर्थननजिक मात्रै देखिँदैन, उनीहरूले आफूलाई कोभिड–१९ विरुद्धको खोप र सामाजिक नियन्त्रण प्रयासको विरोधीका रूपमा पनि उभ्याएका छन् ।
हालै प्रकाशमा आएका पेगासस जासुसी सफ्टवेयर सम्बन्धित समाचारले आमजनता नियन्त्रित छन् भन्ने पुष्टि भएको छ । यसले थुप्रै मानिस खोप प्रतिरोधी किन भएका हुन् भनेर बुझाउनेछ । पेगाससजस्ता सफ्टवेयरले हाम्रा विद्युतीय यन्त्र एवं सामाजिक गतिविधि नियन्त्रण गरेको छ र शरीरमा मात्रै हाम्रो स्वायत्तता रहेको देखाउँछ । यही जगमा आममानिस आफ्नो बचेको स्वायत्तता अर्थात् शरीरलाई खोपबाट जोगाउन खोजिरहेको छ । परोक्ष रूपमा मानिस खोपविरोधी बनेर पेगाससजस्ता जासुसी कर्तुतका मूल्य चुकाइरहेका छन् । उसो त खोपलाई वैज्ञानिक उपलब्धि भनेर प्रस्तुत गरिन्छ, यद्यपि विज्ञान नै सामाजिक नियन्त्रण एवं मूर्ख बनाउन प्रयोग गरिन्छ भनेर मानिस खोपबाट टाढिन खोजिरहेका छन् ।
मानव अधिकार रक्षाका निम्ति खोपविरुद्ध भइरहेको उदारवादी संघर्षले लेनिनको ‘जनवादी केन्द्रीयता’को सम्झना गराउँछ । जहाँ छलफल बहस जति पनि गर्न पाइन्थ्यो तर एकपटक निर्णय भएपछि निर्णयको पालना गर्नुपथ्र्यो । जनवादी केन्द्रीयतालाई इम्यानुएल कान्टको ज्ञानोदयको सूत्रबाट बुझ्ने प्रयास गरौँ । ‘स्वतन्त्र भई सोच्ने तर पालना नगर्ने’ हुनुको साटो ‘स्वतन्त्र भई सोच्ने, आफ्ना धारणा सार्वजनिक गर्ने र पालना गर्ने’ हुनुपर्छ । खोपमा आशंका जनाउनेहरूले आफ्ना आशंका राखौँ, बहस गरौँ, तर सार्वजनिक प्राधिकरणले आग्रह गरेको खोप लगाउने नियमलाई अक्षरशः पालना गरौँ । यतिको व्यावहारिक सम्झौता लागू नगर्ने हो भने हाम्रो समाज छिन्नभिन्न कविलाई समाज बन्न बेर लाग्नेछैन ।
सम्भवतः विज्ञानले प्रस्तुत गर्ने यथार्थ र सामान्य बुझाइ दर्साउने साधारण दैनिकीबीच आफ्नो जीवन बाँचिरहेका छौँ हामी । सामान्य बुझाइमा बाँच्ने पक्षले खोपको निषेध गरिरहेको छ । यो निषेध गर्ने समूहले सजिलै हाम्रो दैनिकीलाई प्रभावित गर्ने अहिलेको महामारी, विश्व तापमान वृद्धि र सामाजिक द्वन्द्वलाई स्वीकार गर्न सकिरहेका छैनन् । लोकप्रियतावादी दक्षिणपन्थी र व्यक्ति स्वतन्त्रतावादी वामपन्थी प्रहरी नियमन, स्वास्थ्य सेवालगायत सम्पूर्ण सार्वजनिक प्राधिकरणमाथि अविश्वास दर्साइरहेका छन् । यो अविश्वास एवं विरोधको उद्देश्य स्वतन्त्रता प्रत्याभूतिका लागि गरिएको हो भन्ने स्पष्ट हुन्छ । वामपन्थीहरू (अझै पनि वामपन्थी भन्न मिल्ने भए) ले केही ‘नयाँ’ स्थापित गर्ने उद्देश्यसाथ संस्थापनको विरोध मात्रै गर्नुहुन्न । उनीहरूले ‘आलोचनाको पनि आलोचना’ गर्न जरुरी छ र दाबी गरिएको ‘नयाँ’ आलोचनामुक्त हुनुहुँदैन । अर्थात् खोप नलगाउने अमेरिकी लोकप्रियतावादीको प्रतिरोध ‘अमेरिकी जीवन’ र त्यससँग जोडिने चरम व्यक्तिवाद, खुला रूपमा हतियार बोक्न पाउने अधिकार, नश्लवादको प्रतिरक्षा हो भनेर बुझ्न कठिन छैन ।
हामीले विज्ञानबाटै समस्याको समाधान हुन्छ भन्ने मान्नुपर्छ । महामारी एवं जलवायु परिवर्तनविरुद्ध जुधिरहेका सार्वजनिक प्राधिकरणमाथि विश्वास गर्नुपर्छ । हामीले हाम्रा साझा मञ्च जहाँबाट ऐक्यबद्धताको अपेक्षा गरिन्छ, त्यसमाथि विश्वास गर्न आवश्यक छ । हामीलाई पृथक् देखिने स्वतन्त्रता होइन, बरु नयाँ ढंगले एक हुने स्वतन्त्रता आवश्यक छ । सबैभन्दा महत्वपूर्ण हामीले दैनिक व्यवहार–आस्था र अभ्यास त्याग्न तयार हुनुपर्छ ।
पश्चिमले अफगानिस्तानमा लोकतन्त्र र स्वतन्त्रता लाद्न खोज्यो, तर असफल भयो भन्ने आलोचनाको सन्दर्भमा हामीले केही छुटाइरहेका छौँ । वास्तवमा पश्चिमको उद्देश्य लोकतन्त्र स्थापना थिएन, अर्थात् उनीहरू अफगानिस्तानमा स्थानीय युद्ध सरदार जन्माउने चाहन्थे । यसो गर्दा यसले वैश्विक पुँजीवाद एवं स्थानीय राष्ट्रवादको समिश्रण ल्याइदिन्छ जुन अहिले टर्कीमा देख्न सकिन्छ । अफगानिस्तान पूरै आधुनिक बन्न सकेन, यद्यपि हाम्रो आधुनिकताका सबै कमजोरी हासिल गर्यो । यस अर्थमा जर्मन दार्शनिक उर्गेन हेबरमासले दशकौँअघि भनेको आधुनिकता समाप्त नहुने योजना हो भन्ने कथनको पुष्टि भएको छ र तालिबान उक्त कथनको प्रमाण हो ।
आरटी न्युजबाट (जिजेक सांस्कृतिक, दार्शनिक एवं सामाजशास्त्र र दर्शनशास्त्रका अध्येता हुन्)