काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप– शोधग्रन्थ’ सार्वजनिक गरेको छ। आर्थिक वर्ष ०७७/७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनहरूलाई समेटेर सहरी योजना आयोगले शोधग्रन्थ तयार पारेको हो।
शोधग्रन्थको मंगलबार एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सार्वजनिक गरेका छन्।
शोधग्रन्थ सार्वजनिक गरेपछि बोल्दै मेयर शाक्यले महानगर क्षेत्रमा देशका सबै स्थानका नागरिकको बसोवास रहेकाले काठमाडौंकाे नीति र कार्यक्रममा धेरैको चासो रहेको बताए। ‘यी हरेक कोणबाट आउने प्रश्नलाई अनुसन्धानमा आधारित उत्तर दिन हामीले निर्वाचित भएर आएदेखि अध्ययनमा आधारित योजना तर्जुमा पद्धति अपनाउन थालेका हौँ,’ अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनका विषयबारे मेयर शाक्यले भने, ‘अब काठमाडौं निर्माण गर्ने, विकास योजनालाई प्राथमिकता दिने कामका लागि आधार प्राप्त भएको छ। प्रतिवेदनले देखाएका विषय राजनीतिक दलले चुनावी घोषणापत्रमा राख्न उपयुक्त छन्। प्रतिवेदनका सुझाव हामी कार्यान्वयन गर्दै जान्छौँ। यसैगरी राजनीतिक दलहरू, संघ र प्रदेश सरकारलाई पनि पठाउँछौँ।’
कार्यक्रममा उपमेयर श्रेष्ठले प्रतिवेदनबाट महत्वपूर्ण दस्ताबेज प्राप्त भएको बताइन्। त्यस्तै, महानगरका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, विकासका नयाँ मूल्य र मान्यता दस्ताबेजका रुपमा प्राप्त भएकाले महानगरको योजना निर्माणमा सहयोग हुने अपेक्षा व्यक्त गरे।
शोधग्रन्थमा स्थानीय विषयको परिवेश बुझेका अनुसन्धानकर्ताबाट सहभागितामूलक र सामूहिकताजस्ता अध्ययनका विधि अपनाएर अध्ययन गरिएको छ। फेलोसिपमा सहभागीको प्रतिनिधित्व गर्दै डा. कृपा सिग्देलले आफूहरूले गरेको अनुसन्धान योजना तर्जुमाका लागि महत्वपूर्ण आधारपत्र बन्ने बताएका थिए। सहरी योजना आयोगले ०७७ असोज ३० गते विभिन्न १० विधामा छनोट भएका १० युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’का लागि सम्झौता गरेको थियो।