एक सन्तको आश्रममा धेरै शिष्य बस्थे । उनीहरूमध्ये एक शिष्यलाई सुगा असाध्यै मन पथ्र्यो । त्यसैले, उनले एकदिन कतैबाट एउटा सुगा समाते र त्यसलाई पिँजडामा राखेर आश्रममा ल्याए । सुगालाई पिँजरामा बन्द गरिएको पाएर सन्तले पटक–पटक उसलाई छाडिदिन आफ्नो शिष्यलाई अनुरोध गरे । उनले भने– हेर बाबु, यो संसारमा परतन्त्रताजति ठुलो अभिशाप अर्को कुनै छैन । त्यसैले, यो सुगालाई खुला हावामा उड्न देऊ । यसलाई पिँजरामा नथुन ।
तर, शिष्यमा बालसुलभ कुतूहल थियो । उनी बल्लतल्ल समातेर ल्याएको सुगा गुमाउन चाहँदैनथे । त्यसैले, उनले सन्तसित अनुनय गरी सुगालाई आश्रममै राख्ने व्यवस्था मिलाए । शिष्यको जिद्दीसामु सन्तले हार स्विकारे । उनले सुगाको पिँजरा आफ्नो शयनकक्षनजिकै राख्न लगाए । सन्तले शिष्यलाई बुझाउन नसकेपछि अब सुगालाई नै आफैँ स्वतन्त्र हुने पाठ पढाउने विचार गरे । त्यसैले, उनी हरेक दिन सुगालाई सिकाउन थाले– पिँजरा छोड, बन्धन तोडेर उड ।
केही दिनपछि नै सुगाले सन्तको मन्त्र राम्रैसित रट्यो । अब ऊ मजाले भन्न थाल्यो– पिँजरा छोड, बन्धन तोडेर उड । आफ्नो प्रयासले साकार रूप लिएको देख्दा सन्त पनि दंग परे । एक दिन सफाइको क्रममा भूलवश पिँजरा खुलै रह्यो । सन्त कुटीमा आउँदा सुगा पिँजराबाट बाहिर निस्केर ‘पिँजरा छोड, बन्धन तोडेर उड’ भन्दै यताउता घुमिरहेको थियो । सन्त नजिकै आएको देखेर सुगा पुनः पिँजराभित्रै पस्यो । भित्र पसेर पनि ऊ रटिरहेको थियो– पिँजरा छोड, बन्धन तोडेर उड ।
यो सब देख्दा सन्त आश्चर्यमा परे । उनले मनमनै सोचे– आखिर शब्द कण्ठस्थ पार्दैमा त्यसको कुनै महत्व हुँदो रहेनछ । सायद यसले यस वाक्यको अर्थ पनि बुझेको थियो भने आज यसरी पुनः पिँजरामै पसेर आफूलाई परतन्त्र नै राखिराख्ने थिएन । त्यसैले, रट्नु र त्यसको अर्थ पनि बुझ्नुमा ठुलो अन्तर हुँदो रहेछ ।