मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १७ मंगलबार o६:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा र सिमरा सेजमा उद्योग खोल्न प्रस्ताव आह्वान भाडा घटाउने र निर्यात सीमा बढाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार o६:४३:oo

भैरहवा विशेष आर्थिक क्षेत्र र सिमरा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले भैरहवा र सिमरा सेजमा उद्योग स्थापनाका लागि आइतबार प्रस्ताव माग गरेको हो । भैरहवा सेजमा खाली रहेका ४५ प्लट र सिमरा सेजको ब्लक ‘ए’मा रहेका ६८ प्लटमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव माग गरिएको सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताए ।

प्राधिकरणले सूचना नै प्रकाशन गरेर उद्योगका लागि आह्वान गरेको उनले जानकारी दिए । प्राधिकरणले भैरहवा र सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न चाहने उद्योगी र लगानीकर्तालाई आगामी १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै सूचना जारी गरेको हो । उद्योगी–व्यवसायीले चुरोट–सुर्ती, मदिरा एवं हातहतियारलगायत सेजमा बन्देज लगाइएका बाहेकका उद्योग स्थापनाका लागि प्रस्ताव गर्न सक्नेछन् ।

हाल भैरहवा सेजमा सातवटा उद्योग सञ्चालनमा छन् । ती उद्योगले २३ वटा प्लट प्रयोग गरेका छन् । बाँकी ४५ प्लटका लागि प्रस्ताव माग गरिएको हो । त्यस्तै, सिमरामा रहेको सेजको ए ब्लकमा गार्मेन्ट प्रोसेसिङ जोन (जिपिजेड) सञ्चालन गरिने भनिएको थियो । तर, प्रस्ताव आह्वान गर्दा पनि गार्मेन्ट उद्योगहरू नआएपछि त्यसलाई पुनः सेजकै रूपमा अघि बढाइएको हो । ‘उद्योगलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७८’ अनुसार उद्योग छनोट गरिने र उद्योगहरूको क्लस्टरिङ गरी प्लट उपलब्ध गराइने सेज प्राधिकरणले जनाएको छ । 

उद्योगी–व्यवसायीसँग छलफल गरेरै सेजमा उद्योग स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाइएको भट्टले बताए । ‘सेजमा उद्योग स्थापनाका लागि उद्योगी–व्यवसायीसँग छलफल गरेका छौँ, उहाँहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘उद्योगी–व्यवसायीले औँल्याएका समस्याहरूसमेत समाधान गरिँदै जाने भएकाले उहाँहरूले प्रस्ताव गर्ने र उद्योग स्थापना तथा सञ्चालन गर्नेमा आशावादी छौँ ।’

विशेष आर्थिक क्षेत्रमा भूबहाल (भाडा) २० रुपैयाँ प्रतिमहिना प्रतिवर्गमिटर तोकिएको छ । त्यस्तै, भूबहाल अवधि बढीमा ३० वर्ष तोकिएको छ । कानुनमा व्यवस्था भएबमोजिम अवधि थप गर्न सकिने प्राधिकरणले जनाएको छ । विशेष आर्थिक क्षेत्रभित्र प्राधिकरणले आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोलपम्प, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्रलगायत भौतिक पूर्वधार सुविधा उपलब्ध गराउनेछ । त्यस्तै, सेजभित्र भन्सार, बैंक, बिमालगायत निकायको समेत उपस्थिति रहेको छ । 

सेज प्राधिकरणले सेजका लागि तोकिएको भाडा घटाउने र निर्यातको सीमा बढाउने तयारी गरेको छ । हाल दुईवटै सेजको भाडा प्रतिमहिना प्रतिवर्ग फिट २० रुपैयाँ तोकिएको छ । यसलाई घटाएर प्रतिमहिना प्रतिवर्ग फिट १० रुपैयाँ बनाउने तयारी गरिएको कार्यकारी निर्देशक भट्टले जानकारी दिए । ‘सञ्चालक समितिमा छलफलका क्रममा छ, यस विषयमा छिट्टै निर्णय हुनेछ,’ उनले भने ।