देवाही–गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंंगालको टोलीले आइतबार साढे दुई लाख रुपैयाँ घुस रकमसहित नगरपालिकाबाटै पक्राउ गरेको हो । आयोग टोलीले प्रमुख पटेलसहित नगरप्रमुख पटेलसहित लेखापाल प्रदीप यादव, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकीयसचिव अशोक पटेललाई पक्राउ गरेको हो ।
आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्ल ठकुरीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई दुई लाख ५० हजार र दुई लाख ५० हजारको चेकसहित नगरप्रमुखको कार्यकक्षमै फेला पारेको थियो । घुसको रकम प्रकरणमा संलग्न रहेको भन्दै आयोगले उनीहरूको मुचुल्का उठाएर लगेको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले नगरप्रमुख पटेल पक्राउ परेको बताए । देबाही गोनाही नगरपालिकामा आयोगका कर्मचारीले नगरप्रमुख पटेलको कार्यकक्षबाट नगद र चेकको रकम बरामद गरेको शाहीले पुष्टि गरे । वडा नम्बर १ को कार्यालय भवन निर्माणको काम सम्पन्न भइसक्दा पनि भुक्तानीका लागि नगरप्रमुख पटेलले पाँच लाख घुस मागेको वडाध्यक्ष सेख नुरुल्लाहले बताए । नगरप्रमुखलाई पैसा दिन उपभोक्ता समितिका अध्यक्ष सेख तवरेजसहितका पदाधिकारीहरू गएका थिए ।