मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण १५ आइतबार १३:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस कैलालीको सभापतिमा प्यानलसहित तीनजनाको उम्मेदवारी

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १५ आइतबार १३:३८:००

नेपाली कांग्रेस कैलालीको नेतृत्व चयनका लागि तीनवटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीनजनाले आ–आफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि संस्थापन पक्षकै दुई प्यानल बनेका छन् । इतर समूह पनि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको छ ।

संस्थापन पक्षका मानिने निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन् । भट्ट नेतृत्वको प्यानललाई केन्द्रीय सदस्यहरू धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र, जीवन राना, ईश्वरी न्यौपानेलगायत नेताहरूले समर्थन गरेका छन् ।

संस्थापन पक्षकै नेता बमको प्यानललाई निवर्तमान सभापति एवं कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’लगायत नेताहरूको समर्थन छ । संस्थापन पक्षमै दुई प्यानल बनेपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।  भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।    

शेखर कोइराला पक्षबाट सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रवीन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् । जिल्ला नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुनेछ । निर्वाचनमा दुई हजार पाँच सय ७२ प्रतिनिधिले मतदान गर्नेछन् । संस्थापन पक्षबीचमै प्रमुख प्रतिस्पर्धा हुने कांग्रेस नेताहरूले बताएका छन् ।