पाकिस्तानको सिन्ध प्रान्तस्थित सुक्करमा नेपाली तपस्वीले दुई सय वर्षअघि निर्माण गरेको मन्दिर भेटिएको छ। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले त्यहाँका हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो तीर्थस्थल मानिने साधु बेलो (बन)मन्दिर भ्रमण गरेका छन्।
१८औँ शताब्दीमा नेपालबाट गएका उदासीन सम्प्रदायका तपस्वी वनखण्डी महाराजले मन्दिर निर्माण गरेको पत्ता लागेको छ। उक्त मन्दिर इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्ड अफ पाकिस्तानको मर्मत संरक्षणमा रहेको राजदूत अधिकारीले जानकारी दिए।
‘सिन्धु नदीको बीचमा रहेको टापुमा यो मन्दिर रहेछ। ठूलो संख्यामा यो क्षेत्रमा उपासक, आध्यात्मिक मानिस र पर्यटकहरु तीर्थयात्रा र सांस्कृतिक सम्पदा हेर्नका लागि यहाँ भ्रमण गर्ने रहेछन्,’ राजदूत अधिकारीले टेलिफोनमा भने, ‘मैले दर्शन गर्ने सौभाग्य पाएँ। मन्दिरको राम्रो संरक्षण भएको रहेछ।’ नेपाली राजदूतलाई मन्दिर सम्बद्ध पदाधिकारीले स्वागत गरेका थिए।
‘विगतमा त्यो ठाउँ मेनाक पर्वतका रूपमा रहेछ र जंगलमा साधुहरू बस्ने भएको हुनाले सिन्धी भाषामा साधुको जंगलका रूपमा साधुबेलो नामले प्रचलित भएको रहेछ,’ अधिकारीले भने। नदी बीचको उक्त टापुमा ८ वटा मन्दिरहरू, पुस्तकालय, भोजनालय एवं तीर्थयात्री एवं योगीहरूको अवासगृह छन्। सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि मन्दिरका महन्तहरू भारत गएका थिए। तर, पनि महन्थहरू भारतबाट वर्षको एकपटक उक्त तीर्थस्थानमा पुगेर मन्दिर खोल्ने र पर्व मनाउने गरिएको राजदूत अधिकारीले बताए।
मन्दिरको ११औँ प्रमुख महन्तका रूपमा रहेका गौरीशंकर महाराज मुम्बईमा बस्दै आएका छन्। मन्दिरमा वनखण्डी महाराजको निर्वाणको दिन, शिवरात्रि, होली, रामनवमी, कृष्णाष्टमी आदिका दिन ठूलो मेला लाग्ने गरेको सम्बद्ध पदाधिकारीले नेपाली राजदूतलाई जानकारी दिएका छन्।
पाकिस्तान सरकारको अल्पसंख्यकहरूको धार्मिक स्थल संरक्षण गर्न स्थापना भएको संस्था इभ्याकुई ट्रस्ट प्रोपर्टी बोर्डले मन्दिरपरिसरको सरसफाइ र संरक्षण गर्ने गरेको छ। महन्त गौरीशंकर महाराजका अनुसार वनखण्डी महाराजले दुई सय वर्षअघि नेपालको मोरङमा धुनी जगाएर तपस्या गरी बसेका थिए। हाल सुनसरी जिल्लामा अखण्ड धुनी रहेको रामधुनी त्यही हो। विराटनगरको देवकोटा चोकमा वनखण्डी महादेवको मन्दिर रहेको छ जुन वनखण्डी महाराजले स्थापना गरेको मानिन्छ। साधुबेलो मन्दिरका व्यवस्थापन समितिका पदाधिकारीहरूले वनखण्डी महाराजले नेपालमा तपस्या गरेको स्थल एवं तपस्वीसँग सम्बन्धित स्थानहरूको यात्रा गर्ने इच्छा राजदूतसँग व्यक्त गरेका छन्।