लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिने रुसी घोषणासँगै युक्रेनले भन्यो– हामी कोहीसँग डराउँदैनौँ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिँदै पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएपछि जारी युक्रेन संकट युद्धको थप नजिक पुगेको छ । पुटिनले सो क्षेत्रका नेताहरूलाई साथमा राखेर यी दुई राज्यलाई सोमबार मध्यरातमा क्रेमलिनबाट टेलिभिजनमार्फत स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका थिए । उनको घोषणाले पूर्वी युक्रेनको दोनवास संकटको केन्द्र बन्न पुगेको छ ।
युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमी शक्तिले क्रुद्ध प्रतिक्रिया दिएका छन् । उनीहरूले रुस युक्रेनमाथि आक्रमणको लक्ष्यतर्फ एक कदमअगाडि बढेको आरोप लगाएका छन् । साथै, पूर्वघोषणाअनुरूप रुसको अर्थतन्त्रलाई धक्का दिने कदमहरू घोषणा गर्न थालेका छन् । अमेरिकाले तत्कालका लागि रुसले मान्यता दिएका यी पृथकतावादी क्षेत्रमा लगानी, व्यापार र वित्तमाथि प्रतिबन्ध घोषणा गरेको छ भने थप प्रतिबन्धको पनि तयारी गरिरहेको छ ।
रुसी घोषणालगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको नाममा टेलिभिजन सम्बोधन गर्दै आफ्नो देश ‘कोहीसँग नडराउने’ बताएका छन् । उनले युक्रेनका अन्तर्राष्ट्रिय मित्रहरूसँग आफूहरूको समर्थनमा ‘स्पष्ट र प्रभाकारी कदम चाल्न’ आह्वान गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अन्तर्राष्ट्रिय जगतसँग गरेको प्रतिबद्धताको ठाडो उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसविरुद्ध उनकै भाषामा ‘पहिलो किस्ता’को प्रतिबन्धको घोषणा गरेका छन् । उनले पाँच रुसी बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध घोषणा गर्दै बेलायतमा तिनको सम्पत्ति रोक्का हुने बताएका छन् । पुटिनले थप कदम चालेमा थप किस्ताको प्रतिबन्ध घोषणा गर्ने उनको चेतावनी छ ।
रुसी कदमको विरोधमा जर्मन चान्सलर ओलाफ सोल्जले रुसी नोर्ड स्ट्रिम २ पाइपलाइनको प्रमाणीकरण प्रक्रिया रोकिदिएका छन् । नोर्ड स्ट्रिम २ रुसबाट जर्मनीसम्म तेल एवं ग्यास पुर्याउन निर्माण गरिएको पाइपलाइन हो । यो पाइपलाइन परियोजनाको निर्माण गत वर्ष सेप्टेम्बरमा ११ अर्ब डलरको लागतमा रुसी सरकारी ऊर्जा कम्पनी ग्याजप्रोमले पूरा गरेको थियो । ऊ पाइपलाइन सञ्चालनको स्वीकृति पर्खिरहेको थियो । अमेरिकाले केही समयदेखि रुसलाई दबाब दिन जर्मनीलाई उक्त पाइपलाइन रोक्न आग्रह गरिरहेको थियो । युरोपियन युनियनले पनि रुसी कदममा संलग्नहरूविरुद्ध प्रतिबन्धको प्याकेजको तयारी गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठकमा अधिकांश सदस्यले रुसी कदमको आलोचना गरेका छन् । अस्ट्रेलिया, जापान र टर्कीले पनि पुटिनको कदमको आलोचना गरेका छन् । रुसी कदमप्रति भारत भने द्विविधामा देखिएको छ । उसले सबै पक्षले संयम अपनाउनुपर्ने बताएको छ, तर पुटिनको आलोचना भने गरिसकेको छैन । यसअघि क्रिमियालाई रुसले कब्जा गर्दा भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले क्रिमिया कब्जामा समर्थन आउने अभिव्यक्ति दिएका थिए, जसका लागि रुसले भारतलाई धन्यवाद पनि दिएको थियो । चीनले पनि सबै पक्षले संयम अपनाउनुपर्ने प्रतिक्रिया दिएको छ । रुसको कदमलाई सिरियाले भने समर्थन गरेको छ । रुसको कदमलाई लिएर विश्वमा तीव्र धुवीकरण देखिन थालेको छ ।
यो संकटको प्रतिक्रियास्वरूप विश्व तेल बजारमा तेलको भाउ उकालिएको छ । मंगलबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल सय डलरनजिक उक्लिएको छ । युक्रेन संकटको प्रभाव विश्वभरका सेयरबजारले पनि तीव्र रूपले महसुस गरेका छन् । सेयरबजारहरूमा पहिरो जान थालेको छ । यसले बिस्तारै लयमा फर्कन थालेको विश्व अर्थतन्त्रमा घातक प्रभाव पार्न सक्ने देखिएको छ ।
युक्रेनलाई नेटो सदस्य हुनबाट रोक्न चाहन्छ रुस
रुस लामो समयदेखि युक्रेनलाई युरोपेली संघ र नेटोमा सामेल हुनबाट रोक्ने प्रयास गरिरहेको छ । ऊ युक्रेन कुनै पनि हालतमा नेटोको सुरक्षा छातामा नपुगोस् भन्ने चाहन्छ । यही उद्देश्यका लागि अहिले रुस युक्रेनमाथि आक्रमणको मुडमा छ । दोनवास क्षेत्रका कैयौँ भागमा केही दिनदेखि बमबारी भइरहेको थियो । रुससमर्थित पृथकतावादीहरूले गोलाबारीको क्रम तीव्र पार्दै लगेका थिए । युक्रेनी अधिकारीले गत बिहीबार एकै दिन युद्धविराम उल्लंघनको ६० घटना रेकर्ड भएको बताएका थिए । शुक्रबार युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलेक्सी दानिलोभले दोनेत्स्कका वरिष्ठ अधिकारीको वाहनमा रुसी पक्षधरले नै विस्फोट गरेर त्यसको आरोप अर्काे पक्षलाई थोपर्न खोजेको बताएका थिए । उनले उक्त बम विस्फोटलाई योजनाबद्ध रूपमा स्थिति भड्काउने र रुसी आक्रमणलाई सही पुष्टि गर्न बनाइएको योजना भनेका थिए ।
सन् २०१४ मा रुससमर्थित विद्रोहीहरूले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कका सरकारी भवनहरू कब्जा गरेपछि युद्ध भड्किएको थियो । रुसी सेनाको सहयोगमा भीषण युद्धपछि दोनवास क्षेत्रको पूर्वी लुहान्स्क र दोनेत्स्क क्षेत्र रुससमर्थित पृथकतावादीहरूले हात पारेका थिए । त्यसपछि विद्रोहीनियन्त्रित क्षेत्र लुहान्स्क पिपुल्स रिपब्लिक र दोनेत्स्क पिपुल्स रिपब्लिक नामले चिनिन थाले । त्यसअघि रुसले क्रिमियालाई कब्जा गरेर पछि आफूमा गाभेको थियो ।
सन् २०१५ को दोस्रो मिन्स्क सम्झौताबाट कमजोर युद्धविराम सहमति बने पनि युक्रेनी सरकार र पृथकतावादीनियन्त्रित क्षेत्रको सम्पर्क रेखामा द्वन्द्वका छिटपुट घटना भइरहेकै थिए । युक्रेन सरकार पृथकतावादीलाई ‘अतिक्रमणकारी’ र ‘हस्तक्षेपकारी’ भन्छ । रुसी मिडियाले पृथकतावादी फौजलाई ‘मिलिसिया’ र किभ सरकारबाट आफ्नो सुरक्षा गरिरहेका स्थानीय बताउँछ । सन् २०१४ यता दोनवास क्षेत्रको द्वन्द्वमा १४ हजारले ज्यान गुमाइसकेका छन् । युक्रेनले विद्रोहीनियन्त्रित क्षेत्रबाट १५ लाख मानिस भागेर युक्रेननियन्त्रित क्षेत्रमा आएको दाबी गर्छ ।
दोनवास क्षेत्रको द्वन्द्वमा रुसको भूमिका
दोनवास क्षेत्रका पृथकतावादीलाई मस्कोको उल्लेख्य समर्थन छ । रुसले मैदानमा आफ्ना सेना नभएको बताउने गरे पनि अमेरिका, नेटो र युक्रेनी अधिकारीहरू भने रुसले नै पृथकतावादीहरूको परिचालन, गुप्तचरी सहयोग गरिरहेकोमा विश्वस्त छन् । मस्कोले पछिल्ला वर्षहरूमा दोनवास क्षेत्रका लाखौँ मानिसलाई रुसी पासपोर्ट बाँडेको छ । पश्चिमी अधिकारी तथा अवलोकनकर्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनीहरूलाई रुसी नागरिक देखाएर छुटिएको प्रान्तलाई मान्यता दिने प्रयास गर्न थालेको पहिल्यै अनुमान गरेका थिए । यसै हप्ता रुसी संसद्ले क्रेमलिनले लुहान्स्क र दोनेत्स्क गणतन्त्रलाई स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने सुझाव दिएको थियो ।
पुटिनले लामो समयदेखि युक्रेनले आफ्नो भूभागका रुसी जाति एवं रुसीभाषी नागरिकको अधिकार कुण्ठित बनाएको आरोप लगाउँदै आएका छन् । उनीहरूको रक्षाका लागि हस्तक्षेप गर्नु रुसको अधिकार भएको उनले बताउने गरेका छन् । बुधबार पनि पुटिनले दोनवासमा गम्भीर ‘आमनरसंहार’ सञ्चालन भइरहेको अरोप लगाएका थिए । उनले सन् २००८ मा जर्जियामा आक्रमण गर्नुअघि पनि यस्तै आरोप लगाएका थिए । त्यस बखत पुटिनले जर्जियाबाट स्वतन्त्रता घोषणा गरेका साउथ ओसेटियाका नागरिकमाथि आमनरसंहार गरेको झुटो अरोप लगाएका थिए । त्यसको केही पछि रुसले जर्जियामाथि आक्रमण गरेको थियो । अहिले पुटिनले दोनवासमा आमनरसंहारको आरोप लगाएको साता नबित्दै युक्रेनका दुई राज्यलाई स्वतन्त्र गणराज्यको मान्यता दिएर युद्धको पृष्ठभूमि तयार गरेका छन् । यसले विश्वलाई नयाँ धु्रवीकरणमा लैजाने खतरा देखिएको छ ।
स्वतन्त्रता मान्यता दिनुअघिको विकासक्रम
शनिबारदेखि नै पृथकतावादीनियन्त्रित क्षेत्रका नागरिकलाई बसमार्फत रुसी सीमा पार गराउन सुरु गरिएको थियो । रुसी अधिकारीहरू पूर्वी युक्रेनीहरूलाई आफूहरूले सुरक्षा र क्षतिपूर्ति दिने वाचा गरिरहेका थिए । रुसी सरकारी मिडियाले यो सीमित बहिर्गमनका हरेक पाटोलाई महत्वका साथ प्रसारण गरिरहेका थिए । ती प्रसारणले दोनेत्स्क र लुहान्स्क क्षेत्रका मानिस युक्रेनको अतिक्रमणको डरमा हजारौँको संख्यामा भागिरहेको सन्देश प्रवाहित गर्दै थिए । यहीबीच, शनिबार मात्रै १० हजारभन्दा बढीले डोनवास क्षेत्र छोडेका थिए । रुसी अधिकारीले आफूहरू नौ लाख मानिससम्म लिन तयार रहेको बताइरहेका छन् । तर, पृथकतावादी नेताहरूले युद्धमा सामेल हुन सक्ने पुरुषलाई भने आफ्नो थलो नछाड्न र हतियार उठाउन निर्देशन दिइरहेका थिए ।
युक्रेनमा नेपालीहरू सुरक्षित छन् : रामकाजी खड्का युक्रेनका लागि नेपाली गैरआवासीय राजदूत
युक्रेनका लागि नेपाली गैरआवासीय राजदूत रामकाजी खड्काले युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र तत्कालै उद्धार गर्नुपर्ने अवस्था नभएको बताएका छन् । युक्रेनको समेत जिम्मेवारी पाएका जर्मनीका लागि आवासीय नेपाली राजदूत खड्काले तनावपूर्ण रहेका क्षेत्रमा नेपाली नागरिक नभएको र अन्य क्षेत्रमा जनजीवन सामान्य भएको बताएका छन् ।
‘पूर्वी युक्रेनमा नेपाली छैनन् भन्ने सूचना आएको छ । त्यहाँबाट कम्तीमा पनि २७० किलोमिटर वर रहेका खार्कोभ, ओडेसोलगायतका क्षेत्रमा केही नेपाली छन्, त्यहाँको अवस्था शान्तिपूर्ण छ,’ राजदूत खड्काले बर्लिनबाट मंगलबार टेलिफोनमा नयाँ पत्रिकासँग भने ।
राजदूत खड्काले गैरआवासीय नेपाली संघमार्फत नेपालीहरूसँग सम्पर्क भइरहेको जानकारी दिए । युक्रेनमा ३८ जना नेपाली लामो समयदेखि बसोवास गर्दै आएका छन् । उनीहरूमध्ये अधिकांशले युक्रेनकै नागरिकता लिएका छन् भने केही नागरिक बन्ने प्रक्रियामा रहेको जानकारी पाएको पनि खड्काले बताए । उनका अनुसार अर्को मुलुकमा जाने सिलसिलामा पुगेका र अध्ययन तथा रोजगारीका सिलसिलामा पुगेका नेपालीको संख्या १५० भन्दा कम छ ।
(एजेन्सीहरूको सहयोगमा)