साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । बजार बन्द हुँदासम्ममा नेप्से सूचक ३९ दशमलव ४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलव १० बिन्दुमा आइपुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कम उत्पादक क्षेत्रमा जाने कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने भएपछि यसको प्रभाव बजारमा परेको हो ।
‘लगानीकर्ता राष्ट्र बैंकले केही समयअघि ल्याएको सेयर धितो कर्जामा एकल कर्जा सीमा परिमार्जन हुने अपेक्षामा थिए,’ नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन्, ‘तर, मौद्रिक नीतिले यस्तो कर्जामा थप कडाइ गर्ने संकेत गरेकाले बजार घटेको देखिन्छ ।’ अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण राजनीतिक टकराव बढिरहेकाले यसको प्रभाव पनि बजारमा परेको हुन सक्ने पोखरेलको भनाइ छ ।
आइतबार घटेको बजारमा लगानी भने बढेको छ । अघिल्लो कारोबार दिनमा दुई अर्ब रुपैयाँमा सीमित भएको कारोबार आइतबार बढेर चार अर्ब आठ करोड रुपैयाँ पुगेको छ । यस दिन दुई सय ३० कम्पनीको ७१ करोड २२ लाख कित्ता सेयर किनबेच भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ । संस्थाको ५८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । संस्थाले पहिलोपटक लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको थियो ।
त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेडको १५ करोड रुपैयाँदेखि १९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार एक सय ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटाको बढेको छ । युनाइटेड इदी–मर्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । तेह्रथुम पावर कम्पनी, सामलिङ पावर कम्पनी, नेपाल फाइनान्स कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ देखि करिब ९ प्रतिशतसम्म
बढेको छ ।
कारोबारमा आएका ‘अन्य’ समूह सूचकबाहेक बाँकी १२ वटा समूह सूचक घटेका छन् । उत्पादनमूलक समूह, जीवन बिमा, फाइनान्स समूह सूचक २ प्रतिशतसम्म घटेका छन् । नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी, रुरु जलविद्युत् परियोजना, प्रिमियर इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य भने ३ देखि करिब ५ प्रतिशतसम्म
घटेको छ ।