१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Saturday, 28 September, 2024
दिपेश शाही काठमाडौं
२o७८ माघ २८ शुक्रबार २१:o३:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

एमसिसीबारे गठबन्धन विवाद उत्कर्षतिर

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार २१:o३:oo

एमसिसीको विषयमा सत्तारुढ गठबन्धनका दलहरूबीचको मतभेद उत्कर्षतिर पुगेको छ । समान धारणा बनाउनुको साटो गठबन्धनमा रहेका पाँच दलले एमसिसीमा आ–आफ्नो अडानसहित कित्ताकाट गर्न थालेका छन् । एमसिसीमा एकरूपता ल्याउन बनेको गठबन्धनको कार्यदल अनिर्णीत छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाकै लाइनमा कांग्रेसले आगामी संसद् बैठकमा एमसिसी सम्झौता टेबल गर्नुपर्नेमा जोड दिएको छ । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा परिमार्जनविना अगाडि बढाउनै नहुने पक्षमा छन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा त सुरुदेखि नै एमसिसी खारेजीको पक्षमा छ ।

बिहीबार बिहान प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भएको छलफल सकारात्मक भएको छैन । एमसिसीमा उनीहरूका अडान जहाँको त्यहीँ छन् । प्रधानमन्त्री देउवा विपक्षी दलसँग समेत एमसिसीमा सहकार्यको मनस्थितिमा छन् । प्रधानमन्त्री देउवाले एमसिसी पास गर्नुपर्ने दबाब रहेकै कारण सहयोग गर्न आग्रह गरे पनि प्रचण्ड र नेपालले यथास्थितिमा अघि बढ्नै नसकिने जवाफ दोहोर्‍याएका छन् । ‘तीनजनाबीच भएको छलफल निष्कर्षोन्मुख छैन र त्यति धेरै सकारात्मक पनि छैन । सबै आ–आफ्नो अडानमा कायमै छन्,’ स्रोतले भन्यो । 

प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदनमा गरेको हतारप्रति प्रचण्ड र नेपालको असन्तुष्टि छ । स्थानीय तहको निर्वाचनलगत्तै राष्ट्रिय सहमति जुट्ने गरी छलफल गर्न सहज हुने प्रचण्ड–नेपालको भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले सत्तापक्षले नै सडक संघर्षका कार्यक्रम बनाएको भन्दै गुनासो गरेका छन् । एमसिसीको विषयलाई लिएर एकीकृत समाजवादीले गत बुधबारदेखि नै सडक आन्दोलनमा उत्रिने निर्णय गरिसकेको छ । 

प्रधानमन्त्री देउवाले एमसिसीमा अघि बढ्नैपर्ने बाध्यता आइलागेको भन्दै सम्भावित राजनीतिक अवस्थाबारे सोच्न आग्रह गरेका छन् । तर, प्रचण्ड र नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन तोडेरै अघि बढ्ने भए त्यसले ल्याउने परिणामबारे अवगत गराएका छन् । नेताहरूका अनुसार प्रधानमन्त्रीमा एमसिसी पारित हुने आत्मविश्वास छ । बालुवाटारको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिलगायत विषयमा समेत छलफल गरेका शीर्ष तीन नेताहरूले गठबन्धनकै भविष्यसमेत धरापमा पार्न सक्ने एमसिसीलाई लिएर भने सकारात्मक निष्कर्ष निकाल्न सकेनन् ।

छलफल सकेर बाहिरिएका माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठक नै स्थगित गरेका छन् । कोरोना महामारीका कारण आफू सम्मिलित सरकारले नै २५ जनाभन्दा बढी उपस्थित हुन नदिने निर्णय गरेका कारण आफैँले उल्लंघन गरेको जस्तो हुने हुनाले स्थगत गरिएको पार्टी केन्द्रीय कार्यालयको भनाइ छ । तर, माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार बिहीबार बिहान बालुवाटारमा भएको छलफल सकारात्मक नभएपछि प्रचण्डले स्थगन गर्ने निर्णय गरेका थिए । ‘बैठक स्थगन हुनुको कारण बिहान प्रधानमन्त्रीसँग भएको छलफल नै मुख्य हो,’ ती नेताले भने । प्रधानमन्त्रीसँगको छलफलबाट गठबन्धनकै भविष्यमा समेत प्रश्न उठ्ने देखिएको हुँदा अहिले आन्तरिक काममा गर्न हतार नहुने प्रचण्डको बुझाइ छ । 

ती नेताका अनुसार प्रचण्ड पहिले एमसिसी अगाडि बढाउनै नसकिने मनस्थितिमा रहे पनि गठबन्धन कसरी जोगाउने भन्ने विषयमा बढी चिन्तित छन् । तर, नेपालसहित प्रधानमन्त्री देउवासँगको छलफल सकारात्मक हुन नसकेपछि उनी कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आन्तरिक छलफलमा समेत लागेका छन् । यसबीचमा उनले आफ्नै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने केही मन्त्री र मुख्य नेताहरूसँग छलफलसमेत गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गठबन्धनभन्दा पनि एमसिसीलाई प्राथमिकता दिनुपर्ने विषय जोडका साथ उठेको छ । पार्टी कार्यालय सानेपामा जारी समितिको बैठकमा अधिकांश नेताले चुनावका लागि कांग्रेसले कसैसँग गठबन्धन गर्नुपर्ने स्थिति नरहेको भन्दै अहिले एमसिसीको विषयमा बढी केन्द्रित हुनुपर्ने राखेका थिए । यद्यपि, धारणा राखेका शीर्ष नेताहरूले एमसिसी पारित गर्ने नाममा राष्ट्रिय सहमतिलाई लत्याउन नहुने धारणासमेत राखेका छन् ।

शुक्रबार पुनः बस्ने गरी स्थगित भएको जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दलहरूबीच सहमति खोजेर एमसिसीलाई संसद्बाटै टुंगोमा पु¥याउनुपर्ने बताए । कांग्रेसभित्र गठबन्धनबाट सम्भव नभए प्रतिपक्षी एमालेसँग मिलेर भए पनि एमसिसीलाई संसद्मा लिएर पारित गर्नुपर्नेमा जोड छ । तर, प्रधानमन्त्री देउवा र उनी पक्षका नेताहरू भने गठबन्धनलाई असर नपुग्ने गरी अघि बढ्नुपर्ने पक्षमा छन् । गठबन्धनलाई कायम राखेर एमसिसीलाई संसद्मा लिने वा तोडेरै भए पनि अघि बढ्ने भन्नेमा कांग्रेसभित्र फरक–फरक धारणा छन् । 

सुरुदेखि नै सत्तागठबन्धनभित्र एमसिसीका विषयमा एकमत थिएन । पछिल्लो समय अमेरिकाले देउवा र प्रचण्डले पठाएको पत्रको हवला दिँदै आगामी १८ फागुन (२८ फेब्रुअरी)भित्र एमसिसी सम्झौता संसद्बाट पारित गर्न पत्र पठाएपछि विशेषगरी गठबन्धनभित्र र बाहिर तीव्र छलफल भइरहेको छ । यसैबीचमा गठबन्धनका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीदेखि सभामुख अग्निप्रसाद सापकोटासँग समेत प्रत्यक्ष–परोक्ष छलफल गरिरहेका छन् । सभामुखले सदन नखोलेसम्म नारा–जुलुसका बीच एमसिसीजस्तो विवादित विषय अगाडि बढाउन कठिन हुने अडान राखेका छन् । 

कांग्रेस नेता शेखर कोइरालाले समेत सक्रियता बढाएका छन् । कोइराला मंगलबार मात्रै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । कोइरालाले ओलीलाई एमसिसी संसद्बाट पारित गर्न अवरोध खुलाउन आग्रह गरेका थिए । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार एमाले र कांग्रेसबीच एमसिसीलाई लिएर खासै मतभेद नभएको अवस्थामा अघि बढाउनका लागि सम्भावनाको खोजी गर्न छलफल भएको थियो । 

ओलीलाई भेटेपछि बिहीबार बिहान मात्रै कोइरालाले प्रचण्डलाई समेत भेटेका थिए । उनले एमसिसी अघि बढाउनुपर्ने, तर चुनावमा गठबन्धन गर्न नसकिने स्पष्ट धारणा प्रचण्डसँग राखेका थिए । कोइरालाले एमसिसीको छिनोफानो संसद्बाटै हुने भएकाले सहमति जुटाएर निकास दिनुपर्ने र निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।