१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २६ बुधबार ०९:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवि सेवा आयोगमा आंशिक शिक्षकको ताला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २६ बुधबार ०९:४४:००

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंशिक शिक्षकले ताला लगाएका छन् । त्रिविले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै त्रिवि आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको हो । 

त्रिवि प्राध्यापक संघका पूर्वअध्यक्ष तथा संरक्षक शशी शर्माले आंशिक प्राध्यापकलाई मासिक तलबको व्यवस्था गर्नेलगायतका सम्झौता गरे पनि कार्यान्वयन नगरेका कारण आयोगमा ताला लगाएको बताए । सेवा आयोगले पहिले स्थगित भएका परीक्षालाई सञ्चालनको तालिका सार्वजनिक गरेसँगै शिक्षकहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए । यसअघि पनि लामो समयसम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम गरेका थिए । त्रिविले वार्ता समिति गठन गरेर सम्झौता भएपछि आन्दोलन फिर्ता गरेका थिए । 

आंशिक शिक्षकहरूले समान कामको समान ज्यालाको ग्यारेन्टी हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई त्रिविको दरबन्दीमा करार गर्नुपर्ने र बौद्धिक शोषणको अन्त्य गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । 

आंशिक शिक्षकको समस्या लामो समयदेखि बल्झिएको छ । शिक्षा मन्त्रालयले आंशिक शिक्षकको समस्या समाधान गर्न एक हजार चार सय २० दरबन्दी र आवश्यक स्रोत उपलब्ध गराउन मन्त्रीस्तरको निर्णयअनुसार ८ मंसिर ०७४ मा मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरी एक हजार चार सय २० आंशिक शिक्षकलाई करार गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयसँग समन्वय गरी विश्वविद्यालय अनुदान आयोगमार्फत त्रिभुवन विश्वविद्यालयलाई निकासा दिने निर्णय गरेको थियो । आंशिक प्राध्यापकहरूले ०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दरबन्दी दिन मन्त्रिपरिषद्बाट गरेको निर्णय कार्यान्वयन हुनुपर्नेसमेत माग गर्दै आएका छन् । 

शिक्षामन्त्रीले भने– शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्‍यो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुन आग्रह गरेका छन् । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशीजस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उत्तिकै भूमिका रहने बताए ।

शिक्षकहरूलाई कर्तव्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । शिक्षक सम्मानित पेसा बनाइराख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनुपर्ने उनले बताए । शिक्षक, व्यवस्थापन समितिमा बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको सन्देश प्रवाह भइरहेकाले यसमा ध्यान दिनुपर्ने बताए । शिक्षक सेवा आयोगलाई अध्यापन अनुमतिपत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिए ।