गोरखाको प्रसिद्ध मनकामना मन्दिर १ फागुनदेखि खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) का संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएको मनकामना मन्दिर खुला गर्ने निर्णय गरेका हो ।
१ फागुनदेखि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यको मापदण्ड पालन गरी एकपटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने बैठकले निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न ६ माघमा मन्दिर प्रवेशमा रोक लगाएको थियो । यो अवधिमा पूजा गर्न आएका भक्तजन मन्दिर बाहिरबाटै दर्शन गरेर फर्काउनुपरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।
डिसिएमसीकै निर्णयका आधारमा छिट्टै मनकामना क्षेत्र विकास समितिको बैठक बोलाई मन्दिर खुलाउने निर्णय गर्ने तयारीमा रहेको उनको भनाइ छ । गुरुङका अनुसार मनकामना मन्दिरमा दैनिक एक हजारभन्दा बढी भक्तजन दर्शन गर्न आउने गर्दछन् । बिदाको दिन यो संख्या अभैm बढी हुन्छ । कोभिड जोखिम रहे पनि मनकामना केबलकार भने सञ्चालनमा छ ।