राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र पिरामिड शैलीको नेटवर्किङमा आबद्ध हुँदा लगानी डुब्न सक्ने र कानुनी झन्झटसमेत आउन सक्ने भन्दै यसमा नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले यससम्बन्धी चेनतामूलक सामग्री प्रकाशित गरेर यस्तो आग्रह गरेको हो । विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, वास्तविक मुद्राजस्तै कार्य गर्न सक्ने भए पनि विद्युतीय मुद्रा निजी क्षेत्रबाट जारी हुने र यसले भौतिक मुद्राको जस्तो कानुनी मान्यता नपाएकाले यसलाई सट्टेबाजी उद्देश्यको लगानीका रूपमा मात्र बुझ्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो मुद्राको लेखांकन कुनै बैंक वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा ब्लकचेन प्रविधिमार्फत हुने भएकाले यो अहिले प्रचलनमा भएको इ–मनी (मोबाइल बैंकिङलगायतमा हुने पैसा)भन्दा फरक रहेको राष्ट्र बैंकले बताएको छ ।
नेपालको विदेशी विनिमय (नियमित गर्ने) ऐनले क्रिप्टोकरेन्सीलाई मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकाले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणका रूपमा प्रयोग गर्न बन्देज लगाइएको छ । अन्य मुलुकले समेत मुद्राका रूपमा नभई डिजिटल सम्पत्तिका रूपमा मात्रै मान्यता दिइएको क्रिप्टोकरेन्सीलाई नेपालले यस्तो मान्यतासमेत दिएको छैन । त्यसैले बैंक खाता, भुक्तानी सेवाप्रदायक (इसेवा) लगायतका कुनै पनि माध्यमबाट यस्तो डिजिटल सम्पत्तिको खरिद गर्नु गैरकानुनी हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
अनौपचारिक माध्यमबाट हुन्डीको प्रयोग गरी भुक्तानी पठाई विदेशबाट क्रिप्टोकरेन्सी खरिद गर्दा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन र विदेशी विनिमय (नियमित गर्ने) ऐन उल्लंघन हुन्छ । यस्तोमा गरिएको लगानी आतंकवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नका लागि प्रयोग गर्ने माध्यम हुने गरेको देखिएकाले यसमा नलाग्न राष्ट्र बैंकले सुझाएको हो । विदेशमा बसोवास गर्ने नेपालीलाई समेत विदेशी विनिमय ऐन आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नका लागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्तबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी हुने बताइएको छ ।