सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् ।
बुधबार एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका हुन् । उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि गठबन्धन टुट्नेवाला छैन ।’
अध्यक्ष नेपालले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको पनि बताए । ‘अहिले भर्खरै मात्र पनि हामीले नेपाली कांग्रेसका सभापति, देशका प्रधानमन्त्री शेरबहादुर देउवाजी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र म आफैँ हामी तीनैजना बसेर अहिले भर्खरै छलफल गर्याैँ,’ उनले भने, ‘पत्रपत्रिकामा आएको समाचारबारे पनि सत्यतथ्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर, मनगढन्ते कुराहरू धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन । यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिबद्धता जनाएका छौँ ।’
अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकाले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरूपहरू देख्न पाइने पनि बताए । आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म गठबन्धन कायमै रहने उनको भनाइ थियो ।