नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पुल निर्माणका लागि दुवै देशका अधिकारीबीच समझदारी भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थिति थियो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर, भ्रमण स्थगित भएपछि अहिले हस्ताक्षर भएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । यसअघि नै दुवै देशका मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा पुल निर्माण अघि बढाउनेबारे स्वीकृत दिइसकेका छन् ।
पुल निर्माणपछि अहिले तुइनबाट ओहोरदोहोर गर्नुपर्ने समस्या हट्ने उनले बताए । मोटरेबल पुल नै निर्माण भएपछि दुई देशबीचको व्यापारमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । महाकाली नदीमा तीनवटा पुल निर्माणका लागि नेपालले भारतसँग धेरैअघिदेखि आग्रह गर्दै आएको थियो । त्यसमध्ये एउटा पुल निर्माणका लागि बाटो खुलेको सचिव श्रेष्ठले बताए । यसअघि नेपाल सरकारले आफ्नै लागतमा पुल निर्माण गर्छौँ भन्दासमेत समझदारी हुन सकेको थिएन । यसपटक उत्तराखण्ड सरकारको लगानीमा पुल निर्माण हुन लागेको हो ।
पुलको लागत अझै सार्वजनिक भएको छैन । डिजाइनको काम भने सकिइसकेको सचिव श्रेष्ठले जानकारी दिए । अब खरिद प्रक्रिया थालिने र निर्माण चाँडै सुरु हुने उनको भनाइ छ । दुई देशबीच समझदारी नभएसम्म खरिद प्रक्रिया अघि बढाउन मिल्दैन । पुल निर्माणमा नेपालले आवश्यक जग्गा उपलब्ध गराउने, निर्माण सामग्री राख्न र निर्माणमा संलग्न भएका मानिसलाई अवरोध नगरी सहजता बनाउने काम गर्नेछ । ‘त्यसबाहेक नेपालले केही गर्नुपर्दैन,’ उनले भने ।