अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, लिथुआनिया, कोसोभोलगायत देशद्वारा बेइजिङ ओलम्पिक कूटनीतिक रूपमा बहिष्कारको घोषणा, जापानले आफ्ना कुनै पनि उच्च अधिकारी नपठाउने
‘बेइजिङ विन्टर ओलम्पिक– २०२२ ले चीनको कायाकल्प साकार मात्र पार्ने छैन, मुलुकको असल छवि र मानवजातिको साझा भविष्य निर्माणप्रतिको हाम्रो प्रतिबद्धतालाई पनि उजागर गर्नेछ,’ चिनियाँ राष्ट्रपति सीको यो उद्घोषले भन्छ– बेइजिङमा ४–२० फेब्रुअरीसम्म आयोजना हुने शीतकालीन ओलम्पिकमा चीनको असल छवि र महाशक्तिको ओज देखिनेछ । सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक बेइजिङमा आयोजनाको समय र अहिलेको चिनियाँ आत्मविश्वासमा आकाश–पातालको फरक छ । उतिखेर चीन आलोचकहरूसँग डराउँथ्यो, अहिले निर्भीक छ ।
कूटनीतिक बहिष्कार र विरोध
सिन्जियाङ प्रान्तका उइगुरु मुसलमानमाथिको अमानवीय व्यवहार एवं आमसंहार, एक उच्च चिनियाँ अधिकारीमाथि टेनिस खेलाडी पेङ सुईले लगाएको यौनहिंसाको आरोपलाई दबाएको जस्ता घटना उछालेर तिब्बती, उइगुरु, दक्षिणी मंगोलियाली, हङकङ एवं ताइवानी अधिकार समूहहरूले ‘ह्यासट्याग नोबेइजिङ २०२२’ अभियान चलाएका छन् । यी समूह केही पश्चिमा मुलुकको कूटनीतिक बहिस्कारलाई स्वागत गर्दै खेलाडी, कर्पाेरेट स्पोन्सर एवं ठूला प्रसारण संस्थामाथि चीनको विरोधका लागि दबाब बढाउने प्रयास गरिरहेका छन् ।
अमेरिकी विरोधका बाबजुद बेइजिङ ओलम्पिकका अधिकांश मुख्य प्रायोजक कोकाकोला, प्रोक्टेर एन्ड ग्याम्बल, एयरनव, इन्टेल र भिसाजस्ता अमेरिकी कम्पनी नै छन् ।
अहिलेसम्म अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, लिथुआनिया, कोसोभोलगायत अमेरिकाका सहयोगी मुलुकले बेइजिङ ओलम्पिक कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेका छन् । कूटनीतिक बहिस्कार घोषणा नगरे पनि जापानले यो ओलम्पिकमा आफ्ना कुनै पनि उच्च अधिकारी नपठाउने जनाएको छ । यसो भए, यी दुई छिमेकीबीच कायम तनाव अझै चर्कनेछ । इयूले पनि बेइजिङ ओलम्पिकबारे साझा कूटनीतिक अडान कायम गर्ने प्रयास गरिरहे पनि, इटाली र फ्रान्स भने बहिस्कारको पक्षमा छैनन् । ‘मलाई लाग्दैन, हामीले सबै विषयलाई राजनीतीकरण गर्नुपर्छ’, फ्रान्सेली राष्ट्रपतिको भनाइ छ । बेइजिङ ओलम्पिकविरोधी मोर्चामा वर्ल्ड टेनिस एसोसिएसन (डब्लुटिए) पनि थपिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को नियम ५० ले खेलको अवधि भरी हुने कुनै पनि राजनीतिक विरोध प्रदर्शन वा प्रोपोगान्डालाई गम्भीर रूपले प्रतिबन्धित गर्छ । तर, प्रेस एरिया, मिक्स्ड जोन र सोसियल मिडियामा अभिव्यक्ति स्वतन्त्रतालाई भने प्रतिबन्धित गर्दैन । त्यसैले ती स्थानबाट चीनको आलोचना गर्न खेलाडी, प्रेस जगत्लगायतलाई डब्लुटिए र अधिकार समूहहरूले आह्वान गरेका छन् । यसैबीच, चीनले बहिस्कार र विरोधका आग्रहप्रति नझुक्न ओलम्पिक प्रसारक एवं प्रायोेजकहरूलाई घुुमाउरो चेतावनी दिएको छ । चीन सरकारले यस्ता सबैखाले आरोप अस्वीकार गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले ओलम्पिकको भावनालाई कुल्चिएको र त्यस गलत कार्यको मूल्य तिर्नुपर्ने चेतावनी नै दिएको छ ।
ओलम्पिक कूटनीतिक बहिस्कार घोषणा गरेका मुलुकका उच्च अधिकारी खेल समारोहमा सहभागी नभए पनि ती मुलुकबाट खेलाडी र खेल अधिकारीहरू भने सहभागी हुनेछन् । अमेरिकाले यो ओलम्पिकमा ४० वर्षीय एक खेलाडीसहित दुई सय २२ एथलेटहरू चीन पठाउँदै छ । अमेरिकी विरोधका बाबजुद बेइजिङ ओलम्पिकका अधिकांश मुख्य प्रायोजक कोकाकोला, प्रोक्टेर एन्ड ग्याम्बल, एयरनव, इन्टेल र भिसालगायत अमेरिकी कम्पनी नै छन् । प्रायोजकहरूमा जापानी कार निर्माता टोयोटादेखि जर्मन वित्तीय सेवा प्रदायक एलियान्ज र फ्रान्सेली सूचना प्रविधि कम्पनी एटोससम्म छन् ।
चीनको छवि चम्काउन पश्चिमा टिकटकर
जापानको टोकियोमा सम्पन्न सन् २०२० को गृष्मकालीन ओलम्पिकलाई प्रसारण माध्यमबाट तीन अर्बभन्दा बढी दर्शकले हेरेका थिए । बेइजिङ ओलम्पिकलाई पनि विश्वका अर्बाैं मानिसले हेर्ने अपेक्षा चीनको छ । त्यसैले चीन दृश्यमार्फत चीनको वैभव, सफलता र आत्माविश्वास देखाउन लालायित छ ।
शीतकालीन ओलम्पिकको अवधिभर चीनबारे सकारात्मक सामग्री प्रवाहित गर्न चीन सरकारले पश्चिमी मुलुकका पिआर प्रोफेसनलहरू परिचालन गर्दै छ । बेइजिङ ओलम्पिकको कूटनीतिक बहिस्कारलाई मध्यनजर गर्दै चीनले टिकटक, इन्स्टाग्राम र ट्वीटरजस्ता सोसल मिडियामा लाखाैँ फलोअर्स भएका सोसियल मिडिया आर्मी हायरको रणनीति अपनाएको छ । गत नोभेम्बरमा न्युयोर्कस्थित चीनका कन्सुलेट जनरलले चीन र ‘२०२२ बेइजिङ विन्टर ओलम्पिक’को प्रवद्र्धनमा सघाउन अमेरिकी कम्पनी भिप्पी मिडियासँग तीन लाख डलरको सम्झौता गरे । सम्झौताअनुसार भिप्पी मिडियाले सामाजिक सञ्चारमाध्यमका लागि प्रचारप्रसार सामग्री उत्पादन एवं प्रवाहको बन्दोबस्त मिलाइरहेको छ । भिप्पीले उत्पादन गर्ने ७० प्रतिशत सामग्री बेइजिङको इतिहास, संस्कृति, जीवनशैलीसम्बन्धी रहनेछन् । २० प्रतिशत सामग्रीले चीन–अमेरिका सम्बन्धका राम्रा विषय र सहकार्यहरू उजागर गर्नेछन् ।
यद्यपि, चीनले आमविदेशी माझ आफ्नो छवि सुधार्न सञ्चारमाध्यममार्फत एक दशकअघिदेखि नै काम गरिरहेको हो । यसका लागि अमेरिकामा सन् २०२० मा ६ करोड र २०२१ मा दुई करोड ३० लाख डलर खर्च गरेको डिसीस्थित संस्था ओपन सेक्रेटको दाबी छ । सम्झौतामा विस्तृत सोसल मिडिया रणनीति बारे उल्लेख छ । फलोअर्स र प्लेटफर्मको क्रियाकलापलाई आधार बनाएर इन्फ्ल्युएन्सरहरूलाई माइक्रो, मिडलेबल इन्फ्लुएन्सर र सोसियल पब्लिसरमा वर्गीकृत गरेर खटाइँदै छ । वर्गीकृत इन्फ्ल्युएन्सरहरूले आ–आफ्ना दर्शक लक्षित गरेर तीनदेखि पाँचवटा प्रभावकारी सामग्री तयार गर्नेछन् ।
राष्ट्रपति सीले खेलस्थलहरूको निर्माण प्रगतिको अनुगमनका लागि पाँचपटक भ्रमण गरिसकेका छन् । ओलम्पिकका लागि चीनले तीन अर्ब ९० करोड डलर खर्च गर्दै छ ।
त्यसलाई प्रवाहित गरिनेछ । ‘हामीले ओलम्पिकको गरिमा र मर्यादालाई कायम राख्न मात्र खोजिरहेका हौँ,’ भिप्पी मिडियाका प्रमुख विपिन्दर जैसवालले बेलायती मिडियासँग भनेका छन्, ‘बहिस्कारले आपसी समझदारीलाई सहयोग गर्दैन, म बहिस्कारलाई समर्थन गर्न सक्दिनँ । यो अप्रभावकारी, असान्दर्भिक र अनावश्यक उपाय हो । अमेरिकाको न्याय विभागमा दर्ता यो सम्झौता नोभेम्बरबाट लागू भएर सन् २०२२ को मार्चमा शीतकालीन प्याराओलम्पिकको समाप्तिसँगै समापन हुनेछ ।
कहाँ के–कस्ता प्रतिस्पर्धा हुँदै छन् ?
इन्डोर आइस इभेन्ट्स बेइजिङस्थित राष्ट्रिय रंगशाला वर्डस् नेस्टलगायतका रंगशाला र वाटर क्युबजस्ता चीनले सन् २००८ को गृष्मकालीन ओलम्पिकमा तयार गरेका पूर्वाधारहरूमा (आइसमा खेलिने खेल, उद्घाटन र समापन समारोह) हुनेछन् । ग्रेटर बेइजिङको उत्तरतर्फ अवस्थित यान्किङको हिमाली क्षेत्रमा अल्पाइन स्किइङ, बबस्लेड र लुगका स्पर्धा हुनेछन् । यान्किङ बेइजिङबाट ७५ किलोमिटरको दूरीमा छ ।
स्किइङ र स्नोबोर्डिङका अधिकांश खेल १८० किलोमिटर परको जाङजियाकुमा हुनेछन् । यान्किङ र जाङजियाकुका खेलस्थलमा एकदम थोरै मात्र हिँउ परेकाले त्यहाँ चीनले कम्तीमा १२ लाख घनमिटर कृत्रिम हिउँ छर्नेछ । यहाँका नांगा हिमालमा सातवटा रेसकोर्स निर्माण गरिएका छन् । गत महिनादेखि नै रेसकोर्स र त्यस नजिकका स्थल र भर्खरै लगाइएको जंगल क्षेत्रलाई समेत पर्याप्त हिउँले ढाक्ने काम भइरहेको छ । कृत्रिम हिउँ बनाउने ठुल्ठूला मेसिनले दिनरात हिउँ छर्किरहेका छन् । हिउँ बनाउन पर्याप्त पानी आपूर्तिका लागि पाइपलाइन र रिजर्भ भायरहरू बनाइएका छन् । यहाँको भू–दृश्यलाई साँच्चै हिमाली क्षेत्रजस्तो देखाउने चीन हरसम्भव प्रयास गरिरहेको छ । त्यसका लागि यहाँका नांगा भिरमा दशौँ हजार रूख रोपिएका छन् ।
सोचीमा हरेक घन्टा एउटा ओलम्पिक पौडीपोखरीबराबरको पानी हिउँ बनाएर छर्कन खर्च गरेको छ । त्यसैलाई देखाएर हिउँ निर्माणको वातावरणीय प्रभावलाई लिएर पनि चीनको आलोचना भइरहेको छ । यसअघि सोचीमा पनि एक हजार फुटबल मैदान ढाक्न पुग्ने हिउँ बनाएर खेलस्थलहरूमा हालिएको थियो । गोवी मरुभूमिनजिकका यी स्थानमा पनि अधिकतम २–८ इन्चसम्म मात्रै हिउँ पर्छ ।
बेइजिङ, यान्किङ र जाङजियाकु तीनै खेलस्थललाई उच्च–गतियुक्त रेल र राजमार्गहरूले जोडिएको छ । चीनले यो ओलम्पिकको पूर्वाधार निर्माण र तयारी राष्ट्रपति सीको प्रत्यक्ष निगारानीमा सात वर्षदेखि तयारी गरिरहेको छ । ओलम्पिक आयोजना हात पारेलगत्तै चिनियाँ राष्ट्रपति सीले शीतकालीन ओलम्पिकको खेलस्थललाई अद्भुत बनाउने उद्घोष गरेका थिए । ओलम्पिकका लागि चीनले तीन अर्ब ९० करोड डलर खर्चनेछ । सन् २०१४ मा रसियाको सोचीमा र सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा शीतकालीन ओलम्पिक आयोजना गर्दा दुवैले लगभग १३ अर्ब डलर खर्चिएका थिए । राष्ट्रपति सीले खेलस्थलहरूको निर्माण प्रगतिको अनुगमनका लागि पाँचपटक भ्रमण गरिसकेका छन् । उनले गत जनवरीमा ती स्थानमा अनुगमन गरेका थिए ।
ओलम्पिकमा संक्रमण छेक्न के–के गर्दै छ चीन ?
कोरोना भाइरसको अत्यन्त संक्रामक ओमिक्रोन भेरियन्टको लहर विश्वव्यापी बनिरहेका वेला बेइजिङमा विन्टर ओलम्पिकको तयारी सकिएको छ । कोभिड संक्रमणविरुद्ध चीनले सुरुदेखि अपनाउँदै आएको सख्त रवैया ओलम्पिकमा अझ कडा बनाउनेछ । संक्रमणको प्रसार रोक्न, पूरै ओलम्पिकलाई बाँकी विश्वबाट अलग गरेर सिलबन्दीमा राख्नेछ । उसले सहभागी खेलाडी, खेल अधिकारी, स्वयंसेवकलगायत तीसाैं हजारलाई सुरक्षाको बन्द प्रणालीभित्र राख्ने योजना अलमल गर्दै छ । पूर्ण खोप लगाएका वा २१ दिन क्वारेन्टिन पूरा गरेका खेलाडी वा खेलसँग सम्बन्धित व्यक्तिलाई मात्र कडा परीक्षणबाट गुजारेर यी सुरक्षित ‘बबल्स’भित्र पु¥याउनेछ । खेलाडी, अवलोकनकर्ता र मिडियाकर्मीहरूलाई तीन फरक बबल्समा राखिनेछ ।
उनीहरूको दैनिक परीक्षण हुने र हरबखत मास्क पहिरिनुपर्नेछ । एकपटक भित्रिसकेपछि खेल अवधिभर कसैले पनि निश्चित बबल्स छाड्न पाउने छैनन् । स्थानीय सहयोगी कामदार, स्वयंसेवक एवं सवारीचालकहरूसमेत सबै सिलबन्द बबल्समा रहनेछन् । यसबीच उनीहरूले बाहिरी विश्वसँग भौतिक सम्पर्कमा रहन पाउने छैनन् । यो व्यवस्था ओलम्पिकका लागि तय हाउजिङ, हस्पिटल र खेलस्थलहरूमा मात्र होइन, यात्रा व्यवस्थामा पनि लागू हुनेछ । एयरपोर्टदेखि उच्च गतिको रेल प्रणाली र राजमार्गसम्मलाई बबल्समा समेटिएको छ । अग्रभागमा रातो विशेष चिह्न धारण गरेका ओलम्पिकका सवारीसाधन कुनै सडक दुर्घटना परे सर्वसाधारणलाई त्यसको सम्पर्कमा नजान बेइजिङका ट्राफिक अधिकारीहरूले भनेका छन् । आधिकारिक रूपले बिहीबारबाट मात्रै खुलेका ‘बेइजिङ– २०२२ ओलम्पिक भिलेज’हरूले विश्वका ९० राष्ट्रिय ओलम्पिक कमिटीबाट आउने करिब दुई हजार नौ सय एथलेट्सलाई स्वागत गर्नेछ ।
यो ‘क्लोज्ड लुप’मा ओलम्पिकमा प्रयोग हुने स्टेडियम र सम्मेलन केन्द्रहरूका साथै ७० भन्दा बढी होटेल समावेश रहनेछन् । सहभागी ओसारपसारका लागि चार हजार सवारीसहित अलग्गै यातायात प्रणाली हुनेछ । सडकमा पनि ओलम्पिकका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ, जसमा ओलम्पिकबाहेकका अन्य सवारी गुड्न पाउने छैनन् । त्यसमा प्रवेश गर्नेले कडा जरिवाना तिर्नुपर्नेछ । बेइजिङ आइपुगेकाहरूमा सुरुमै कोभिडका केस पहिचान हुनुले ‘क्लोज्ड लुप सिस्टम’ले काम गरेको संकेत देखाएको आइओसीको धारणा छ । ओलम्पिक नजिकिएसँग चीनले संक्रमणका केस पाइएका केही सहरमा लकडाउन गरेर शून्य संक्रमण नीति अनुसरण गरिरहेको छ । ४–२२ जनवरीमा बेइजिङ आइपुगेका दुई हजार पाँच सय ८६ व्यक्तिमध्ये ७२ मा संक्रमण भेटिएको र २३–२८ जनवरीसम्म आइपुगेका दुई हजार २२ एथलेट र दुई हजार पाँच सय ५८ अन्य सहभागीमध्ये ७८ विमानस्थलमै कोभिड पहिचान भएको आयोजकले जनाएको छ ।
शीतोष्ण जलवायु नभएको र सन् २०१८ को शीतकालीन ओलम्पिक पनि एसियामै हुने भएकाले बोलकबोलको सुरुमा चीनलाई दाबेदार ठानिएको थिएन । युरोपेली सहरहरू क्राको, ओस्लो एवं स्टकहोमलगायतले कमजोर जनसमर्थन र खर्चिलो लागत देखाउँदै हात झिकेपछि बाँकी रहे बेइजिङ र कजाखस्तानको अलमाटी । सन् २०११ मा एसियन शीतकालीन खेल आयोजना गरे पनि ठूला विश्वव्यापी खेल आयोजनाको अनुभव नभएको अलमाटीलाई पन्छाउँदै बेइजिङले ओलम्पिक आयोजनको अवसर हात पार्यो । शीतकालीन बेइजिङ ओलम्पिकको औपचारिक उद्घाटन समारोह ४ र समापन २० फेब्रुअरीमा हुनेछ । कर्लिङलगायतका केही खेल उद्घाटनको दुई दिनअघि २ फेब्रुअरीबाटै सुरु हुनेछन् ।
– एजेन्सीको सहयोगमा