Skip This
कांग्रेसले बनायो ३७ सदस्यीय  केन्द्रीय कार्यसम्पादन समिति, कोइरालादेखि पौडेलसम्म समेटिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Thursday, 19 September, 2024
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको भर्चुअल बैठक । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार o६:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसले बनायो ३७ सदस्यीय  केन्द्रीय कार्यसम्पादन समिति, कोइरालादेखि पौडेलसम्म समेटिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार o६:२४:oo

१४औँ महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पार्टीको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । 

कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुने व्यवस्था छ । सभापति देउवाको निर्देशनबमोजिम महामन्त्री गगनकुमार थापाले बैठकमा नाम प्रस्तुत गरेका थिए, जसलाई भर्चुअल बैठकले अनुमोदन गरेको थियो । 

कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार सदस्य रहेका छन् । 

त्यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने विधानमा व्यवस्था छ । तर, बैठकमा २४ को नाम मात्रै प्रस्तुत भएको थियो । 

कार्यसम्पादन समितिमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् । 

संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता कार्यसम्पादन समितिको पदेन सदस्य हुन्छन । कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता हाल सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ । केन्द्रीय सदस्य मनोनयन हुन बाँकी रहेकाले बाँकी सदस्य भने पछि थप हुनेछन् । 

कार्यसम्पादन समिति सदस्य तथा इतर समूहका केन्द्रीय सदस्य बलबहादुर केसीले समयमै कार्यसम्पादन समिति गठन भएको र यसलाई सकारात्मक लिनुपर्ने बताए । ‘सिंगो कार्यसमिति बैठक नबसेको समयमा छिटो–छरितो रूपमा कार्यसम्पादनको अधिकार विधानले नै कार्यसम्पादन समितिलाई दिएको छ । समितिका सदस्य चयनको आधारमा कुनै टिप्पणी छैन,’ उनले भने । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्ने विधानमा व्यवस्था छ । विधानले कार्यसम्पादन समितिलाई कार्यसमितिको बैठक नबसेको समयमा कार्यसमितिको काम गर्ने जिम्मेवारी तोकेको छ । तर, कार्यसम्पादन समितिले गरेका हरेक निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदन गराउनुपर्ने विधानमा व्यवस्था रहेको छ । यसबाहेक कार्यसम्पादन समितिले पार्टीका केद्रीय विभागको कामको समीक्षा गर्ने, समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्न पाउँछ ।

अझै अपूर्ण केन्द्रीय कार्यसमिति
महाधिवेशनबाट पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भए पनि यो अझै अधुरो छ । ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरेका छन् । थप २० केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छ । केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्षको चयन र प्रवक्ता तोक्न पनि बाँकी छ । गत मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि दुईपटक बसेको छ । कोभिड– १९ को बढ्दो संक्रमणका कारण तेस्रो बैठक भर्चुअल माध्यमबाट भएको हो ।