मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १४ शुक्रबार ०९:४९:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमणदर घटे पनि मृत्यु हुने बढे

Read Time : > 2 मिनेट
२०७८ माघ १४ शुक्रबार ०९:४९:००

दैनिक ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर एक सातायता स्थिर

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको महामारी केही दिनदेखि स्थिर भएको छ । दैनिक ५० प्रतिशत माथि पुगेको संक्रमणदर एक सातायता स्थिर अवस्थामा छ । पाँच दिनयता संक्रमण दर घट्दो क्रममा देखिएको सरकारले दैनिक सार्वजनिक गरेको तथ्यांकले स्पष्ट पारेको छ । 

स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण ह्वात्तै नघटेको बताए । ‘केही दिनयता ह्वात्तै केस बढेको देखिएको छैन,’ उनले भने, ‘यही अवस्थाले कोरोना उच्च बिन्दुमा पुग्न अझै केही समय लाग्ने वा यही अवस्थाबाट ओरालो लाग्ने अनुमान लगाएका छौँ ।’ संक्रमणदर स्थिर अवस्थामा रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत ८ माघमा सबैभन्दा धेरै संक्रमणदर थियो । सो दिन ५० प्रतिशत संक्रमण पुष्टि भएको थियो । तर, त्यसयता क्रमशः संक्रमणदर घट्दै गएको देखिन्छ । ८ माघमा १६ जनाको मृत्यु भएको थियो । मृत्यु हुने तीनजनाबाहेक कसैले पनि कोभिडविरुद्धको खोप लगाएका थिएनन् ।

अल्फा हेल्थ केयर एन्ड डायोग्नोस्टिक सेन्टरका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा.हिमांशु रेग्मी पनि संक्रमण दैनिक रूपमा घट्ने क्रममा रहेको बताउँछन् । त्यसैले अझै केही साता स्वास्थ्यको मापदण्डलाई पूर्ण रूपमा पालना गर्नुपर्ने उनको भनाइ छ । ‘दैनिक ल्याब परीक्षणमा संक्रमणदर घट्न थालेको छ,’ उनले भने, ‘तर, स्वास्थ्य मापदण्ड पालना अझै गर्न जरुरी छ ।’ संक्रमणदर घटेको देखिए पनि मृत्यु बढेकाले अझै जोखिम उत्तिकै रहेको उनले बताए । बिहीबार कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

एक करोड पाँच लाखभन्दा बढी खोप मौज्दात
स्वास्थ्य मन्त्रालयका अनुसार हाल एक करोड पाँच लाख ६७ हजार सात सय ४६ मात्रा खोप मौज्दात छ । ७२ लाख ३९ हजार चार सय ३९ मात्रा देशभर वितरण भएको छ । ३३ लाख बढी केन्द्रीय भण्डारण स्टोरमा मौज्दात छ । तर, भेरोसेलको  खोप भने कम छ । भेरोसेल खोप सकिँदै गएपछि सरकारले प्रयोगमा रोक लगाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनभित्र थप भेरोसेल खोप आउनेछ । 

भेरोसेल खोप देशभर ६ लाखभन्दा केही बढी मात्रै देखिएको छ । केन्द्रीय खोप भण्डारण स्टोर पथलैयामा छैन भने टेकुमा एक लाख ३१ हजार मौज्दात देखिएको छ । भेरोसेल पाँच लाख ९५ हजार तीन सय १७, जोन्सन ६ लाख ६० हजार चार सय ५०, कोभिसिल्ड ३३ लाख १० हजार ९०, फाइजर तीन लाख ५४ हजार तीन सय ७२ र मोर्डना २३ लाख १९ हजार दुई सय १० मात्रा मौज्दात छ । हालै आएको ३३ लाख २८ हजार तीन सय ६ मात्रा केन्द्रीय खोप भण्डारण स्टोर टेकुमा छ । 

संक्रमण घट्ने क्रममा छ, एक महिना सचेत बनौँ : डा. हिमांशु  रेग्मी, कन्सल्टेन्ट प्याथोलोजिस्ट, अल्फा हेल्थ केयर 

डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको फैलावट सात गुणाभन्दा बढी देखिएको छ । जुनवेला विद्यालय सञ्चालन थिए, ठुल्ठूला कार्यक्रम चलेका थिए त्यही समयमा ओमिक्रोनले फैलिने मौका पाएको देखियो । त्यसैले दैनिक संक्रमणदर ह्वात्तै बढ्यो । अहिले विद्यालय बन्द भएको छ ।

ठूला कार्यक्रम रोकिएका छन् । यातायातमा जोरबिजोर लागू छ । यसले भिड मात्रै नियन्त्रण गरेको छैन, प्रयोगशाला परीक्षणको नतिजा हेर्दा संक्रमणदर पनि क्रमशः घटाएको देखियो । एक महिना जति कडाइका साथ स्वास्थ्य मापदण्डको पालना भए एक महिनापछि केस अनुमान गर्न सकिने गरी घट्ने छ ।

ओमिक्रोनले घाँटीको माथिलो ग्रन्थीमा मात्रै असर गरेको देखिन्छ । यो सामान्य रुघाखोकीजस्तो मात्रै भएकाले विगतमा जस्तो आतिनु पर्दैन । तर, जाडो समय भएकाले वृद्धवृद्धा र बालबालिकालाई गम्भीर असर गर्न सक्छ । 

तीन करोडभन्दा बढी डोज खोप प्रयोगमा
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ । कम्तीमा एक मात्रा लगाउने एक करोड ६४ लाख ५८ हजार चार सय ७५ र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० छन् ।

अतिरिक्त डोज लगाउनेको संख्या दुई लाख ८२ हजार सात सय २४ छ । सरकारले नेपालको कुल जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ जनालाई आधार बनाएर गरेको तथ्यांक जनसंख्या घटेपछि फेल खाएको छ ।

पुरानै जनसंख्यालाई आधार बनाउँदा सरकारले कोभिडविरुद्धको खोप लगाउने लक्षित जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जना रहेको देखाएको छ । उक्त संख्यामध्ये एक मात्रा खोप लगाउन बाँकी अझै ३४ लाख ६३ हजार ६८९ जना छन् ।