मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ १४ शुक्रबार ०८:४१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा ! रारा गोल्डकप : मनाङ मर्स्याङ्दी अन्तिम दुईमा

Read Time : > 2 मिनेट
२०७८ माघ १४ शुक्रबार ०८:४१:००

मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबसँग बिहीबार भएको खेलमा जित हासिल गरेसँगै मनाङले अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि एपिएफ क्लब र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ । मनाङले बिहीबार भएको अन्तिम सेमिफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गरेको हो । योसँगै मनाङ प्रतियोगितामा ११औँ पटक फाइनल प्रवेश गरेको छ भने ६ पटक उपाधिसमेत हात पारिसकेको छ । आर्मी यसअघि चारपटक फाइनल पुगे पनि उपाधि हात पार्न भने सफल भएको छैन । ०७२ मा सम्पन्न प्रतियोगिताको १४औँ संस्करणको फाइनलमा १–० गोलले र १८औँ संस्करणको सेमिफाइनलमा ३–२ गोलले मनाङसँग आर्मी पराजित भएको थियो । 

प्रतियोगितामा यसअघि दुवै टोली बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेका थिए । आर्मीले क्वार्टरफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले र नेपाल पुलिस क्लबलाई २–० गोलले पाखा लगाउँदै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णयका लागि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटको खेलमा समेत दुवै टोलीबाट गोल नभएपछि विजेताको छिनोफानो ट्राइब्रेकरमार्फत भएको थियो । 

ट्राइब्रेकरमा आर्मीका कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए । युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले विफल पारिदिएका थिए भने दीपक गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो । यसैगरी मनाङका लागि फ्रान्किलन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले ओलाडिपो आफिजले गोल गरका थिए । दोस्रो प्रहार गरेका विश्व अधिकारीको प्रहार भने विपक्षी किपर विकेश कुथुले विफल पारिदिएका थिए ।

पेनाल्टी खेर
खेलमा मनाङले सुरुवाती अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । खेलको नवाैँ मिनेटमा पाएको पेनाल्टी मनाङले सदुपयोग गर्न सकेन । आर्मीका युद्ध शाहीको पेनाल्टी क्षेत्रमा ‘ह्यान्ड’ भएपछि मुख्य रेफ्री श्याम दनुवारले मनाङलाई पोनाल्टीको अवसर दिएका थिए । कप्तान विमल रानाले गरेको पेनाल्टी प्रहार क्रसबारमाथिबाट बाहिरिँदा टोलीलाई सुरुवाती अग्रता दिलाउनबाट चुकेका थिए । 

खेलमा दुवै टोली सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका थिए । दुवै टोलीका किपरको उत्कृष्ट प्रदर्शनका कारण सबै अवसरहरू सदुपयोग हुन सकेनन् । खेलको ३४औँ मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी क्षेत्रबाट हानेको प्रहार विपक्षी किपरले पन्च गर्दै विफल पारिदिएका थिए । ३८औँ मिनेटमा सोमिडेको हेड क्रसबारनजिकैबाट बाहिरिँदा मनाङले खेलमा दोस्रोपटक अग्रता लिने अवसर गुमायो । ५१औँ मिनेटमा डिबक्सभित्रबाट ओलावालेले हानेको प्रहार विपक्षी किपरले डाइभ गर्दै मुस्किलले विफल पारिदिएका थिए । ५८औँ मिनेटमा विमल पाण्डेले पेनाल्टी क्षेत्रबाट गरेको हेड प्रहार विपक्षी खेलाडी आदित्य चौधरीले विफल पारिदिएका थिए ।

अवसरको सदुपयोग गर्न सकेनौँ : राजु तमाङ, प्रशिक्षक, आर्मी
विपक्षी टोली बलियो रहेकाले जितका लागि धेरै मिहिनेत आवश्यक थियो । पहिलो रोजाइका खेलाडी चोटग्रस्त हुँदा दोस्रो रोजाइका खेलाडी मैदान उतार्दा तालमेल मिलेन । पाएका अवसरहरूसमेत सदुपयोग गर्न सकेनौँ र हार्‍यौँ । जितका लागि खेलाडीले मिहिनेत गरेका हुन्, तर पनि असफल भयौँ, खेलप्रति भने सन्तुष्ट छु । 

जितको श्रेय किपरलाई दिन्छु : फुजा टोपे, प्रशिक्षक, मनाङ 
आर्मीलाई जित्न सहज भएन, विपक्षी टोली राम्रो भएकाले खेल टफ बन्यो । सुरुमा पाएको पेनाल्टी खेर जाँदा खेल लम्बिन पुग्यो, पेनाल्टी खेर नगएको भए खेल निर्धारित समयमै सकिने थियो । खेलाडीले राम्रो खेल प्रदर्शन गरे र पछि जित्याैँ पनि । आजको जितको श्रेय किपरलाई दिन चाहन्छु ।