मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १४ शुक्रबार ०८:१७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघको ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १४ शुक्रबार ०८:१७:००

नेविसंघले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएको छ । त्रिविका सम्बन्धनप्राप्त क्याम्पसहरूले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीबाट समेत ठूलो रकम लिएकाले कारबाही गर्न माग गर्दै नेविसंघले बिहीबार तालाबन्दी गरेको हो । आन्दोलनरत विद्यार्थीका अनुसार सम्बन्धनप्राप्त क्याम्पसहरूले छात्रवृत्ति पाएका विद्यार्थीबाट दुईदेखि पाँच लाखसम्म असुलेको पाइएको छ । 

विद्यार्थीलाई लुट गर्ने क्याम्पसहरूलाई तत्काल कारबाही गर्न आन्दोलन संयोजन गरेका शंकरदेव क्याम्पसका नेविसंघ नेता दीपक ओझाले बताए । त्रिविअन्तर्गतका क्याम्पसले सम्पूर्ण विद्यार्थी संख्याको १० प्रतिशतलाई शतप्रतिशत छात्रवृत्ति दिनुपर्ने मागमा यसअघि त्रिविले नेविसंघसँग सहमति गरेको भन्दै ओझाले कार्यान्वयनको माग गरे ।

ती १० प्रतिशत विद्यार्थीबाट परीक्षा शुल्क, सेवा शुल्क र रजिस्ट्रेसन शुल्क मात्र लिनुपर्नेमा दुई लाखदेखि पाँच लाखसम्म लिएको प्रमाण आफूहरूसँग रहेको उनले दाबी गरे । नेविसंघले व्यवस्थापन संकायको भर्नासम्बन्धी कार्यविधि पालना नगरी सिम्याटको रिजल्ट सार्वजनिक नहुँदै विद्यार्थी भर्ना गर्ने क्याम्पसहरूलाई कारबाही गर्नसमेत माग गरेको छ । त्रिविका आंगिक क्याम्पसहरू शंकरदेव, नेपाल कमर्स, पब्लिक युथ, सरस्वतीका नेविसंघ नेताहरूको पहलमा तालाबन्दी भएको हो ।