
कोभिडको तीव्र संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन् । विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा कतै त बन्द नै भएका छन् । कतिपय कार्यालय सञ्चालन गर्न नसक्ने भएपछि बन्दको सूचना निकालेका छन् । कतिपय कार्यालय बन्द भएर पुनः सुचारु भएका छन । तर, बन्दपछि खुलेका ती कार्यालयको समेत सेवा प्रभावित छन् ।
त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयबाट दिने सेवा मंगलबारदेखि शुक्रबारसम्म बन्द छ । ‘धेरै कर्मचारी बिरामी भएर काम गर्न नसक्ने अवस्था भएपछि केही दिनका लागि बन्द गर्न लागेको हो,’ डिन प्रा.डा. कुसुम शाक्यले भनिन्, ‘पब्लिकसँग प्रत्यक्ष सम्पर्क हुने भएको बढी जोखिम रहेको छ ।’
मानविकी संकायमा पनि कोभिड संक्रमित धेरै भएपछि सेवा रोक्ने तयारी छ । एक कर्मचारीले भने, ‘हरेक कोठामा कम्तीमा एक–एकजना बिरामी देखिन्छन्, जाँच नगरेका कतिपयमा कोभिडका लक्षण देखिएका छन् ।’
शिक्षाशास्त्र संकायको डिन कार्यालय पनि तीन दिन बन्द भएर सोमबारदेखि सञ्चालनमा आएको छ । डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले बिरामी भएका कर्मचारी घरमा बस्ने र सक्नेबाट काम चलाउने गरी कार्यालय सुचारु भएको बताए । कोभिडका बिरामी देखिएर कार्यालय बन्द गर्दा झनै समस्या हुने भएकाले सक्नेबाट कार्यालय सञ्चालन गर्न लागेको बताए । डिन बुढाथोकीले भने, ‘संक्रमितलाई बिदा दिने र सक्नेबाट सेवा दिने गरी कार्यालय सुचारु भएको छ, कर्मचारी बिरामी भएर कम हुँदा सेवा प्रभावित भएको छ ।’
त्रिविमा अहिले परीक्षा नियन्त्रण कार्यालयमा धेरै कर्मचारी कोभिड संक्रमित भएपछि जनसम्पर्क बन्द गरेको थियो । विद्यार्थीका काम सुरु भएलगत्तै केही शाखामा कर्मचारीमा कोभिड पजिटिभ देखिएपछि समस्या भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेश ओझाले पनिकाका धेरै कर्मचारी कोभिड संक्रमित भएको बताए । ‘तीन दिन जनसम्पर्क बन्द गर्यौँ, तर सेवाग्राहीको काम रोक्न हुँदैन भनेर थोरै कर्मचारीबाट पनि सेवा दिइरहेका छौँ,’ उनले भने, ‘शाखामा कोभिड संक्रमित पाइए पनि संक्रमितलाई घरमै बस्न दिएर अरूबाट काम भइरहेको छ, शाखा बन्द गरेर नहुने भयो ।’ अहिले हरेक शाखामा कोभिड संक्रमित छन् । कोभिडका कारण त्रिविले सञ्चालन गरिरहेका परीक्षा स्थगित गरिसकेको छ । आइतबारदेखि सञ्चालनको तयारी भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । स्नातक तथा स्नातकोत्तर तहका परीक्षा सञ्चालन हुन लागेका थिए ।
पदाधिकारीको कार्यकक्षमा विद्यार्थीको ताला
त्रिवि पदाधिकारीको कार्यकक्षमा भने नेविसंघले तालाबन्दी गरेको छ । जनकपुरस्थित युथ क्याम्पससँग सम्बन्धनका लागि घुस मागेको आरोपमा नेविसंघले विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी शुक्रबारदेखि तालाबन्दी गरेका छन् । जनकपुरस्थित युथ क्याम्पसलगायतका क्याम्पसहरूबाट विश्वविद्यालय पदाधिकारीका नाममा घुस लिएको आरोप लगाउँदै त्यसलाई सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गरेको छ । पीडित विद्यार्थीको भविष्य सुनिश्चित गर्नुका साथै उनीहरूलाई क्षतिपूर्ति दिन पनि नेविसंघले माग गरेको छ ।