जनगणनाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुग्याे
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारको तुलनामा २६ लाख ९७ हजार नाै सय ७६ ले मात्र बढी हो ।
राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत देखिएको छ ।
जब कि २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । अपेक्षाअनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख नाै हजार आठ सय ५८ ले बढी
जनगणनाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुगेकाे छ । यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार सात सय ६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार दुई सय ७० जना थप भएको छ ।
यसअघि ०६८ सालमा महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो । महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख नाै हजार पाँचजनाले बढी छ ।