१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ११ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ११ मंगलबार o९:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ११ मंगलबार o९:२४:oo

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्तिसुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  उनले भने, ‘केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्तिसुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरू सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि आजै सम्पन्न हुनेछ ।’

निर्वाचनको मौन अवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
 
निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता रहनेछन् । मतदाता आज साँझसम्म मतदानस्थल र केन्द्र तोकिएका स्थानमा पुग्ने अपेक्षा गरिएको छ ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।