१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Sunday, 22 September, 2024
२o७८ माघ ७ शुक्रबार o९:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मीकाे उजुङ गाउँका घरघरमा पानीका धारा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार o९:o५:oo

इस्मा गाउँपालिका– १ उजुङका ७७ वर्षीय टीकाबहादुर कुँवरलाई घरछेउमा पानी आउला भन्ने कल्पना पनि थिएन । अघिल्ला थुप्रै पुस्ताले खानेपानीका लागि खोला र पँधेरा धाए । उनी स्वयंले पनि पानीका लागि आधा रातमै पँधेरा झर्नुपरेको थियो, कैयौँपटक झगडा नै गर्नुपरेको थियो । तर, अब ती स्मृतिमा मात्र छन् । सामुन्ने छ, खानेपानीको धारा ।

‘घरकै छेउमा पानी आउने आस नै थिएन । पानी बोक्दा कैयौँ पुस्ताका जुग गए,’ उनले भने, ‘प्रविधि र विकासले अहिले घरमै पानी झर्‍यो ।’ सोही गाउँकी ४८ वर्षीया लक्ष्मी कुँवरसँग पानीका लागि राति २ बजे खोला झरेका अनुभव छन् । कैयौँ बिहान खोला र पँधेरामा बिते । रातमा पनि निद्रा पर्दैनथ्यो । ‘राति निद्रामा पनि खोला र पँधेराको सम्झना आउँथ्यो । एक बिहानमा एक गाग्रो पानी घर आउँथ्यो,’ उनले भनिन्, ‘अहिले घरमै पानी आउँछ, ढुक्कले निदाउन पाएका छौँ ।’ पानीकै कारण कैयौँका जनजीवन प्रभावित थिए । विद्यार्थी विद्यालय पुग्ने वेला खोला र पँधेरामा हुन्थे । जनज्योति निमाविका प्रधानाध्यापक चुमा कुँवरका अनुसार विद्यार्थीले विद्यालय आउँदा पनि डोको र गाग्री बोकेर आउँथे । शनिबार विद्यालयको पोसाक धुन पनि सोच्नुपर्ने स्थिति थियो । अहिले गाउँमा पानी आएपछि सबैका जीवन फेरिएका छन् । पानी घरमै आएपछि समयको बचत, सरसफाइ र सानोतिनो तरकारी खेतीमार्फत आयआर्जनमा टेवा पुगेको सोही गाउँकी राधा परियारले बताइन् ।

उजुङवासीको खानेपानी समस्या नयाँ होइन । नजिकमा खोला र मूल थिएनन् । धेरै पुस्ताले घन्टौँ हिँडेर पानी बोके । ०७० मा दुन्दुरखोला–हर्पुकोट लिफ्ट खानेपानी आयोजना पर्‍यो । लामो समयपछि आयोजना सम्पन्न भएको छ । यो आयोजनामार्फत दुई सय ८४ घरमा ‘एक घर एक धारा’ सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुज उपाध्यायले जानकारी दिए । अहिलेसम्म करिब चार करोड खर्च भएको छ ।

नेपाल सरकारको तीन करोड १६ लाख ४१ हजार र स्थानीय तह र उपभोक्ताको जनश्रमदान ७९ लाख ३६ हजार दुई सय ६१ गरेर कुल तीन करोड ९५ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उपाध्यायले बताए । उनले आयोजना व्यवस्थित बनाएर उपयोग गर्न उपभोक्तालाई सुझाव दिए । प्रविधिले खोलाको पानी डाँडोमा आएकाले निगरानी, सरसफाइ र मर्मतसम्भार नभए समस्या हुने भएकाले राम्रो व्यवस्थापकीय पक्षमा ध्यान दिन उपाध्यायले आग्रह गरे ।

त्यस्तै, इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलको जुकेपानी–बजाउने डाँडा–वनगाउँ लिफ्ट खानेपानी योजनामार्फत पनि ६८ घर परिवारलाई ‘एक घर, एक धारा’ पुर्‍याइएको छ । खानेपानी योजना ०७६ पुसमा सम्झौता भएर ०७७ चैतमा सम्पन्न भएको थियो । यो योजनाको लागत ६४ लाख बढी रहेको योजना अध्यक्ष लीलबहादुर विष्टले जानकारी दिए । जुकेपानी–बजाउने डाँडा–वनगाउँ लिफ्ट खानेपानी योजनाका उपभोक्ता रामबहादुर विष्टले जुग फेरिएको महसुस भएको बताए । हिउँद र बर्खा घन्टौँ हिँडेर खोला तथा पँधेरा चहार्ने नागरिकको ठूलो सपना पूरा भएको विष्टले बताए ।