मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ २ आइतबार १४:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भत्किएका सडक मर्मत गर्न माग गर्दै प्रदर्शन 

Read Time : > 1 मिनेट
२०७८ माघ २ आइतबार १४:४९:००

वीरगन्ज महानगरपालिकाभित्रका ‘टुटेको सडक तुरुन्त निर्माण गर्न’ ध्यानाकर्षण गर्दै शान्तिपूर्ण प्रदर्शन भएको छ । आइतबार अपराह्न नेपाली कांग्रेस वीरगन्ज महानगरका सभापति भोला कलवारको अगुवाइमा घन्टाघर चोकमा ‘टुटेको सडक तुरुन्त निर्माण गर्न’ ध्यानाकर्षण गर्दै शान्तिपूर्ण प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागीले ‘पाँच वर्षको विकास मेनरोड खराब’, ‘मेयर साहेब करमा, माननीयहरूरु तरमा’, ‘जनता टुटेफुटेको सडकको पीडाको मारमा’, ‘मेयर साहेब मुर्दावाद, जनता जिन्दावाद’लगायतका नारा लगाएका थिए । उनीहरूले वीरगन्ज महानगरपालिकाको घन्टाघरदेखि माईस्थान जाने सडकखण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले गम्भीर भएर तुरुन्त निर्माण तथा मर्मतसम्भार गर्न ध्यानाकर्षण गर्दै नगरप्रमुखलाई आग्रह गरेका छन् । 

प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, कोषाध्यक्ष इम्तियाज आलमलगायतका नेताहरूको सहभागिता रहेको थियो । 

जीर्ण बन्दै सडक 

वीरगन्ज महानगरपालिकाभित्रका सडक विगत केही महिनादेखि जीर्ण बन्दै गएका छन् । महानगरको घन्टाघर चोक, मुर्ली, पावरहाउस चोकलगायतका आधा दर्जनभन्दा बढी स्थानका सडक मर्मत–सम्भार नगरिँदा जीर्ण बनेका हुन् । विशेषगरी महानगरको बजार क्षेत्रमा सडकको अवस्था कुरूप बन्दै गएको छ । ठाउँ–ठाउँमा खाल्डाखुल्डीले सवारीसाधन दुर्घटनाको खतरासमेत बढाएको छ । कालोपत्रे गरिएको लामो समयसम्म पनि सडकहरूको मर्मतसम्भार हुन सकिरहेको छैन । जसका कारण महानगरभित्रको राजमार्गमा दिनदिनै सवारी दुर्घटना हुने गरेका छन् भने यात्रुले हैरानी खेप्नुपरेको छ । 

महानगरका सडकखण्ड मर्मतसम्भार हुन नसक्दा दैनिक हजारौँ यात्रुले कष्टकर यात्रा गर्नुपरेको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जको बजार क्षेत्रमा पर्ने सडकमा खाल्डैखाल्डा छन् । 

सडक डिभिजनको लापरबाही 

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सराबगीले महानगरपालिकाभित्रको मुख्य राजमार्ग सडक डिभिजन कार्यालय हेटाैँडाले हेर्दै आएकाले पटकपटक मर्मतका लागि ताकेता गरेको बताए। उनले महानगरपालिकाभित्र पर्ने सडकलाई उक्त कार्यालयले वास्ता नगरेपछि केही समयअघि खाल्टा पुर्नका लागि गाभ्रेल हालेर मर्मत गरिएको बताए । सडकका खाल्टा टाल्न हालिएको गाभ्रेल धुलो उडेर उस्तै हुने र थोरै पानी पर्नासाथ गाभ्रेल बगाएर फेरि उस्तै भएको उनको भनाइ छ । 

महानगरभित्रको राजमार्ग सडक डिभिजन कार्यालय हेटौँडाले हेर्दै आएकाले महानगरपालिकाले आफ्नो बजेटमार्फत उक्त सडक मर्मत गर्न नसक्ने मेयर सराबगीकाे भनाइ छ ।