१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २ आइतबार o७:३९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स योनेक्सको ब्रान्ड एम्बेसडर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार o७:३९:oo

विश्व जुनियर ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई इनास इन्टरप्राइजेज (योनेक्स सनराइजको नेपालका लागि आधिकारिक विक्रेता)का ब्रान्ड एम्बेसडर बनेका छन् । प्रोप्राइटर राजु बास्तोलाले प्रिन्सलाई नगद पुरस्कार र एक वर्षसम्म खेल सामग्री दिनेसँगै ब्रान्ड एम्बेसडरको समेत घोषणा गरेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले यसै साता जुनियरतर्फ वरीयता सार्वजनिक गर्दा नेपालका प्रिन्स शीर्ष स्थानमा उक्लेका थिए । 

ओलम्पिक खेलकुद प्रतियोगिताको आधिकारिक प्रतियोगिताको विश्व एक नम्बर स्थानमा पुग्ने प्रिन्स एक मात्र नेपाली खेलाडी हुन् । अघिल्लोपटकको वरीयतामा उनी पुरुष एकलतर्फको तेस्रो स्थानमा थिए । प्रिन्सभन्दा अगाडि रहेका दुई खेलाडी उमेर हदबन्दीका कारण सिनियरतर्फ बढुवा भए । यससँगै प्रिन्सलाई शीर्ष स्थानमा उक्लने अवसर जुरेको हो । प्रतियोगितामा प्रदर्शनका आधारमा फेडेरेसनले हरेक हप्ता वरीयता सार्वजनिक गर्ने भए पनि कोरोना महामारीका कारण एक वर्षदेखि वरीयता सार्वजनिक भएको थिएन । 

दुई लाख पुरस्कार
शनिबार एक कार्यक्रमबीच ब्रान्ड एम्बेसडर घोषणासँगै प्रिन्सलाई व्यवसायी बास्तोलाले आफ्नो कम्पनी इनास इन्टरप्राइजेजको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कार र एक वर्षसम्म ब्याडमिन्टन खेल्नका लागि आवश्यक सबै सामग्री योनेक्स ब्रान्डकै उपलब्ध गराउने घोषणा गरेका हुन् । योनेक्स विश्व प्रसिद्ध जापानको ब्रान्ड हो । ‘ब्याडमिन्टन खेल्नका लागि प्रिन्सलाई एक वर्षसम्म आवश्यक पर्ने सबै खेल सामग्री र एसियाली मुलुकमा जाँदा–आउँदा लाग्ने टिकट पनि उपलब्ध गराउँछु,’ बास्तोलाले भने । प्रिन्सले प्राप्त गरेको रकम ब्याडमिन्टन खेलाडीले प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो राशि हो ।

‘नेपाली खेल क्षेत्रको विकासमा आफ्नो पनि योगदान रहोस् र अन्य खेलाडीलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सहयोग घोषणा गरेको हुँ,’ बास्तोलाले भने, ‘उनलाई मात्रै होइन, अन्य खेलाडीले पनि यस्तो उत्कृष्ट स्थान हासिल गरेमा सहयोग गर्छु ।’ 

जुनियरतर्फको विश्व वरीयतामा प्रिन्सले १० हजार ४ सय अंक जोडेका छन् । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ । विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्स आसन्न जुनियर विश्व च्याम्पियनसिपमा केन्द्रित भएका छन् । 

प्रिन्सको यात्रा
प्रिन्सले निकै छोटो समयमै अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा आफ्नो छाप राख्न सफल भए । उनी सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू–१५ को उपाधि जितेका थिए । यसको एक वर्षपछि उनले जुनियर विश्व वरीयतामा आफ्नो स्थान पक्का गरे । विश्वभरि कोरोना भाइरसले महामारी फैलाउनुअघिसम्म प्रिन्स नियमितजसो युरोप तथा एसियामा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए ।

सन् २०१९ अप्रिलमा जर्मन इन्टरनेसनल सिरिजको क्वार्टरफाइनलसम्म पुगेका थिए । प्रिन्सले २०१९ मा नेपालमै आयोजित १३औँ दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए । गत वर्ष सिन्धुपाल्चोकमा आयोजित राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ उनले नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरेका थिए । 

सन् २०१९ मा दुबईमा भएको इन्टरनेसनल सिरिजमा भारतका वरुण कपुरलाई पराजित गरेका थिए । यो सफलतापछि उनी एकैपटक विश्व वरीयतामा १०३ बाट ५४औँ वरीयतामा पुगेका थिए ।