![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pradesh-12021-06-03-10-09-30.jpeg)
तेस्रो भेरियन्टका रूपमा तीव्र रूपले संक्रमण भइरहेको कोरोना भाइस संक्रमण रोकथामलाई नियन्त्रण गर्न प्रदेश १ सरकारले उच्चस्तरीय निर्देशक समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलेको प्रदेशस्तरीय समितिलाई खारेज गर्दै कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा छिटो छरितो काम गर्नका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा प्रदेशस्तरीय निर्देशक समिति गठन गरेको हो ।
प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि छिटो काम गर्न बनेको निर्देशक समितिमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू,सचिवहरू, सेना र प्रहरीका प्रदेश प्रमुखदेखि सिडिओ, विराटनगर महानगरपालिका अनि प्रदेश शासकीय सुधार हेर्ने सचिव सदस्य रहनेछन् । नवगठित निर्देशक समितिले तीव्र रूपले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि काम गर्न गराउन निर्देशन गर्नेछ ।
यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा प्रदेश १ मा प्रदेशस्तरीय कोरोना महामारी रोकथाम तथा नियन्त्रण समिति रहेको थियो ।