मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ पौष २२ बिहीबार १९:३३:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जम्मुकस्मिर सुशासन प्रत्याभूति : गभर्नर सिन्हा

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ पौष २२ बिहीबार १९:३३:००

भारतको केन्द्र शासित जम्मुकस्मिर राज्यका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले मुलुकको स्वतन्त्रतापछि राज्यमा पहिलोपटक सुशासनको प्रत्याभूति भएको र समाजका सबैभन्दा जोखिममा रहेका वर्गको चासो सम्बोधन गरिएको दाबी गरेका छन् । पछिल्ला सात महिनामा राज्यमा विभिन्न उद्योगहरूबाट ४५ हजार करोड रुपियाँको लगानी प्रतिबद्धता आएकोसमेत उनको भनाइ छ । 

‘पछिल्लोपटक रियल स्टेट समिटका क्रममा १८ हजार ३ सय करोड रुपियाँमा ३९ वटा परियोजनासम्बन्धी समझदारीपत्रहरू भएका छन् । हाम्रो लक्ष्य भनेको अर्थतन्त्रका लागि औद्योगिक आधार तयार गर्ने, स्थानीय उद्यमशीलता बढाउने र सामाजिक स्थिरता वृद्धि गर्ने हो,’ गभर्नर सिन्हाले भारतीय पत्रिका द इन्डियन एक्सप्रेसमा भनेका छन् । 

उनका अनुसार राज्यमा एक वर्षमा २१ हजार ९४३ परियोजनाहरू निर्माण भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना र योजनाअनुसार जम्मुकस्मिरको इतिहासमै पूर्वाधार विकासले साेचेभन्दा बढी गति लिएको सिन्हाको दाबी छ । 

राज्यमा प्रधानमन्त्रीको विकास प्याकेजअन्तर्गत २१ वटा ठूला परियोजनाहरू सम्पन्न भएका तथा थप ९ वटा परियोजना सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । आगामी पाँच वर्षमा ऊर्जा उत्पादन क्षमता दोब्बर हुने पनि उनले जानकारी दिए । ‘सडक, सुरुङलगायतका करिब १ लाख करोड रुपियाँका परियोजनाहरू निर्माण सम्पन्न हुनेछन्,’ गभर्नर सिन्हाको भनाइ छ । 

जम्मुकस्मिरमा रिक्त रहेका ११ हजार विभिन्न सरकारी दरबन्दी पारदर्शिता र क्षमताका आधारमा पूर्ति गर्न सरकार लागिपरेको पनि सिन्हाले बताएका छन् । उनका अनुसार राज्यका हरेक गाउँमा ‘आपकी जमिन आपकी निगरानी’अन्तर्गत नागरिकले आफ्नो जमिनको रेकर्ड हेर्न मिल्ने प्रणाली विकास भएको छ । विकासका प्रयासमा ग्रामीण भेगका महिलाहरूलाई समेट्ने सरकारी नीति रहेको पनि सिन्हाले बताए । सरकारले पछिल्लो समयमा राज्यका चार लाख महिलाहरूका लागि आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

उनका अनुसार सरकारले कृषि, औद्योगीकरण, रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सहरी विकास तथा आधुनिक पूर्वाधार जस्ता ९ प्राथमिकतामा काम गरिरहेको छ । कमजोर पूर्वाधारलाई सुधार गर्ने सरकारको तत्कालीन लक्ष्य रहेको पनि गभर्नर सिन्हाको भनाइ छ ।