१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फोटो : बारपाक सुलिकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन
२o८१ बैशाख २१ शुक्रबार १२:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बन्यो बारपाक सुलिकोटको प्रशासकीय भवन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५१:oo

चिटिक्क परेको तीनतले भवन रातो, सेतो र खैरै रङको मिसावटले झनै आकर्षक देखिन्छ। टाढैबाट हेर्दा लाग्छ यो प्रदेश तथा संघ सरकारको मन्त्रालय भवन हो। तर, यो कुनै मन्त्रालयको नभई गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासनिक भवन हो।

बारपाक सुलिकोट गाउँपालिकाले आफ्ना प्रशासकीय कार्य सम्पादन गर्नका लागि यो भवन निर्माण गरेको हो। भवन निर्माणको बाहिरी काम सकिए पनि भित्री काम अझै बाँकी रहेको गाउँपालिकाका इन्जिनियर अविनव गौतमले बताए। गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख १३ हजार एक सय ६ रुपैयाँको लागतमा भवन निर्माण भएको उनले जानकारी दिए। उनका अनुसार नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले भवन निर्माणको ठेक्का पाएको थियो। सम्झौताअनुसार ०७७ जेठ २५ गते काम सुरु गर्नेुपर्ने भए तापनि बर्खाका कारण ०७७ कात्तिकबाट मात्र काम सुरु भएको गौतमले बताए। कन्स्ट्रक्सन कम्पनीले ०७८ मंसिर २१ गते भवन निर्माण सम्पन्न गरेको हो। उनीहरूले भवन निर्माणको मात्र जिम्मा पाएका गौतमले बताए।

भवनको तीनतिर बाहिर निस्कने ढोका बनाइएको छ। तीन तलाको भवनमा सबै कोठा हलजस्तो ठूला छन्। अहिलेका जनप्रतिनिधिकै कार्यकालमा भवन निर्माण सम्पन्न गरी कार्यालय सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको गौतमले जानकारी दिए। ‘भवनको बाहिरी काम सबै सकिएको छ। भित्र रङरोगनलगायत धेरै काम अझै बाँकी छ। त्यसका लागि छुट्टै टेन्डर निकाल्नुपर्ने हुन्छ,’ उनले भने। भवनको बाहिरी काम सकिएसँगै अब बाँकी भित्री कामका लागि भने अर्को टेन्डर खुलाउने तयारीमा रहेको उनले बताए।

हाल गाउँपालिकाको सबै कार्य अस्थायी भवनमा सञ्चालन भइरहेको छ। गाउँपालिकाका शाखाहरू थपिएसँगै जिम्मेवारी बढ्ने, तर भवन नहुँदा समस्या हुँदै आएको थियो। हाल बसिरहेको अस्थायी भवनमा काम गर्न समस्या रहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए। उनले भने, ‘अहिले बसिरहेको ठाउँमा यसै पनि कोठा थोरै थियो। अस्थायी भएपछि अरू संरचना पनि कमजोर हुने नै भयो। गाउँपालिकाको काम गर्न कोठा अपुग हुने गरेको छ।’ नयाँ बन्दै गरेकाे भवनमा भित्री काम छिट्टै सक्काएर यही कार्यकालमा भवन सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष भट्टले जानकारी दिए ।

बहुउद्देश्य सभाहल निर्माण हुँदै
गाउँपालिका भवननजिकै अर्को बहुउद्देश्यीय सभा हल निर्माण भइरहेको छ। गाउँपालिकाद्वारा आयोजना गरिने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि उक्त भवन निर्माण गरिरहेको गाउँपालिकाले जनाएको छ।

सभाहल निर्माणको जिम्मा पाएको सिराइचुली निर्माण सेवाले ०७७ जेठ २५ सालमा सम्झौता गरी काम सुरु गरेको थियो। सम्झौता भएअनुसार ०७८ पुसमसान्तसम्म काम सक्नुपर्नेछ। उक्त बहुउद्देश्यीय भवनको निर्माणकार्य हालसम्म ९५ प्रतिशत पूरा भइसकेको इन्जिनियर गौतमले जानकारी दिए। महिला र पुरुष चेन्जिङ रुम, सुविधासम्पन्न शौचालय र एक सय १० जना अट्ने क्षमताको सभाहल निर्माण भइरहेको उनले बताए। प्रदेश र स्थानीय तहको साझेदारीमा एक करोड २२ लाख २५ हजार ६ सय रुपैयाँको लागतमा भवन निर्माण भएको हो। पुस मसान्तसम्म भवन निर्माणकार्य सकिने बताइएको छ। गाउँपालिकाले  खरिद गरेको ६० रोपनी जग्गाभित्र उक्त प्रशासकीय भवन र बहुउद्देश्यीय सभाहल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। 

 

ad
ad