मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ पौष २२ बिहीबार o७:o१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुन्दरी तोप :  ५० वर्षपछि घर फर्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार o७:o१:oo

दैलेख बजारमा बुधबार एकाएक बाजागाजा, झाँकी र  र्‍याली निस्कियो । बाजागाजा र  र्‍याली हेर्न सयौँ सर्वसाधारण एकैछिनमा जम्मा भए । सर्वसाधारणले ढाल तरबार नाचे, टाकटुके, लाखे नाचसहित पञ्चकन्याको टोली नाच्दै मालपोत कार्यालयमा पुग्यो । मालपोत कार्यालय पहिलेदेखि विवाह घरजस्तो बनेको थियो । कार्यालय प्रांगणमा बेहुलीलाई झैँ सिँगारिएर राखिएको थियो ‘सुन्दरी तोप’ । सुन्तरी तोप ५० वर्षपछि दैलेख फर्काइएको अवसरमा नाचगान,  र्‍याली र बजार परिक्रमा गरिएको हो । 

५० वर्षअघि सुन्दरी तोपलाई दैलेखबाटै सुर्खेत लगिएको थियो । कार्यालयको प्रांगणमा उपस्थित सर्वसाधारणसँगै ७८ वर्षीय गगनबहादुर शाही र उनकी धर्मपत्नी पनि थिए । उनीहरू तोपनजिकै पुगे । ढोग गरे र बरबरी आँसु झारे । उनी रुनुको कारण खुलाए, ‘२८ वर्षको उमेरमा दैलेख चुप्रामा रहेको यो (सुन्दरी तोप) बोकेर सुर्खेत पु¥याउने २५ जनामध्ये एउटा म पनि हुँ । अहिले ७८ वर्षको भएँ, उतिवेलै दैलेखको महत्वपूर्ण सम्पत्ति अन्यत्र लैजान नहुने भनेको थिएँ । तर, रुँदै तोप बोकेर सुर्खेत पुगेँ ।’ 

उनले सँगै तोप बोक्ने २३ जना साथीको मृत्यु भइसकेको बताए । आफू र भाइ मात्रै जीवित रहेको उनको भनाइ छ । ‘उति वेला दुःखी भएर रोएको थिएँ । अहिले खुसीले रोएँ,’ उनले भने । सेनाले ०२८ मा गुल्म सार्ने वेला यहाँ रहेका दुईवटा तोप लगेको थियो । ‘अर्गा तोप हलुका भएकाले उनीहरू आफैँले बोकेर लगे, सुन्दरी तोप भारी भएकाले लैजान सकेनन्, तीन महिना दैलेखको चुप्रामा रह्यो, त्यसपछि तोप बोक्ने बलिया मान्छेको खोजी भयो । सरकारको आदेशअनुसार दैलेख गीताचौरवासीले तोप बोकेर सुर्खेत पुर्‍याएको शाहीले बताए । 

दैलेखको ऐतिहासिक कोतगढीमा रहेको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको हो । अर्गा तोप पनि दैलेखमा ल्याउने तयारी भइरहेको छ । ज्वाला दल गुल्म सरुवा हुने वेला दैलेखबाटै उक्त तोप लगिएको थियो ।दैलेखको ऐतिहासिक कोतगढी कहिले र कसले निर्माण गरेको हो भनेर यकिन छैन । सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको हुन सक्ने जनश्रुति छ । 

देश संघीयतामा गएपछि राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले कोतगढीमै तोप फिर्ता ल्याउनुपर्ने माग गरेका थिए । नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले तोप फिर्ता ल्याउन विभिन्न निकायसँग सहयोग र समन्वय गरेको बताए । सेनामातहत रहेको तोप नगरपालिकामातहत राख्ने गरी जिम्मा लिएको उनले बताए । अर्गा तोप पनि ल्याउने तयारी भएको खड्काले बताए । नारायण नगरपालिका–१ मा रहेको गढीलाई पर्यटकीयस्थल बनाउन पुनर्निर्माण, घेरबार भइरहेको छ । पुनर्निर्माण सम्पन्न भएपछि तोप कोतगढीमै राखिने वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए । अहिले तोप दैलेखको इन्द्र दल गुल्ममा राखिएको छ । तोपसँगै ८१ थान गोला पनि ल्याइएको छ ।