Skip This
विवरण सही नराख्दा ई-पासपोर्ट बनाउन झन्झट (भिडियो)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Monday, 08 July, 2024
२o७८ पौष २० मंगलबार १९:o२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विवरण सही नराख्दा ई-पासपोर्ट बनाउन झन्झट (भिडियो)

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १९:o२:oo

बर्दियाका प्रितम चौहान चार दिन भयो त्रिपुरेश्वरस्थित राहदानी विभाग धाउन थालेको।  कुवेत जाने चक्करमा उनी इमर्जेन्सी पासपोर्ट बनाउन आएका थिए। अनलाइन फारम भरेर राहदानी विभाग कार्यालय आइपुगेका उनको राहदानी बनाउने बाँकी प्रक्रिया भने अझै अघि बढेको छैन। मंगलबारको दिन पनि राहदानी विभाग परिसरमा टोलाएरै बित्यो उनको। अझै कति दिन यसरी लाइनमा बस्नुपर्ने हो थाहा छैन। 

‘फारम भरेर आएँ, तर गेटबाट भित्र छिर्न दिइरहेको छैन,’ उनी भन्छन्, ‘तीन दिनमा राहदानी बनाउँछु भनेर आएको चार दिनसम्म पनि टोकनसमेत पाएको छैन।’ उनले अत्याधिक भिडभाड हुँदा टोकनसमेत पाउन नसकेको बताए। 

सर्लाहीका सिकिन्द्र साहले १५ दिनअघि राहदानी बनाउन अनलाइन फारम भरे। त्यसपछि उनी राहदानी विभाग त्रिपुरेश्वर आइपुगे। त्यहाँ उनले १२ हजार रुपैयाँ तिरेर भौचर लिए।। तर अझैसम्म पनि उनको राहदानी बन्ने टुंगो छैन। उनी भन्छन्, ‘सबै कागजात बोकेर म डुलिरहेको छु, तर अझै पासपोर्ट पाएको छैन, कर्मचारीले लालपुर्जा लिएर आउनुस् भनेपछि लालपुर्जा पनि लिएर आएँ तर राहदानी अझै बनेको छैन।’ उनले आफ्नो सबै विवरण कार्यालयमा बुझाए पनि राहदानी नबनेको गुनासो गरे। 

सरकारी सेवा प्रदायक कार्यालयमध्ये अचेल सेवाग्राहीको बढी भिड लाग्ने कार्यालयभित्र पर्छ राहदानी विभाग। अहिले यहाँ आउने सेवाग्राहीले राहदानी बनाउन निकै सास्ती खेप्नुपरेको छ। एकातिर कागजात मिलाउनुपर्ने र अर्कातिर घन्टौँसम्म लाइनमा बस्नुपर्ने झन्झट भएपछि सेवाग्राहीले हैरानी खेप्नुपरेको हो। 

राहदानी विभागले मंसिर १ गतेदेखि विभागको नयाँ भवन त्रिपुरेश्वरबाट सेवा सुरु गरेको थियो। नयाँ भवनबाट सेवा सुरु गरे पनि सेवाग्राहीलाई सेवा लिन झन् कठिन हुने गरेको छ। सेवाग्राहीलाई टोकन लिएपछि मात्रै बाहिर गेटबाट भित्र प्रवेश गराइने भएपछि अधिकांश सेवाग्राही भवनबाहिरै उभिनुपरेको छ। 

सही विवरण उल्लेख नगर्दा सास्ती
विभागका प्रवक्ता शरदराज आरनले राहदानी बनाउन आउनेहरूको संख्या निकै बढेकोले भिडभाड भएको बताए। नयाँ राहदानी बनाउनेको संख्या बढी भएकोले सेवाग्राहीको चाप थेग्न विभागलाई कठिन हुने गरेको उनको भनाइ छ। ‘अघिकांश व्यक्तिले राहदानी बनाउन आउँदा सही फारम भर्नुहुन्न, त्यसबाहेक आवश्यक पर्ने कागजात पनि ल्याउनुहुन्न, त्यसैले पनि दुःख हुने गरेको छ,’ उनले भने। उनका अनुसार अधिकांशले फाराममा विवरण सही नराख्दा मेसिनले त्रुटि देखाउने गरेको छ। कतिपयले आफ्नो विवरण यथार्थ नराख्दा  पनि समस्या हुने गरेको हो। दुईवटा नागरिकता बनाएको, पहिले नै पासपोर्ट बनाए पनि त्यसको विवरण नखुलाएको, नागरिकता नम्बर सही नराखेकाहरूले बढी झन्झट खेप्ने गरेका छन्।

एउटा पासपोर्ट बनाउन २५ मिनेट समय 
आरनका अनुसार ई–पासपोर्ट जारी गर्न झन्झट पनि छ। एउटा पासपाेर्ट बन्न झन्डै २५ मिनेट समय लाग्छ। दिनमा विभागले एक हजार नयाँ आवेदन फाराम लिन्छ। फाराम भरेर टोकन लिएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्छ। हालसम्म विभागबाट १२ हजारभन्दा बढी ई–पासपोर्ट जारी भएको छ। दैनिक एक हजारको संख्यामा नयाँ पासपोर्ट जारी गरिन्छ। त्यसमध्ये २० प्रतिशत पासपोर्टमा त्रुटि भेटिने गरेको छ। मेसिनले त्रुटि देखाएका आधारमा सम्बन्धित व्यक्तिलाई बोलाएर सच्याउने गरिएको छ। 

विवरण लुकाउँदा त्रुटि र झन्झन्ट
ई–पासपोर्ट मेसिन रिडेबल पासपोर्ट हो। फाराम भर्दा सही विवरण नराखे त्यसको त्रुटि मेसिनले नै पत्ता लगाउँछ। नागरिकता, राष्ट्रिय परिचय र पासपोर्टको लागि भरिएको फारामको विवरण भिड्नुपर्छ। यदि विवरण फरक वा गलत छ भने उक्त त्रुटि मेसिनले नै देखाउँछ। मेसिनले त्रुटि देखाएपछि पासपोर्ट प्रिन्ट गरिँदैन। सेवाग्राहीले त्रुटि भएको विवरणको फाराम भरेपछि सच्याइन्छ। विभागका प्रवक्ता आरनले अधिकांशले विवरण ढाँट्दा समस्या हुने गरेको बताए। उनले नागरिकता, राष्ट्रिय परिचयपत्रका आधारमा पासपोर्ट बन्ने भएकोले विवरण सही हुनुपर्ने बताए। 

नयाँ भवनमा व्यवस्थित नगर्दा सास्ती 
केशरमहलस्थित राहदानी विभागको पुरानो भवन निकै साघुँरो थियो। उक्त भवनबाट सेवा प्रवाह गर्दा निकै ढिलो हुने गरेको थियो। दुई महिनाअघिदेखि राहदानी विभागको कार्यालय त्रिपुरेश्वरस्थित नयाँ भवनमा सर्‍यो। तर नयाँ भवनबाट सेवा सुरु गरे पनि सेवा प्रवाहमा उस्तै ढिलासुस्ती हुने गरेको छ। विभागले अहिले भुइँतलाबाट मात्रै पासपोर्टसम्बन्धी सेवा दिने गरेको छ। ठूलो भवनभित्र सेवा प्रवाह गर्न सहज व्यवस्था मिलाइएको छैन। जसका कारण देशभरबाट राहदानी बनाउन आएका सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ। 

राहदानी बनाउन आउनेमध्ये अधिकांश ‘टिन एजर’
राहदानी विभाग परिसरभित्र राहदानी बनाउन लामबद्ध भएका सेवाग्राहीमध्ये अधिकांश युवाहरू देखिन्छन्। उनीहरू पढाइको लागि युरोप, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देश जानका लागि राहदानी बनाउन आएका हुन्। यी सेवाग्राहीका कारण पनि भिड बढेको विभागको बुझाइ छ। कोरोना संक्रमणपछि विद्यार्थी भिसामा विदेश जाने धेरै युवाहरू रोकिएका थिए। उनीहरूले राहदानी बनाउनसमेत पाएका थिएनन्। कोरोना संक्रमण सहज हुँदै गएपछि अहिले राहदानी बनाउन पुग्ने युवाहरूको संख्या निकै बढी छ। प्रवक्ता आरनका अनुसार राहदानी बनाउन पुग्नेमध्ये ६० प्रतिशत युवाहरू छन्। 

त्यसबाहेक पुरानो राहदानीको म्याद सकिएकाहरू पनि नवीकरण गर्न आउने गरेका छन्। नवीकरण तथा नयाँ पासपोर्ट बनाउँदा ई–पासपोर्ट नै बनाउनुपर्ने भएकोले कागजात मिलाउनसमेत कठिन हुने गरेको प्रवक्ता आरनको भनाइ छ। उनले भने, ‘अहिले सबैभन्दा बढी भर्खरका युवाहरू राहदानी बनाउन आएका छन्, आएकामध्ये पनि सबैले राहदानी बनाउन आवश्यक पर्ने कागजात र सूचना बुझेर आउँदैनन्, त्यसैले पनि दुःख हुन्छ।’ 

काठमाडौंमै आउँदा भिड बढी
अघिकांश जिल्लाबाट विभागले पासपोर्ट जारी गर्न थालेको छ। जिल्लाबाट पासपोर्ट बनाउन १५ देखि ४५ दिन लाग्छ। तर जिल्लाबाट राहदानी बनाउन कम झन्झट हुने गरे पनि अधिकांश काठमाडौंमै आउने गरेका छन्। सबैजसो काठमाडौं आउने भएपछि भिड बढेको विभागले जनाएको छ। विभागका अनुसार सम्बन्धित जिल्लाबाट बनाउँदा सच्याउन सहज हुन्छ। अहिले जिल्लाबाट फारम भरेकाहरूले १५ दिनभित्र पासपोर्ट पाउन सक्छन्। जिल्लाबाट प्राप्त विवरणका आधारमा उक्त पासपोर्ट विभागले नै छापेर पठाउँछ। तर इमर्जेन्सी पासपोर्ट बनाउन भने काठमाडौंमै आउनुपर्छ। उक्त पासपोर्ट जारी गर्न तीन दिन लाग्छ। फाराम विवरण फरक वा गलत भएमा तोकिएको समयभन्दा बढी समय लाग्छ। 

ad
ad
ad
ad